Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

प्रगतिशील लोकतान्त्रिक पार्टीमा वैचारिक लडाई सुरु


काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी वैचारिक लडाई सुरु भएको छ । निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपछि याे पार्टीमा आन्तरिक द्वन्द्व चर्किएको हो । बैशाख ११ र १२ मा बसेको केन्द्रीय समितिको विस्तारित बैठकमा अध्यक्ष सन्तोष परियारले वरिष्ठ नेता डा. बाबुराम भट्टराई अघि सारेको ५ ‘स’ मा आधारित मानवतावाद भन्दा समाजवादी लोकतन्त्रको प्रस्ताव ल्याएसँगै पार्टीमा बैचारिक संघर्ष सुरू भएकाे छ ।

हेर्नुस सन्तोष परियारले पेस गरेको दस्तावेज

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को संक्षिप्त समीक्षा प्रतिवेदन

२०८३ बैशाख, ११ र १२, बाफल, काठमाण्डों

उपस्थित् साथीहरूमा प्रगतिशील अभिवादन,

२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछिको यो पहिलो समीक्षा बैठकमा यहाँहरू सबैलाई प्रलोपा अध्यक्ष परिषद् र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। आधुनिक नेपालको इतिहासमा विभिन्न राजनीतिक कालखण्ड पार गर्दै नेपाली समाज राजनीतिकरूपमा आज एउटा फरक र विशिष्ट अवस्थामा आइपुगेको छ। यद्देपी, आज जुन अवस्था नेपाली राजनीतिमा विद्यमान छ र जुन हिसाबमा समाज-विकासका नयाँ आयामहरूको उद्घाटन भएको छ, वास्तवमा यी सबै विभिन्न राजनीतिक एवं सामाजिक आन्दोलनहरूको समुच्चनमा नै भएका हुन भन्ने कुरामा कुनै दुविधा छैन।

तथापि, विज्ञान-प्रविधिमा भएका विकास अझ त्यसमा पनि मूलतः संचार र सामाजिक संजालहरूको विस्तार, वैश्वीकरुपमा हुनगएको हाम्रो सम्पर्क र संवाद अनि नयाँ पुस्ताको बदलिएको सामाजिक मनोविज्ञान यसका खास कारणहरूमा पर्दछन्।

हामीले अवलम्बन गरेको राजनीतिक प्रणाली अन्तर्गत संकुचित हुँदैगएको राज्य-व्यवस्था, सिमित बन्दै गएको आर्थिक विकास र फराकिला हुँदैगएका हाम्रा आफ्नै ऐतिहासिक विशिष्ट सामाजिक, आर्थिक र सांस्कृतिक उत्पीडन र विभेदहरू आजको अवस्थाका केही आन्तरिक कारणहरू हुन। यद्देपी, आज नेपाल लगयात संसारभर जे भइरहेकोछ, त्यसको स्वतन्त्र प्राज्ञिक एवं बौद्धिक अध्ययन, अनुसन्धान र बहसको जरुरी त छदैछ साथै राजनीतिकरुपमा पनि सामुहिक बहस र छलफलको आवश्यकता पर्दछ।

प्रगातिशील लोकतान्त्रिकक पार्टी (प्रलोपा) को बैशाख ११ र १२ गते काठमाडौंको बाफलमा जारी यो विस्तारित बैठक नेपाली समाजको आगामी राजनीतिक संघर्ष र रुपान्तरणको लागि एकताबद्ध हुन र राष्ट्रिय स्वाधिनता र सारभौमिकताका लागि संगठित भएर संघर्ष गर्न सबै राजनीतिक पार्टीहारूलाई आव्हान गर्दछ।

प्रलोपा निर्माणको पृष्ठभूमि र आधार

नेपालमा २००७ साल यता निरन्तर नेपाली समाजको लोकतान्त्रिकरणका आन्दोलनहरू भए। यसक्रममा, शाह, राणा र निर्दलीय पंचायत हुँदै, बहुदलीय प्रजातन्त्र र अन्ततः गणतन्त्रसम्मको यात्रामा राजनीतिक पार्टीहरूले महत्त्वपूर्ण भूमिका खेले। फलस्वरूप सामन्ती एकात्मक, एकल भाषी, जाती, लिँग, धार्मिक र सांस्कृतिक राज्यव्यवस्थालाई धर्मनिरपेक्ष, समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य निर्माण गर्न राजनीतिक पार्टीहरू सफल भए र आज साँचो अर्थमा नेपाली नागरिक स्वतन्त्र र सार्वभौम भएका छन्। संवैधानिकरुपमा आज नागरिक सर्वोच्चता स्थापित भएतापनि आर्थिक असमानता, ऐतिहासिक उत्पीडन र विभेदका कारण आज पनि सम्पूर्ण नेपाली नागरिकले लामो संघर्षबाट प्राप्त स्वतन्त्रता र सार्वभौमिकताको यथार्थ महसुस गर्न पाएका छैनन्। त्यसैले संविधानले समाजवाद उन्मुख लेखेको नेपाल राज्यलाई अब हाम्रो सामुहिक राजनीतिक संघर्षले ‘समाजवादी’ राज्यमा स्थापित गर्न अत्यन्तै जरुरी भएको छ र आजको राज्य सत्ताको मूल चरीत्र हेर्दा, अहिले नै त्यो उपयुक्त समय हो भन्ने लाग्दछ।

जुनसुकै वैचारिकी र सैधान्तिक धारका भएतापनि नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने र सार्वभौम नेपाली जनताको सर्वोच्चतालाई स्थापित गर्ने क्रममा सबै राजनीतिक पार्टीहरूको उत्तिकै योगदान रह्यो। नागरिक सर्वोच्चताका लागि जनतालाई अधिकार सम्पन्न बनाउन जति योगदान राजनीतिक पार्टीहरूले गरे, त्यसको सट्टामा हरेक व्यवस्था परिवर्तनपछिका आर्थिक, सामाजिक र राजनीतिक विकाससँगै आम नागरिकको जीवनमा आउनुपर्ने स्वभाविक सकारात्मक परिवर्तन भने गर्न सकेनन्। जसले गर्दा विभिन्न ऐतिहासिक आवश्यकता र महत्त्वका साथ कठोर संघर्षबाट राजनीतिको मूलधारमा स्थापित भएका दलहरू क्रमशः आफ्नै राजनीतिक विचार र आम नागरिकको विश्वासबाट टाढिदै जान पुगे। पुँजीवादी, समाजवादी र आफूलाई साम्यवादी भन्ने सबै राजनीति पार्टीहरूले राज्य संचालनमा गरेका बेथिति, विसंगति र भ्रष्टाचारजन्य कार्यले राज्य र नागरिकको सम्बन्धलाई कम्जोर बानाउन पुग्यो। साथसाथै, साँघुरिदै गएको आजको विश्व, विज्ञान-प्रविधिमा भएका विकास र नवयुवा (जेन-जी) मनोविज्ञान र उनीहरुको आवश्यकतालाई बुझ्न नसक्दा व्याप्त निराशा र अलगावले जुन भौतिक शक्तिको निर्माण गर्यो र त्यसका कारण भदौ २३ र २४ गतेको नवयुवा (जेन-जी) हरूको आन्दोलनले केही घण्टाभित्रै जननिर्वाचित सरकारलाई सत्ताच्युत गर्यो र आजको नयाँ राजनीतिक अवस्थामा अवतरण गरायो। 

बदलिँदो विश्वराजनीति, भ्रष्टिकरणमा व्याप्त नेपाली राजनीति र नवयुगको क्रान्तिकारी चेतनासहित उठेको राजनीतिक हस्तक्षेपलाई मध्यनजर गर्दै, नेपाली समाजको विशिष्ट बनावट र त्यसले निर्धारण गरेका साँधसिमालाई ध्यानमा राख्दै नेपाली समाजको क्रान्तिकारी रुपान्तरण र भावी नेपालको समाजवादी आन्दोलनको नेतृत्व गर्न विद्यमान राजनीतिक पार्टी र तीनका- आफ्नै पार्टीका विचार र सिद्धान्तबाट विमुख, परिवारवाद, नातावाद र विचौलियाको स्वार्थमा डुबेका नेतृत्वबाट संभव नहुने निष्कर्ष निकाल्दै प्रगतिशील, लोकतान्त्रिक र समाजवादीहरूको समुहले प्रलोपा गठन गरि २०८२ मंसिर ७ गते काठमाडौंको राष्ट्रिय सभागृह, भृकुटीमण्डपबाट औपचारिकरुपमा घोषण गरिएको हो। रुढीवादी समाजको प्रगतिशील रुपान्तरण र शान्तिपूर्ण र लोकतान्त्रिक विधि र पद्धतिबाट नै समाजवादको निर्माण गरि समाजवादी लोकतन्त्रको अभ्यास गर्नु नै प्रलोपाको मूल ध्येय रहेको छ।

प्रतिनिधिसभा निर्वाचन २०८२ को संक्षिप्त समीक्षा

 नेपालको राजनीतिक इतिहासमा आजसम्म भएका तमाम राजनीतिक संघर्षहरूमा नेपाली जनतालाई सदैब साथ दिएका छन्। २००७ सालको प्रजातान्त्रिक संघर्षदेखि १० वर्षे माओवादी जनयुद्ध र दोस्रो जन आन्दोलन २०६२/६३ सम्ममा पनि नेपाली जनताले निरन्तर क्रान्तिकारी परिवर्तनको पक्षमा भौतिक र भावनात्मकरुपमा साथ दिएका छन्। नेपाली समाजको लामो राजनीतिक चरीत्रको अध्ययन गर्ने हो भने यो भन्न सकिन्छ कि, नेपाली जनताहरू चाहे त्यो संघर्षपूर्ण आन्दोलनबाट होस या शान्तिपूर्ण निर्वाचनबाट सधैं परिवर्तनको पक्षमा उभिने गारेका छन्। २००७ सालदेखि पछिल्लो युवाहरूको (जेन-जी) आन्दोलन र तत्पश्चातको निर्वाचन परिणामबाट हामी यो सिद्ध गर्न सक्छौं। यसर्थ, प्रलोपाको जारी केन्द्रीय विस्तारित बैठक नेपाली जनताको क्रान्तिकारीता, जुझारुपन र परिवर्तनको पक्षधरताको मुक्तकण्ठले प्रशंसा गर्दछ।  नेपालको राजनीतिक इतिहासमा २०८२ भदौ २३ र २४ गते भएको नवयुवा (जेन-जी) आन्दोलन नेपाली समाजको राजनीतिक रुपान्तरणमा एउटा अर्को पानीढलोको रुपमा स्थापित भएको छ। एकातिर यो आन्दोलनले नेपाली राजनीतिमा नयाँ संभावनाहरूको उजागर गरेको छ भने साथसाथै विगतमा कहिले नभएको हिंसा र विध्वंसको पनि प्रयोग गरेको छ। शान्तिपूर्ण भनिएको आन्दोलन नेपाली राजनीतिको स्मृतिमा नभएको नयाँ खाले हिंसा, आगजनी र विध्वंसले व्याप्त भएको छ। ७६ जना निहत्था बालबालिकाहरूको ज्यान गएको छ। राज्यका ऐतिहासिक संरचनाहरू जलाइएका छन्। सुरक्षाकर्मीहरूमाथि निर्मम प्रहार भएको छ।

जेनजी आन्दोलनपछिका केही दिनहरू पट्ट्यार लाग्दा थिए। राज्यको उपस्थिति न्यून थियो। संविधान विक्षिप्त थियो। राजनीतिक पार्टीहरू निकै ठूलो अलमलमा थिए। यस्तो अवस्थामा महामहिम राष्ट्रपतिबाट आन्दोलनकारी नवयुवा (जेन-जी) हरूको माग बमोजिम नागरिक सरकारको निर्माण भयो र उक्त सरकारले ६ महिनभित्र प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गर्यो। २०८२ फागुन २१ गतेलाई निर्वाचन घोषणा त गरियो तर डर, त्रास र निर्वाचनको अनिश्चितता सर्वव्यापी थियो। जेनजी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचारको अन्त्य र राजनीतिको पुस्तान्तरणको मागले सबै राजनीतिक दलभित्र सघन बहसको सिर्जना गरेको थियो। राजनीतिक पार्टीहरू गठन, पुनर्गठन, ध्रुवीकरण र विघटनको बाटोमा थिए। एकातिर निर्वाचनको संसय अर्कोतर्फ निर्वाचन नहुदा उत्पन्न हुने संवैधानिक जटिलताका कारण राजनीतिक पार्टीहरू निकै ठूलो संवैधानिक संकटका सामु थिए। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) यीनै संकट र जटिलताकाबीच नवयुवा (जेन-जी) हरूले उठाएका मागहरूलाई सम्बोधन गरि नेपाली राजनीतिको पुनर्संरचना गर्दै नयाँ युगको समाजवादी नीति र कार्यक्रमको नेतृत्व गर्न निर्माण गरिएको थियो र हो।  प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को घोषणा २०८२ मंसिर ७ गते भएको थियो। २०८२ पुस १ र २ गते प्रलोपा केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठक काठमाडौंमा बसि २०८२ फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनमा हामी होमिएको थियो। पार्टी निर्माणका कैयौं कार्यहरू पुरा नहुँदै संविधान रक्षाका लागि। लिकभन्दा बाहिर जान लागेको लोकतन्त्रको संरक्षणका लागि र जनमतको सम्मान गर्दै नागरिक सर्वोच्चताको सम्मानका लागि प्रलोपा निर्वाचनमा होमिएको थियो। तर, कम्जोर सांगठिक उपस्थिति, व्यापक प्राविधिक कमजोरी, सिमित स्रोतसाधान र निकै छोटो समयका कारण निर्वाचन परिणाम प्रलोपाको पक्षमा हुन सकेन। निर्वाचनको परिणाम प्रलोपाका लागि मात्र होइन सबै राजनीतिक दलका लागि अनेपक्षित रह्यो। निर्वाचानमा भारी मतका साथ बिजयी रास्वापाको लागि पनि यो हदसम्मको विजय अपेक्षित थिएन।  तसर्थ, यो निर्वाचन सबैका लागि अनेपेक्षित नै रहन गयो। यद्यपी, निर्वाचनमा प्राप्त यो परिणामका आधारमा प्रलोपा नेतृत्व आत्मालोचना गर्दछ र आफ्ना कमिकमजोरीलाई स्वीकार गर्दै यो निर्वाचनमा प्राप्त अनुभवलाई सिंगो पार्टी निर्माणमा लगाउने प्रतिबद्धता पनि व्यक्त गर्दछ। समय, आर्थिक अवस्था, संगठन र अन्य प्राविधिक कमिकम्जोरीका साथै उम्मेदवारी फिर्ता लिने। अन्य पार्टीलाई सघाउने र हतारमा गरिएको अपरिपक्व निर्वाचन तालमेल जस्ता अन्य कमिकम्जोरी यश निर्वाचन रहन गए जुन आगामी दिनहरूमा दोहोरिने छैनन्। यस निर्वाचनमा भारी जनमत प्राप्त गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रगतिशील लोकतान्त्रिक पार्टी यसै आफ्नो केन्द्रीय कमिटीको विस्तारित बैठकबाट नेपालको संविधानले परिकल्पना गरे जस्तै नेपाल राष्ट्रको निर्माण गर्न र संविधानले व्यवस्था गरेको नागरिक अधिकारको पूर्ण कार्यन्वयनमा ऐतिहासिक जिम्मेवारी बहन गर्न अनुरोध पनि गर्दछ। 

आगामी राजनीतिक कार्यक्रम

नेपाली जनताको लामो संघर्ष अथक श्रम र पशिनाले सिर्जित नेपाल तिनकै बलिदानी र संघर्षपूर्ण इतिहासले सुसज्जित छ। देश र जनताको हितका खातिर सदैब संघर्ष गर्न तयार नेपाली जनताले आधुनिक नेपालको गौरवपूर्ण इतिहास लेख्न सफल भएका छन्। २००७ साल यता भएका सबैखाले राजनीतिक संघर्षहरूमा नेपाली जनताले सदैब न्याय, समता, स्वतन्त्रता र अग्रगामी जनपक्षीय राजनीतिक पार्टी र नेतृत्वलाई साथ दिएका छन्। नवयुवा (जेन-जी) पुस्ताले नेतृत्व गरेको गत भदौ २३ र २४ गते जेनजी विद्रोह आजसम्मको नेपालमा भएका अन्य राजनीतिक आन्दोलनहरू मध्य फरक आन्दोलन रह्यो। समय फरक थियो पुस्ता फरक थियो तसर्थ आन्दोलन फरक हुनेकुरा स्वभाविक नै भयो। तर, यो विद्रोहपछि नेपाली राजनीतिमा केही बहस-छलफहरू सघन भएका छन्। जेनजी विद्रोहपछि, परम्परागत राजनीतिक पार्टी, ती पार्टीहरूले अवलम्बन गरेका विभिन्न खाले राजनीतिक सिद्धान्त र विचारमाथि निकै ठूला-ठूला बहस भएका छन्। शितयुद्धको समाप्तिपछि पश्चिमा एकांकी प्रज्ञिक र बौद्धिकहरूले गरे जस्तो विचारहरूको अन्त्य  र पार्टीहरूले अभ्यास गरेका संगठन प्रणालीमाथि निकै भद्दा प्रश्नहरू गर्न थालिएका छन्। तर, वास्तविकता भने त्यस्तो होइन। नवउदारवादले आज विश्वभर विभिन्न खाले अर्थ-सामाजिक एवं सांस्कृतिक संकट निम्त्याएको छ। आज विश्वमा जेजस्ता मानवीय संकटहरू सिर्जना भएका छन् तिनका मुख्य कारण नवउदारवाद र यसले सिर्जना गरेका तमाम आर्थिक एवं सामाजिका समस्याहरू नै हुन। आर्थिक प्रणालीको नाफा र घाटासँग मात्र जोडिएको नवउदारदी लोकतान्त्रिक व्यवस्था कहिले पनि जनताको पक्षमा हुननसक्ने कुरा आज आफ्नो अस्तित्वका लागि विश्वभर युद्ध थोपरिरहेको नवउदारवादी व्यवस्था स्वयमले प्रमाणित गरिदिएको छ। यस्तोमा आज खासगरी संसारभरि दक्षिणीपंथी लोकप्रियतावाद हावी छ। जसले मनवीय चेतना, विचार, सिद्धान्त र संगठन केही पनि चाहिदैन भन्छ र समाजको घोर अराजनीतिकरण गरेर मुठ्ठीभरका मान्छेहरूबाट शासन व्यवस्था संचालन गर्ने षड्यन्त्र गरिरहेको छ। नेपाल आजको विश्वबाट टाढा हुने कुरै भएन। फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट दुईतिहाई नजिक पुगेको आजको रास्वपा नेपालमा दक्षिणपंथी लोकप्रियतावादी पार्टी हो जसले सदैब लोकप्रियतावादी कुरा गर्छ र विचारसहितको आदर्श राजनीतिलाई हेय दृष्टिले हेर्नेगर्छ। तर, वास्तविकता के हो भने आजको नेपालमा राजनीतिक दर्शन, सिद्धान्त र विचारले काम नगरेका होइनन। बरु, ती दर्शन, सिद्धान्त र विचारको आधारमा बनेका पार्टीका नेताहरू तदनुरुप हुननसकेका हुन। तसर्थ, दर्शन, सिद्धान्त र विचार हारेका होइनन। सट्टामा, आफ्नो पार्टीको दर्शन, सिद्धान्त र विचार अनुसारका हुन नसकेका राजनीतिक नेतृत्व र तिनले नेतृत्व गरेका पार्टी हारेका हुन। प्रगतिशील लोकतान्त्रिक पार्टी बैशाख ११ र १२ गते काठ्माडौंमा भइरहेको पार्टीको ऐतिहासिक केन्द्रीय कमिटीको विस्तारित बैठकबाट सम्पूर्ण न्यायप्रेमी समाजवादी राजनीतिक पार्टी र आम नागरिकलाई नेपाली समाजको विशिष्ट बनावट अनुसारको समाजवादी आन्दोलनमा एकताबद्ध भएर अगाडि बढ्न आव्हान गर्दछ। आजसम्म भएका तमाम लोकतान्त्रिक आन्दोलनहरूलाई ऐतिहासिक ज्ञान मिमांसाकारुपमा संरक्षित गर्दै र इतिहासको अनुभवबाट सिक्दै  नयाँ ‘समाजवादी लोकतान्त्रिक’ आन्दोलनका लागि सबै न्यायप्रेमी जनसमुदायहरूमा अपिल पनि गर्दछ।  समाजवादी लोकतान्त्रिक आन्दोलनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले तत्कालका लागि देहायका कार्य गर्नेछ।

१. पार्टीको आगामी राजनीतिक यात्राका लागि वैचारिक, राजनीतिक र सांगठनिक संरचना तयार गर्न एउटा केन्द्रीयस्तरको समिति निर्माण गर्ने।

२. समाजवादी लोकतान्त्रिक आन्दोलनलाई नयाँ ढँगबाट परिभाषित गर्नुपर्ने, नयाँ कार्यक्रम र कार्यदिशा बनाउनुपर्ने भएकाले वर्तमान पार्टीको पुनर्संरचना गर्ने।

३. आजको राज्य-सत्ताको प्रथामिकतामा नपर्ने विद्यमान वर्गीय, जातीय, लैंगिक, क्षेत्रीय समस्या समाधानका लागि नेतृत्व र संघर्ष गर्ने।

४. स्थानीय पार्टी संगठनहरूलाई भेला मार्फत सुदृढ गर्दै आ-आफ्नो तहका सरकारका गलत कार्यको खबरदारी गर्ने। उत्पादन र रोजगारीका मार्फत प्रलोपा सदस्यहरूको आर्थिक जीवनमा सहजता ल्याउने। साथै, स्थानीय तहमा आइपर्ने विपतहरूमा स्वयमसेवकरुपमा उद्धार र सहयोगमा सक्रिय रहने। र, आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै संगठन निर्माण गर्ने।

५. नयाँ युगको नयाँ ‘समाजवादी लोकतान्त्रिक’ आन्दोलनका लागि सम्पूर्ण वामपन्थी एवं समाजवादीहरूको एउटै सशक्त संगठन निर्माणको लागि आव्हान गर्दछौं।

 

 

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट