Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

नेपालीको पर्यटन खर्च ४ खर्ब ५९ अर्ब, स्वदेशमै ३ खर्ब ९५ अर्ब


काठमाडौं । नेपालीहरूले एक वर्षको अवधिमा आन्तरिक र बाह्य पर्यटनमा गरी कुल ४ खर्ब ५९ अर्ब रुपैयाँ खर्च गरेका छन्। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२ अनुसार कुल खर्चमध्ये ३ खर्ब ९५ अर्ब रुपैयाँ स्वदेशभित्रको यात्रामा तथा ६३ अर्ब ६४ करोड रुपैयाँ विदेश भ्रमणमा खर्च भएको हो।

विदेश भ्रमणतर्फ रात बिताउने यात्रामा ४७ अर्ब ९७ करोड रुपैयाँ र सोही दिन फर्किने यात्रामा १५ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको सर्वेक्षणले देखाएको छ।

भ्रमणको उद्देश्यअनुसार स्वास्थ्य उपचार सबैभन्दा ठूलो खर्च हुने क्षेत्र बनेको छ। कुल पर्यटन खर्चमध्ये ३१.७८ प्रतिशत स्वास्थ्य उपचारमा खर्च भएको छ। त्यसपछि किनमेलमा २६ प्रतिशत खर्च भएको देखिएको छ। साहसिक गतिविधिमा भने जम्मा ०.०४ प्रतिशत मात्र खर्च भएको छ भने स्वयंसेवा, बसाइँसराइ तथा अन्य प्रयोजनमा ०.८ प्रतिशत खर्च भएको छ।

यातायाततर्फ कुल खर्चको ६८.७ प्रतिशत सार्वजनिक सवारीसाधनमा भएको तथ्यांकले देखाएको छ, जसले आन्तरिक पर्यटनमा सार्वजनिक यातायात मुख्य माध्यम रहेको संकेत गर्छ। सर्वेक्षणअनुसार प्रति भ्रमण औसत खर्च ११ हजार ९२२ रुपैयाँ रहेको छ भने स्वास्थ्य उपचारसम्बन्धी यात्रामा प्रति भ्रमण औसत खर्च २३ हजार ५१६ रुपैयाँ पुगेको छ।

नेपालभर रहेका ६९ लाख १० हजार घरपरिवारमध्ये ३६ लाख २१ हजार (५२.४ प्रतिशत) ले अध्ययन अवधिमा कम्तीमा एक पटक पर्यटकीय गतिविधिमा सहभागिता जनाएको पाइएको छ। तीमध्ये ३३.३ प्रतिशतले वर्षमा एक पटक, ३२.२ प्रतिशतले दुई पटक र ३४.५ प्रतिशतले तीन वा सोभन्दा बढी पटक भ्रमण गरेका छन्। सर्वेक्षणले विशेषगरी जेनेरेसन अल्फा र जेनेरेसन जेड अन्य उमेर समूहको तुलनामा बढी यात्रा गर्ने गरेको देखाएको छ।

अर्कोतर्फ ३२ लाख ८९ हजार (४७.६ प्रतिशत) घरपरिवारले अध्ययन अवधिमा कुनै पनि प्रकारको पर्यटकीय भ्रमण नगरेको तथ्यांकमा उल्लेख छ।

आन्तरिक पर्यटनको उद्देश्य हेर्दा सोही दिन फर्किने यात्रामध्ये किनमेल (३२.६ प्रतिशत) प्रमुख रहेको छ भने स्वास्थ्य उपचार र आफन्त तथा साथीभाइ भेटघाटको हिस्सा समान २०.१ प्रतिशत रहेको छ। रात बिताउने यात्रामा भने ६५.५ प्रतिशत भ्रमण आफन्त तथा साथीभाइ भेटघाटकै लागि भएको देखिएको छ।

रात बिताउने आन्तरिक भ्रमणको औसत अवधि ५.३३ दिन रहेको छ भने एक पर्यटकले वर्षभरि औसत ४.८१ पटक यस्ता भ्रमण गर्ने गरेको पाइएको छ। प्रदेशगत रूपमा सुदूरपश्चिम र मधेश मा औसत बसाइ अवधि ८.१८ दिन रहेको छ भने गण्डकी प्रदेश मा वार्षिक औसत भ्रमण संख्या ६.२६ पटक रहेको छ।

गन्तव्यका हिसाबले काठमाडौं, चितवन र कास्की रात बिताउने आन्तरिक पर्यटनका प्रमुख जिल्ला बनेका छन्। मनोरञ्जन तथा बिदा मनाउन जाने यात्रुका लागि कास्की सबैभन्दा लोकप्रिय गन्तव्यका रूपमा देखिएको छ।

बाह्य पर्यटनतर्फ अध्ययन अवधिमा नेपालीहरूले २ लाख ९३ हजार सोही दिन फर्किने तथा ६ लाख २० हजार रात बिताउने विदेश भ्रमण गरेका छन्। सोही दिन फर्किने यात्राको प्रमुख उद्देश्य किनमेल (६३.९ प्रतिशत) रहेको छ भने रात बिताउने यात्रामा किनमेल (४०.३ प्रतिशत) र धार्मिक भ्रमण (१९.६ प्रतिशत) मुख्य उद्देश्य बनेका छन्। भारततर्फ हुने सोही दिन फर्किने यात्रामा कुल खर्चको ७०.७ प्रतिशत किनमेलमै खर्च भएको छ। यस्ता भ्रमण सबैभन्दा बढी मधेश प्रदेश बाट हुने गरेको सर्वेक्षणले देखाएको छ।

पर्यटन स्याटलाइट लेखाको ढाँचाअनुसार नेपालमा आन्तरिक पर्यटनबाट सिर्जित कुल पर्यटकीय उपभोग ४ खर्ब ७ अर्ब १७ करोड रुपैयाँ पुगेको अनुमान गरिएको छ। यसबाट ३ खर्ब ३१ अर्ब ८४ करोड रुपैयाँ बराबरको उत्पादन सिर्जना भएको तथा १ खर्ब ४४ अर्ब ४९ करोड रुपैयाँ पर्यटन मूल्य अभिवृद्धि भएको अनुमान छ।

सर्वेक्षणअनुसार आर्थिक वर्ष २०२४/२५ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा आन्तरिक पर्यटनको योगदान २.६५ प्रतिशत पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले पहिलोपटक राष्ट्रिय स्तरमा गरिएको यस विस्तृत सर्वेक्षणले नेपालमा आन्तरिक पर्यटनको व्यापकता, सामाजिक महत्त्व र अर्थतन्त्रमा यसको उल्लेखनीय योगदान पुष्टि गरेको जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट