२४ घण्टामा दुई हजारभन्दा बढी सवारीचालक कारबाहीमा, १३ लाखभन्दा बढी राजस्व संकलन
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि निगरानी कडा बनाइएपछि पछिल्लो २४ घण्टामा दुई हजार ४२ जना चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा १३ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न स्थानमा गरिएको नियमित चेकजाँचका क्रममा सबैभन्दा बढी एक हजार २४९ जना चालक अन्य विविध ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा कारबाहीमा परेका हुन्।त्यसैगरी, तीव्र गतिमा सवारी चलाउने १७३ जना र लेन अनुशासन मिच्ने १२८ जना चालकलाई समेत ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ।
अनुमतिविना सञ्चालन भइरहेका राइड सेयरिङ सेवामाथिको निगरानीलाई तीव्र बनाउँदै नियमविपरीत यात्रु ओसारपसार गर्ने १२१ जना चालकलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको छ।यस्तै, ट्राफिक संकेत बत्तीको उल्लङ्घन गर्ने ८७ जना तथा निषेधित क्षेत्रमा अनावश्यक रूपमा हर्न बजाउने ८७ जना चालक पनि कारबाहीको सूचीमा परेका छन्।
फुटपाथमा अव्यवस्थित पार्किङ गर्ने ८५ जना, मादक पदार्थ सेवन गरेर सवारी चलाउने ५६ जना र एकतर्फी सडकमा सवारी गुडाउने अन्य ५६ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीको भनाइ छ।ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सुरक्षित, व्यवस्थित र अनुशासित यातायात प्रणाली कायम गर्न चेकजाँच तथा निगरानी अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया