Techie IT
KTM Post
मंगलबार, २३ असार, २०८३

काठमाडौं–पोखरा दुई घण्टामा जोड्ने द्रुतमार्गको अध्ययन सुरु, बुटवल–पोखरा एक्सप्रेस वेको टेन्डर यही वर्ष


काठमाडौं । सरकारले राजधानी काठमाडौं र पर्यटकीय नगरी पोखरालाई केवल दुई घण्टाको यात्रामा जोड्ने लक्ष्यसहित नयाँ एक्सप्रेस वे (द्रुतमार्ग) निर्माणको अध्ययन प्रक्रिया अघि बढाएको छ।

प्रतिनिधिसभा बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काठमाडौं–पोखरा द्रुतमार्गको अध्ययन तथा कार्ययोजना निर्माणको काम भइरहेको जानकारी दिएका हुन्।

मन्त्री लम्सालका अनुसार सरकारले बुटवल–पोखरा एक्सप्रेस वेलाई पनि उच्च प्राथमिकतामा राखेको छ। उक्त परियोजनाको ठेक्का प्रक्रिया चालु आर्थिक वर्षभित्रै सुरु गर्ने लक्ष्य तय गरिएको छ।

“दुई घण्टामै पोखरा पुग्नेगरी बुटवल–पोखरा एक्सप्रेस वेको टेन्डर यही वर्ष आह्वान गर्ने लक्ष्य छ,” मन्त्री लम्सालले भने।

सरकारले पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राख्दै देशभर आठ वटा रणनीतिक पर्यटकीय राजमार्ग निर्माण गर्ने योजना अघि सारेको छ। ती आयोजनाका लागि करिब ६ सय अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ।

मन्त्री लम्सालले पूर्व–पश्चिम राजमार्गपछि पर्यटन क्षेत्रलाई लक्षित गर्दै नयाँ पूर्वाधार विकासमा जोड दिइएको बताए। भारतलगायत छिमेकी मुलुकबाट आउने पर्यटकको संख्या बढ्दै जाँदा पोखरामा बढ्दो चाप व्यवस्थापन गर्न द्रुत र आधुनिक सडक सञ्जाल आवश्यक रहेको उनको भनाइ छ।

सरकारले सुदूरपश्चिमको अपिनम्पादेखि पूर्वी नेपालको पाथीभरा क्षेत्रसम्म जोड्ने पर्यटकीय एक्सप्रेस वे अवधारणामा समेत काम गरिरहेको जनाएको छ।

प्रस्तावित योजनाहरू कार्यान्वयनमा आएमा पर्यटन, व्यापार तथा आन्तरिक आवागमन क्षेत्रमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ। विशेषगरी काठमाडौं–पोखराबीचको यात्रा समय उल्लेखनीय रूपमा घट्ने भएकाले पर्यटन क्षेत्रले यस योजनालाई चासोका साथ हेरिरहेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट