अमरेश सिंहको चेतावनी- सङ्घीयतामाथिको हस्तक्षेप स्वीकार्य छैन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनबाट प्रदेश सभा खारेज गर्ने नीतिगत प्रस्ताव पारित गरेपछि त्यसको पक्ष र विपक्षमा राजनीतिक बहस तीव्र बनेको छ। यसैबीच सांसद अमरेशकुमार सिंहले उक्त निर्णयप्रति असहमति जनाउँदै सङ्घीयता, लोकतन्त्र र समावेशितामाथि हुने कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।
महाधिवेशनमा सहभागी नभएका सिंहले जनकपुरधामबाट सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सङ्घीय शासन व्यवस्थामाथि आक्रमण गर्ने प्रयास भए त्यसको नेपाली जनताले सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका हुन्।
उनले लेखेका छन्, “जगत जननी सीतामाताको भूमि जनकपुरधामबाट म फेरि स्पष्ट भन्न चाहन्छु– नेपालको लोकतन्त्र, सङ्घीयता र समावेशितासँग कसैले छेडखानी गर्छ भने नेपाली जनताले त्यसको सशक्त प्रतिरोध गर्नेछन्।”रास्वपाले अघि सारेको प्रदेश सभा खारेजीको अवधारणाप्रति असन्तुष्टि व्यक्त गर्दै सिंहले जनप्रतिनिधिहरूले सङ्घीयताको विकल्प खोज्नुभन्दा जनताको मूल अपेक्षा सुशासन र समृद्धि पूरा गर्नतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे।
“जनताले सुशासन र समृद्धि खोजेका छन्। हामी हरेक कदममा जनताको साथमा रहनेछौं,” उनले भने।
रास्वपाका गतिविधिप्रति विगतदेखि नै आलोचनात्मक दृष्टिकोण राख्दै आएका सिंह पार्टीको प्रथम महाधिवेशनमा पनि उपस्थित भएका थिएनन्। रास्वपाले महाधिवेशनबाट प्रदेश सभा खारेज गर्ने नीति पारित गरेसँगै त्यसले मुलुकको सङ्घीय संरचनाबारे नयाँ राजनीतिक बहसलाई जन्म दिएको छ।
क्याटेगोरी : राजनीति












प्रतिक्रिया