Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

दैलेख दुर्घटना : कर्णालीमा खसेको गाडी खोज्दै गोताखोर, मृतकको पहिचान खुल्यो


कर्णाली । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतडा (चिसापानी)मा बिहीबार भएको दुर्घटनामा परेको गाडी अझै नभेटिएपछि शुक्रबार बिहानैदेखि गोताखोर र सुरक्षाकर्मीको टोली कर्णाली नदीमा खटिएको छ ।

बिहान ८ः०० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी ११ः३० बजेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ दैलेखको साङ्गेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो । बिहीबार साँझ अबेरसम्म खोज्दा पनि गाडी भेटिएको थिएन ।

बिहीबार पाँच घण्टासम्म गोताखोरले खोजी गर्दा नभेटाएपछि आज पुनःखोजी गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिए।

उनले भने, “जलसतह मात्र बढेको छैन, नदीको बेग पनि त्यत्तिकै तीव्र छ । पानी धमिलो छ । घटनास्थलमा सिधै जाने ठाउँ छैन । अछाम जिल्लाबाट खोज्नुपरेको छ । अचेत अवस्थाम भिरमा अड्केका एक जना पुरुषको उद्धार गरी अस्पताल पु¥याउँदै गर्दा मृत्यु भएको छ । मृतकको ठेगाना खुल्न सकेको छैन ।”

खोजीका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना घटनास्थलमा परिचालन गरिएको छ ।

सुर्खेत बसपार्कबाट बिहान ८ः०० बजे गाडी छुट्दा तीन र दैलेखको डुङ्गेश्वरबाट दुई, चालक र सहचालक गरी अहिलेसम्म आधिकारिक सात व्यक्ति गाडीमा सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएका एक जनाको सनाखत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कालीकोटको पचालझरना गाउँपालिका–९ का जेखे तिरुवाको शव भीरमा अड्किएको अवस्थामा भेटिएको थियो ।

गाडी ४०० मिटर तल खसी कर्णाली नदीमा डुबेको स्थान प्रहरीचौकी दैलेखबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ रहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट