प्रिमियम मूल्यमा आईपीओ जारी गर्दै ‘बाजेको सेकुवा’: साउन १ गते विशेष साधारण सभा आह्वान
काठमाडौं । चर्चित नेपाली रेष्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारीलाई अगाडि बढाएको छ।कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर अर्थात् १५ करोड रुपैयाँको सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रस्ताव अघि सारेको जनाएको छ। संस्थापक समूहका सेयरधनीका लागि समेत प्रिमियम मूल्यमा सेयर जारी गर्ने विषयमा छलफल भइरहेको कम्पनी स्रोतले जनाएको छ।
आईपीओ निष्कासनसम्बन्धी प्रस्तावलाई अनुमोदन गर्न कम्पनीले आगामी साउन १ गते विशेष साधारण सभा आह्वान गरेको छ। काठमाडौंको बत्तीसपुतलीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे बस्ने सभामा यससम्बन्धी निर्णय हुने जनाइएको छ।सभाले आईपीओ प्रक्रियासम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने एजेन्डा तय गरेको छ। यसअघि गत असोज २ गते सम्पन्न वार्षिक साधारण सभाले पनि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको थियो।कम्पनीले आवश्यक क्रेडिट रेटिङ प्रक्रिया पूरा गरिसकेको छ। केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी ट्रिपल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतालाई मध्यम स्तरको सुरक्षित श्रेणीमा राखेको संकेत गर्छ।
हाल कम्पनीको अधिकृत पूँजी एक अर्ब रुपैयाँ रहेको छ भने जारी पूँजी ७५ करोड रुपैयाँ कायम गरिएको छ। संस्थापकतर्फ ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले जनाएको छ।करीब पाँच दशकअघि सिनामंगलबाट सुरु भएको बाजेको सेकुवा नेपाली परम्परागत परिकार र सेकुवाका लागि परिचित ब्रान्डका रूपमा स्थापित भएको छ। हाल कम्पनीका नेपाल र विदेशमा गरी २९ वटा शाखा सञ्चालनमा छन् भने मेनुमा २०० भन्दा बढी परिकार समावेश छन्।
वि.सं. २०६६ कात्तिक २३ गते प्राइभेट लिमिटेड कम्पनीका रूपमा स्थापना भएको बाजेको सेकुवा २०८२ असार २५ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो।कम्पनीका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्म सञ्चालन आम्दानी करिब ३१ प्रतिशतले वृद्धि भई ३८ करोड ८० लाख रुपैयाँ पुगेको छ। नयाँ शाखा विस्तार, ब्रान्ड सुदृढीकरण र ग्राहकको बढ्दो आकर्षणका कारण व्यापार विस्तार भएको कम्पनीको दाबी छ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया