Techie IT
KTM Post
मंगलबार, २३ असार, २०८३

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति भोला थापाले सम्हाले कार्यभार


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भोला थापाले आजदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा असार १९ गतेको निर्णयअनुसार थापालाई उपकुलपतिमा नियुक्त गरेका थिए।

यसअघि काठमाडौं विश्वविद्यालयको उपकुलपति रहिसकेका प्रा. डा. थापा उच्च शिक्षा, अनुसन्धान तथा विश्वविद्यालय व्यवस्थापनमा लामो अनुभव भएका शिक्षाविद् हुन्। उनले काठमाडौं विश्वविद्यालयमा रजिस्ट्रार, इन्जिनियरिङ सङ्कायका डीनलगायत विभिन्न नेतृत्वदायी जिम्मेवारी सम्हालिसकेका छन्। हाइड्रोलिक मेसिनरी तथा ऊर्जा प्रणालीका विज्ञका रूपमा परिचित थापाले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीबाट विद्यावारिधि गरेका हुन्।कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमा आयोजित पदभार ग्रहण कार्यक्रममा उपकुलपति थापाले त्रिभुवन विश्वविद्यालयलाई सबै सरोकारवालाको सहकार्य, सुझाव र सहभागितामार्फत थप उत्कृष्ट, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा निवर्तमान उपकुलपति प्रा. डा. सुशीलबहादुर बज्राचार्य, निमित्त शिक्षाध्यक्ष प्रा. डा. शङ्करप्रसाद खनाल, निमित्त रजिस्ट्रार प्रा. डा. महानन्द चालिसेलगायत विभिन्न अध्ययन संस्थान तथा सङ्कायका डीन, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, महाशाखा प्रमुख, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट