Techie IT
KTM Post
मंगलबार, २३ असार, २०८३

कक्षा १२ नतिजा सार्वजनिक : कुन जीपीएमा कति विद्यार्थी ग्रेडेड भए ?


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार नियमिततर्फ परीक्षामा सहभागी विद्यार्थीमध्ये ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।

यस वर्ष नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४ सय ७१ जना ननग्रेड भएका छन्।

ग्रेडअनुसार हेर्दा ३.६१ देखि ४.०० जीपीएसम्म प्राप्त गर्ने विद्यार्थीको संख्या १७ हजार ७८६ रहेको छ। त्यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१ जना र २.८१ देखि ३.२० जीपीए हासिल गर्ने ९४ हजार २४९ जना विद्यार्थी ग्रेडेड भएका छन्।

यस्तै २.४१ देखि २.८० जीपीए ल्याउने विद्यार्थीको संख्या ५० हजार ५९७ रहेको छ। २.०१ देखि २.४० जीपीए प्राप्त गर्ने ४ हजार ३०८ जना छन् भने १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ९ जना रहेको बोर्डले जनाएको छ।

आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी परीक्षामा सहभागी भएकामा ३६ हजार ४२० जना ग्रेडेड भएका छन्। आंशिकतर्फ ग्रेडेड हुने प्रतिशत ४२.३८ रहेको छ।

नियमित र आंशिक दुवैतर्फ गरी कुल ४ लाख १८ हजार १७० विद्यार्थी परीक्षामा सहभागी भएका थिए। दुवै समूहको नतिजा जोड्दा समग्र ग्रेडेड प्रतिशत ६४.१३ पुगेको छ।

बोर्डका अनुसार नियमिततर्फ ३० जना र आंशिकतर्फ १० जना गरी कुल ४० जनाको परीक्षा रद्द गरिएको छ।

यसरी हेर्न सकिन्छ नतिजा

परीक्षाफल सम्बन्धी जानकारी तपसिल बमोजिमको Website, SMS Service र IVR Service बाट प्राप्त गर्न सकिनेछ :
Website:

१. राष्ट्रिय परीक्षा बोर्डको website: result.neb.gov.np वा neb.gov.np

२. नेपाल टेलिकमको website: https://neb.ntc.net.np

SMS सेवा :

१. NEB <space> Symbol No. टाईप गरी नेपाल टेलिकमको १६०० मा SMS गर्ने ।

IVR सेवा :

१. नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने ।

USSD सेवा :

१. * १६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट