Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत चिकित्सक उत्तीर्ण, विदेश पढेकाको नतिजा कमजोर


काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा कुल ६६.९५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

काउन्सिलका अनुसार कुल २ हजार २ सय ७१ जनाले परीक्षा फाराम भरेकोमा ८ जना अनुपस्थित रहे भने ४ जनाको नतिजा स्थगित गरिएको थियो। मूल्यांकनमा समावेश २ हजार २ सय ६३ परीक्षार्थीमध्ये १ हजार ५ सय १५ जना उत्तीर्ण भएका हुन्।

नेपालमै अध्ययन गरेकाको राम्रो प्रदर्शन

नेपालबाट एमबीबीएस अध्ययन गरेका परीक्षार्थीहरूको नतिजा तुलनात्मक रूपमा उत्कृष्ट देखिएको छ। १ हजार २ सय ५१ जना सहभागीमध्ये ९ सय ६३ जना उत्तीर्ण भएका छन्, जसअनुसार उत्तीर्ण प्रतिशत ७६.७९ रहेको छ।

विदेशमा पढेकाको कमजोर नतिजा

विदेशमा अध्ययन गरेर फर्किएका चिकित्सकहरूको नतिजा भने कमजोर देखिएको काउन्सिलले जनाएको छ। बंगलादेशबाट एमबीबीएस सकेर आएका ३ सय ६७ जनामध्ये १ सय ५१ जना (४१.१४ प्रतिशत) मात्र उत्तीर्ण भएका छन् भने २ सय १६ जना अनुत्तीर्ण भएका छन्।

चीनबाट आएका १ सय ३० जनामध्ये २० जना (१५ प्रतिशत) मात्र पास भएका छन् भने १ सय ९ जना फेल भएका छन्। भारतबाट सहभागी २६ जनामध्ये ११ जना उत्तीर्ण भएका छन्।

त्यस्तै, फिलिपिन्सबाट ४२ मध्ये १२ जना, इजिप्टबाट सहभागी दुई जना दुबै जना, युक्रेनबाट एक जना, रसियाबाट तीन जना र काजकस्तानबाट एक जना अनुत्तीर्ण भएका छन्। पाकिस्तानबाट सहभागी ६ जनामध्ये ४ जना पास भएका छन् भने साउदी अरबबाट आएका एक जना उत्तीर्ण भएका छन्।

बीडीएसतर्फ तुलनात्मक सुधार

बीडीएस (दन्त चिकित्सा) लाइसेन्स परीक्षामा भने केही सुधार देखिएको छ। बंगलादेशबाट बीडीएस गरेका १५ मध्ये ९ जना उत्तीर्ण भएका छन्। भारतबाट आएका १७ मध्ये १६ जना पास भएका छन्। नेपालबाट सहभागी ४ सय मध्ये ३ सय ४३ जना उत्तीर्ण भएका छन्। फिलिपिन्सबाट सहभागी एक जना भने अनुत्तीर्ण भएका छन्।

समग्र नतिजाले नेपालमा अध्ययन गरेका विद्यार्थीहरूको प्रदर्शन तुलनात्मक रूपमा राम्रो देखिएको छ भने विदेशमा अध्ययन गरेर फर्किएका चिकित्सकहरूको नतिजा कमजोर रहेको छ।

null


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट