निर्मल लामा : बोली र व्यवहार एउटै भएका कम्युनिस्ट नेताको सम्झनामा
काठमाडौं । केही विशिष्ट मानिसहरू इतिहासका पानामा मात्र सीमित हुँदैनन् । उनीहरू आफ्ना विचार र व्यवहारका कारण अरूका स्मृतिमा जीवित रहिरहन्छन् । केही भेट, सम्वादहरू समाचार बन्दैनन् तर जीवनका पाठ बन्छन् । केही संवाद अन्तर्वार्ताका लागि रेकर्ड गरिन्छन्, प्रकाशन र प्रसारण हुन्छन् अनि केही दिनमै बिर्सिइन्छन् । तर, कतिपय संवाद आफ्नै अन्तरमनमा अमिट रूपमा लेखिएर रहन्छन् ।
आज आदरणीय कमरेड निर्मल लामाको २७औँ स्मृति दिवसमा म बारम्बार २०४९ सालको पुसको चिसो दिनमा फर्किन्छु । त्यो दिन सम्पादक कृष्ण सेन इच्छुक र म जनादेश साप्ताहिकका लागि उहाँसँग अन्तर्वार्ता लिन गएका थियौँ । तर त्यस दिन मैले एउटा युगको नैतिकता, आदर्श, सादगी र कम्युनिस्टहरूबीचको अटल विश्वासको साक्षात्कार बोकेर फर्किएँ ।
कृष्ण सेनले मलाई वरिष्ठ नेता निर्मल लामासँग अन्तर्वार्ता लिन जाओै भनेर लैजानु भयाे । हामी उहाँको निवास म्हेपी पुग्दा निर्मल लामा बारीमा खरायोलाई घाँस काटिरहनुभएको थियो । त्यो दृश्यले मलाई देशको कम्युनिस्ट आन्दोलनका एक महत्त्वपूर्ण स्तम्भ, अनेक संघर्षका साक्षी, जेल र यातनाका यात्री तर जीवनमा कुनै आडम्बर नभएका नेताको छवि अझ स्पष्ट बनायो ।
हुन त यो मेरो उहाँसँगको पहिलो भेट थिएन । पटकपटक एक्लै र सामूहिक रूपमा भेट्दा पनि मैले उहाँमा नेताजस्तो दूरी पाइनँ, न कुनै प्रदर्शन । त्यो दिन त उहाँ मानौँ आफ्नै दिनचर्यामा रमाइरहनुभएको एक साधारण किसान झैँ देखिनुहुन्थ्यो । तर त्यो सादगीभित्र वैचारिक दृढता थियो ।
निर्मल लामा वास्तवमै नेपाली कम्युनिस्ट आन्दोलनका खुला पुस्तक हुनुहुन्थ्यो । उहाँको जीवन भाषणमा होइन, व्यवहारमा पढ्न सकिन्थ्यो । उहाँ वास्तविक श्रमिक र श्रमजीवी वर्गको आत्मा हुनुहुन्थ्यो । वर्गसंघर्ष र अन्तरसंघर्षका कठिन मोर्चाहरूमा उहाँ खरो उत्रिनुभएको थियो । तर त्यो कठोरता उहाँको बाहिरी राजनीतिक भूमिकामा मात्र सीमित थियो । निजी जीवनमा उहाँ असाध्यै कोमल, आत्मीय र मानवीय हुनुहुन्थ्यो ।
त्यो दिनको भेटमा निर्मल लामा र कृष्ण सेनबीचको संवाद सुन्ने अवसर मैले पाएँ । सुरुमा कुराकानी राजनीतिक थियो, जेलका अनुभव, आन्दोलनका मोडहरू, पार्टीभित्रका बहस र विभाजनका प्रसंगहरू । तर विस्तारै संवाद औपचारिकताभन्दा पर पुग्यो । त्यहाँ दुई जना नेता होइन, दुई जना पुराना साथी, दुई जना संघर्षका सहयात्री र परिवारका सदस्य बोलिरहेका थिए ।
२०४० सालको चौम विभाजनको प्रसंग आयो । त्यो विभाजन संगठनात्मक मात्रै थिएन, त्यसले मानिसहरूको मनमा गहिरो चोट पुर्याएको थियो । कृष्ण सेन त्यसबेला जेलमा हुनुहुन्थ्यो । निर्मल लामासँग उहाँको सम्बन्ध राजनीतिकभन्दा बढी आत्मीय र भावनात्मक रहेको स्पष्ट देखिन्थ्यो । विभाजनको पीडा सम्झँदै गर्दा निर्मल लामाको स्वर भारी भयो । केही क्षणपछि मैले देखेँ, दुवैका आँखामा आँसु थिए ।
त्यो दृश्य आज पनि मेरो स्मृतिमा ताजा छ ।
राजनीतिमा आँसु देखाउनु कमजोरी ठानिन्छ । तर त्यो दिन मैले बुझें, आँसु नै सायद इमानदार मानिसहरूको अन्तिम भाषा हो । ती आँसु कुनै व्यक्तिगत पीडा वा हारका थिएनन् । ती आन्दोलनको विखण्डनका, अधुरा सपनाका, गुमेका साथीहरूको र सायद आफ्नै कारण वा असमझदारीले विछोडिएका परिवारको पुनर्मिलनका आँसु थिए ।
त्यसपछि निर्मल लामाले कृष्ण सेनको एउटा प्रसंग सुनाउनुभयो ।
कृष्ण सेन केही समय जागिरमा हुनुहुन्थ्यो । उहाँका भाइ गम्भीर बिरामी परेछन् । उपचारका लागि गोरखपुर ल्याउने, लाने गर्नुपर्ने भएछ । आर्थिक अवस्था कमजोर थियो । तर उहाँले आफ्नो धेरै कमाइ भाइको उपचारमा खर्च गर्नुभयो । सौतेनी आमाले सेनलाई राम्रो व्यवहार नगर्ने कुरा पनि लामालाई थाहा रहेछ । त्यो भाइ सौतेनी पक्षको भएको कुरा लामालाई पछि सेन जेल परेपछि मात्र थाहा भएछ ।
निर्मल लामाले त्यो घटना सम्झिँदै भन्नुभयो, “यो समयमा पनि यस्ता मान्छे हुन्छन् भनेर मैले कृष्णलाई हेरेर बुझेँ । भगवानजस्तै मानिस लाग्यो ।”
त्यो सुन्दा कृष्ण सेन मौन हुनुभयो ।
सायद त्यही क्षण मैले बुझें, कम्युनिस्ट हुनु भनेको औपचारिक रूपमा सिद्धान्तका ठूलठूला कुरा गर्नु मात्र होइन, जीवन बाँच्ने तरिका पनि हो । उसले बाँच्ने, गर्ने व्यवहारकाे तरिका पनि हाे । वर्गचरित्र, वर्गपहिचान र वर्गमूल्यका कुरा भाषणमा दोहोर्याएर हुँदैन, ती आफ्नै व्यवहारमा देखिनुपर्छ । फोस्रा र ढोंगी आदर्श भट्याएर केही हुँदैन । मानिसको साँचो मूल्य उसको निजी जीवनले देखाउँछ ।
निर्मल लामा आदर्श नेता हुनुहुन्थ्यो । यसैले उहाँले सेनकाे आदर्श व्यवहारकाे खुलेर प्रशंसा गर्नुभयाे । लामाकाे बोली र व्यवहारबीच कुनै दूरी थिएन । उहाँ सादा जीवन, उच्च विचार र कठोर परिश्रमका जीवित उदाहरण हुनुहुन्थ्यो । गहिरो अध्ययनशीलता उहाँको अर्को विशेषता थियो । उहाँसँग बोल्दा लाग्थ्यो, उहाँ राजनीतिक नेता मात्रै होइन, एक शिक्षक, एक अभिभावक र एक स्वप्नदर्शी पनि हुनुहुन्छ ।
त्यो दिन अन्तर्वार्ता लिने वातावरण बनेन । हामी त्यसै फर्कियौँ ।
अर्को दिन म एक्लै अन्तर्वार्ताका लागि उहाँकहाँ पुगेँ । अन्तर्वार्ता सकिएपछि फर्किन लाग्दा उहाँले अचानक सोध्नुभयो,
“गाडी चढ्ने पैसा छ ?”
मसँग खासै पैसा थिएन । हाम्रो कार्यालय महाबौद्ध नजिक ओटु गुच्चाटोलमा थियो । हिँडेर जान म्हेपीबाट करिब एक घण्टा लाग्थ्यो । मैले “छ” भनेँ ।
उहाँले पत्याउनुभएन ।
“देखाउनुस् त,” भन्नुभयो ।
म मुस्कुराएँ । मसँग साँच्चै पैसा थिएन । त्यसपछि उहाँले गाली गर्दै भन्नुभयो,
“कमरेडले ढाँट्नु हुँदैन । आफ्ना दुःख भन्नुपर्छ । हामी एउटै वर्गीय मुक्तिका लागि अलगअलग भूमिकाका साथ हिँडे पनि हामी एउटै परिवारका सदस्य हौँ ।”
त्यसपछि उहाँले मेरो हातमा ३० रुपैयाँ राखिदिँदै भन्नुभयो, “खाजा पनि खानू ।”
त्यतिबेला जमलसम्म पुग्न ट्याम्पो भाडा साढे तीन रुपैयाँ थियो । म:म एक प्लेटकाे पाँच रूपियाँ थियाे ।
उहाँले दिएकाे त्यो रकम धेरै ठूलो थिएन । तर पैसाभन्दा पनि त्यो नेताको आत्मीयता ठूलो थियो ।
आज फर्केर हेर्दा लाग्छ, निर्मल लामाको महानता उहाँका राजनीतिक योगदानमा मात्र थिएन । उहाँको वास्तविक उचाइ त उहाँको व्यवहारमा थियो ।
खर्साङमा जन्मिएर २००५ सालमा नेपाल आउनु, मुक्तिसेनामा सहभागी हुनु, २००७ सालको क्रान्तिमा कमान्डरका रूपमा लड्नु, दैलेख मुक्त गराउनु, बडाहाकिम बन्नु र ठूलो पदमा पुगिसकेपछि पनि शिक्षक बन्नु, यी सबै घटनाले उहाँको जीवनलाई असाधारण बनाउँछन् ।
आजको राजनीतिमा धेरै कुरा बदलिएका छन् । भाषणहरू ठूला भएका छन् तर व्यवहार साना भएका छन् । आदर्शका कुरा धेरै सुनिन्छन् तर जीवनमा ती कमै देखिन्छन् । जनताको नाम धेरै लिइन्छ तर जनतासँगको दूरी बढ्दै गएको छ । कम्युनिस्ट पार्टीकै शीर्ष नेतृत्व नै आर्थिक सेटिङ, गिराेह बनाएर हिंडििरहेकाे अवस्था छ ।
यस्तो समयमा निर्मल लामाजस्ता नेताहरूको सम्झना श्रद्धाञ्जली मात्रै होइन, आत्मसमीक्षा पनि हो । हामीले उहाँको जीवनबाट सिक्नुपर्छ, सादगी, निष्ठा, अध्ययनशीलता, श्रमप्रतिको सम्मान र सबैभन्दा महत्त्वपूर्ण, बोली र व्यवहारबीचको एकरूपता ।
आज आदरणीय लामाप्रति अगाध श्रद्धाका साथ म यही भन्न चाहन्छु,
त्यस्ता निष्ठा, त्यस्ता आदर्श, त्यस्ता मानवीय कम्युनिस्ट नेताहरू सम्झनामा मात्र होइन, हाम्रो जीवन-व्यवहारमा पनि जीवित रहून् ।
किनकि अन्ततः इतिहासमा बाँकी रहने कुरा यही हो,
कसले के बोल्यो, त्यो होइन,
कसले कसरी बाँचेको थियो, त्यो हाे ।

क्याटेगोरी : विचार










प्रतिक्रिया