Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

रसुवागढी नाकाको मितेरी पुल सञ्चालनमा, चीनबाट फेरि भित्रिन थाले सामान


काठमाडौं । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका सवारीसाधन विहीबारदेखि केरूङतर्फ आवतजावत गर्न थालेका छन् ।

चिनियाँ प्राविधिकले परीक्षण सम्पन्न गरेपछि चार दिनपछि रसुवागढी नाकाको मितेरी पुलबाट सवारीसाधन सञ्चालन हुन थालेका छन् ।

नेपालको उत्तरी नाका रसुवागढीमा रहेको मितेरी पुलबाट आवागमन दुई दिनका लागि रोकिने भनिएकामा पुल परीक्षण गरी चार दिनपछि सञ्चालनमा ल्याइएको हो ।

गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले सिमेन्टको मेसिनरी पुल बगाएपछि तत्काल आवतजावतका लागि बेलीब्रिज निर्माण गरिएको थियो ।

उक्त बेलीब्रिज वर्षायामका लागि उपयुक्त छरछैन भन्ने परीक्षणका लागि चिनियाँ पक्षले सवारी सञ्चालनमा रोक लगाएको थियो । पुलको सफलतापूर्वक परीक्षण सम्पन्न गरी सवारीसाधन आवागमन हुन थालेको जनाइएको छ ।

पुलको परीक्षण गर्नुका साथै नटलाई पुनःकस्ने काम सम्पन्न गरेपछि सामान आयातका लागि २२ वटा कन्टेनरसहित साना तथा ठूला सवारीसाधन विहीबारदेखि नै केरूङ प्रस्थान गरेका छन् ।

चीनबाट स्याउ, सुन्तला, अङ्गुर, ड्राइगनफ्रुट बोकेका सानाठूला ३३ वटा सवारीसाधन नेपाल भित्रिएका छन्। पुलको क्षमतालाई मध्यनजर गर्दै १४ फिटभन्दा माथि उचाइ भएका सामान ल्याउने सवारीसाधन सञ्चालन गर्न नमिल्ने चिनियाँ प्राविधिकले बताएकाले सोहीअनुसार सचेत रहन जनाइएको छ ।

नेपाल र चीनतर्फका दुवै भागमा १४ फिट लामो डण्डी गाडिएको छ । सो डण्डीभन्दा अग्लो लोड गरी सामान ल्याउन वा लान नमिल्ने चिनियाँ प्राविधिकले सूचनामार्फ जानकारी दिएका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट