सरकारका सय दिनमै लोकतान्त्रिक प्रक्रिया कमजोर बनाइयो : कांग्रेस सांसद अर्जुननरसिंह केसी
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार गठनको पहिलो सय दिनमै लोकतान्त्रिक प्रक्रिया, विधि र संसदीय मर्यादामाथि निरन्तर हस्तक्षेप भएको आरोप लगाएका छन्।सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्र परिणाममा मात्र सीमित नहुने, त्यसको प्रक्रिया, विधि र पद्धति पनि समान रूपमा लोकतान्त्रिक हुनुपर्ने बताए।उनका अनुसार लोकतन्त्र परिणाम, विधि, पद्धति र प्रक्रियाको समग्र स्वरूप हो। तर सरकार गठनपछि यी आधारभूत मान्यतामाथि लगातार प्रहार भएको महसुस भएको उनले बताए।
केसीले भने, “लोकतन्त्र भनेको परिणाम मात्र होइन, त्यससँगै प्रक्रिया पनि लोकतान्त्रिक र विधिसम्मत हुनुपर्छ। विधि, पद्धति र प्रक्रियाको संयुक्त स्वरूप नै लोकतन्त्र हो। त्यसलाई एकपछि अर्को गर्दै तोड्ने र कमजोर बनाउने काम सय दिनभित्र भएको छ।”
प्रधानमन्त्रीले संसद्मा व्यक्त गर्ने धारणा व्यक्तिगत नभई सरकारको आधिकारिक धारणा हुने भएकाले त्यसबारे उठेका प्रश्नको जवाफ दिनुपर्ने दायित्व प्रधानमन्त्रीकै रहेको उनले उल्लेख गरे।उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर पाँच सातादेखि संसद्मा प्रश्न उठ्दै आए पनि अहिलेसम्म स्पष्ट जवाफ नआएको भन्दै आवश्यक परे उक्त अभिव्यक्ति फिर्ता लिन, सच्याउन वा त्यसको आशय स्पष्ट पार्नुपर्ने बताए।
सांसद केसीले संसद्को गरिमा र भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउँदै संसद् प्रतिपक्षको मात्र नभई सभामुख, सत्तापक्ष र प्रतिपक्ष सबैको साझा संस्था भएको धारणा राखे।उनका अनुसार संसद् सरकार गठन गर्ने निकाय मात्र नभई सरकारलाई जवाफदेही बनाउने र आवश्यक निर्देशन दिने सर्वोच्च लोकतान्त्रिक संस्था भएकाले यसको भूमिकाको उपेक्षा हुनु गम्भीर विषय हो।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया