एडिबी अध्यक्षले प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट्ने
काठमाडौं । एसियाली विकास बैंक (एडिबी) का अध्यक्ष मासातो कान्दा आगामी असार २२ र २३ गते नेपाल भ्रमणमा आउने भएका छन्। दुई दिने भ्रमणका क्रममा उनले नेपालमा एडिबीको लगानीमा सञ्चालन भइरहेका विभिन्न विकास परियोजनाको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ।
एडिबी अध्यक्षका रूपमा कान्दाको यो नेपाल भ्रमण सन् २०१४ पछि पहिलो हो। उनको भ्रमणलाई नेपाल–एडिबी सम्बन्ध तथा विकास साझेदारीलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
भ्रमण तालिकाअनुसार कान्दाले असार २२ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्नेछन् भने असार २३ गते प्रधानमन्त्री बालेन शाहसँग उच्चस्तरीय छलफल गर्ने कार्यक्रम तय भएको छ।
भेटवार्तामा नेपालमा एडिबीको लगानी विस्तार, पूर्वाधार विकास, ऊर्जा, यातायात, सहरी विकास तथा आर्थिक सहकार्यका विषयमा केन्द्रित छलफल हुने सरकारी स्रोतले जनाएको छ।
नेपालका विकास आयोजनामा एडिबी प्रमुख विकास साझेदारमध्ये एक हो। हाल बैंकले सडक, विद्युत्, खानेपानी, शिक्षा र सहरी पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्दै आएको छ।
एडिबी अध्यक्ष कान्दाको भ्रमणले नेपालमा जारी विकास आयोजनाको प्रगति समीक्षा गर्नुका साथै आगामी सहयोगका प्राथमिकता तय गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया