Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

प्रहरी हिरासतमा २२ वर्षीय युवकको मृत्यु : ‘आत्महत्या’ कि लापरवाही ?


सिन्धुली ।  सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा भएको मृत्युले गम्भीर प्रश्न खडा गरेको छ । वैशाख ३ गतेदेखि इलाका प्रहरी कार्यालय खुर्कोटको थुनुवा कक्षमा राखिएका विक वैशाख ७ गते मृत अवस्थामा फेला परेपछि स्थानीयस्तरमा आक्रोश चुलिएको छ भने परिवारले यसलाई ‘अस्वाभाविक मृत्यु’ भन्दै निष्पक्ष छानबिनको माग गरेको छ ।

प्रहरीले भने विकले आफ्नै सर्टको पासो लगाएर आत्महत्या गरेको दाबी गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता सूर्यप्रकाश सुवेदीका अनुसार सोमबार साँझ करिब ६ बजे विकले आत्महत्याको प्रयास गरेको थाहा पाइएको र तत्काल उपचारका लागि सुनकोसी सामुदायिक अस्पताल हुँदै सिन्धुली अस्पताल पुर्‍याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

तर, प्रहरीको यही दाबीमाथि परिवार र स्थानीयले गम्भीर शंका व्यक्त गरेका छन् । थुनुवा कक्षभित्रै एक युवकले आत्महत्या गर्ने अवस्था कसरी आयो रु निगरानी र सुरक्षाको जिम्मा लिएको प्रहरी कहाँ चुक्यो रु यी प्रश्नहरू अहिले स्थानीयस्तरमा तीव्र रूपमा उठिरहेका छन् । “हिरासतभित्र मान्छे मर्छ भने त्यो आत्महत्या भनेर पन्छिन मिल्दैन, यो राज्य संयन्त्रको गम्भीर असफलता हो ।” एक स्थानीयले आक्रोश व्यक्त गरे ।

श्रीकृष्ण विक काठमाडौंमा सवारी चालकका रूपमा काम गर्दै आएका थिए । उनले चैत २८ गते खोटाङकी एक १७ वर्षीया युवतीसँग प्रेम विवाह गरेका थिए । त्यसपछि युवतीका परिवारले ‘जबरजस्ती करणी’को आरोप लगाउँदै काठमाडौंमा उजुरी दिएपछि उनलाई पक्राउ गरी खुर्कोट ल्याइएको थियो ।

परिवारका अनुसार यो मुद्दाको वास्तविक जड अन्तरजातीय विवाहप्रतिको असहिष्णुता हो न कि अपराध । घटनापछि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । समितिले केही दिनभित्र प्रतिवेदन दिने भनिएको छ । तर विगतका घटनाहरूले देखाएको ‘औपचारिक छानबिन’प्रति जनताको विश्वास कमजोर छ । त्यसैले यसपटकको छानबिन कुनै दबाब वा प्रभावमा नपरी सत्य उजागर गर्ने कि फेरि अर्को फाइल बन्द हुने औपचारिकता मात्र बन्ने भन्ने प्रश्न उठेको छ ।

मानवअधिकारकर्मीहरूले पनि प्रहरी हिरासतमा हुने मृत्युहरूलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । हिरासत राज्यको पूर्ण नियन्त्रणभित्रको क्षेत्र भएकाले त्यहाँ हुने प्रत्येक घटना राज्यको जिम्मेवारीभित्र पर्छ । त्यसैले ‘आत्महत्या’ भन्ने शब्दले मात्र जिम्मेवारीबाट उन्मुक्ति पाउन नसकिने उनीहरूको भनाइ छ ।

अहिले श्रीकृष्ण विकको शव सिन्धुली अस्पतालमा राखिएको छ भने परिवारले न्याय नपाएसम्म अन्त्येष्टि नगर्ने अडान लिएका छन् । घटनाले फेरि एकपटक प्रहरी प्रणालीभित्रको उत्तरदायित्व, पारदर्शिता र मानवअधिकारको अवस्थामाथि गम्भीर बहस सुरु गराएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट