बजारमा कृत्रिम माग देखाए कारवाही गर्ने नेप्सेको चेतावनी, २५ प्रतिशत नगदमा कडाइ
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र कारोबारमा कृत्रिम माग सिर्जना गरी बजारलाई प्रभावित पार्ने कार्य रोक्न कारोबार सदस्यहरूलाई कडा निर्देशन दिएको छ ।
बुधबार एक परिपत्र जारी गर्दै नेप्सेले लगानीकर्ताको वास्तविक कोल्याटरल सीमा भन्दा बढी रकमको खरिद आदेश प्रविष्ट गराउने र बजारमा अस्थायी माग उच्च देखाउने गतिविधि नगर्न सचेत गराएको हो ।
केही ब्रोकरहरूले कोल्याटरल भन्दा कैयौँ गुणा बढीको आदेश प्रविष्ट गर्न दिने र पछि ती आदेशहरू रद्द गर्ने गरेको पाइएपछि नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ (१) अनुसार खरिद आदेश दिँदा अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम अग्रिम लिन अनिवार्य गरेको छ ।
नेप्सेको सुपरिवेक्षण शाखाका अनुसार विनियमावलीको व्यवस्था विपरीत कारोबार गराएको देखिएमा प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइनेछ । यस कदमले बजारमा हुने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गरी वास्तविक लगानीकर्ताको हित संरक्षण गर्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया