Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

नार्कद्वारा कृषि-मौसम सल्लाह बुलेटिन जारी: आगामी साता देशभर मनसुनी वायुको प्रभाव रहने


काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आगामी साताका लागि कृषकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै कृषि–मौसम सल्लाह बुलेटिन सार्वजनिक गरेको छ। जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा तयार गरिएको बुलेटिन असार १९ देखि २५ गतेसम्मका लागि लागू हुने जनाएको छ।

नार्क अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका अनुसार गत साताभर मनसुनी गतिविधि सक्रिय रहँदा देशका विभिन्न क्षेत्रमा उल्लेखनीय वर्षा भएको थियो। विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।सबैभन्दा धेरै वर्षा कोशी प्रदेशको सङ्खुवासभास्थित नुम केन्द्रमा ३२४ दशमलव ५ मिलिमिटर रेकर्ड भएको बुलेटिनमा उल्लेख छ। अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम पनि औसतभन्दा माथि रहेको जनाइएको छ।

आगामी साताभर देशभर मनसुनी प्रणालीको सामान्य प्रभाव कायम रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।पहाडी क्षेत्रमा मध्यम वर्षासहित साताको विभिन्न चरणमा भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। तराई क्षेत्रमा पनि विशेषगरी कोशी र मधेश प्रदेशका थोरै तथा अन्य प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।

नार्कले सम्भावित भारी वर्षालाई मध्यनजर गर्दै मकै, तरकारी, फलफूल बगैँचा तथा पशुचौपाया राखिने स्थानमा पानी जम्न नदिन उचित निकासको व्यवस्था गर्न कृषकहरूलाई सुझाव दिएको छ।फलफूल तथा तरकारी बालीमा विषादी प्रयोग गर्दा मौसमको अवस्था हेरेर मात्र प्रयोग गर्न र वर्षायाममा स्टिकर मिसाएर छर्कन आग्रह गरिएको छ। वर्षे धानको उत्पादन सुधारका लागि सिफारिस गरिएका उन्नत बीउलाई कार्बेन्डाजिमयुक्त विषादीले उपचार गरी मात्र ब्याड राख्न पनि सल्लाह दिइएको छ।

त्यस्तै, कोदोको ब्याड तयारी, फलफूलका बिरुवा रोपाइँ तथा सुन्तलाजात फलफूलमा लाग्ने रोग र कीरा नियन्त्रणका लागि आवश्यक जैविक तथा रासायनिक उपाय अवलम्बन गर्न बुलेटिनमा उल्लेख गरिएको छ।पशुपालन तथा मत्स्यपालन क्षेत्रमा पनि विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। वर्षायाममा पशुचौपायालाई हिलो र चिसोपनबाट जोगाउन तथा खुरसम्बन्धी रोग नियन्त्रण गर्न सुझाइएको छ। हाँस-कुखुरामा बर्ड फ्लु र सुँगुरमा अफ्रिकन स्वाइन फिभरको जोखिम बढ्ने भएकाले जैविक सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्न नार्कले आग्रह गरेको छ।

माछापालन गर्ने कृषकलाई पोखरीमा धमिलो पानी प्रवेश हुन नदिन, माछा बगेर जानबाट रोक्न निकासमा जाली प्रयोग गर्न तथा पानीको गुणस्तर सन्तुलनका लागि चूनको प्रयोग गर्न सुझाव दिइएको छ।

मौसमसम्बन्धी जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको टोल–फ्री नम्बर ११५५ तथा कृषि र पशुपालनसम्बन्धी परामर्शका लागि नार्कको निःशुल्क नम्बर ११३५ मा सम्पर्क गर्न सकिने जनाइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट