मदन भण्डारी मेमोरियल कलेजमा आजदेखि दुई दिवसीय ‘एमबीएमसी ह्याकफेस्ट’ शुरु
सोच, नवप्रवर्तन र निर्माण’ भन्ने मूल नाराका साथ मदन भण्डारी मेमोरियल कलेजले दुई दिवसीय ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ आयोजना गर्ने भएको छ।
कलेजले भदौ ६ र ७ गते आयोजना गरिरहेको उक्त कार्यक्रममा छओटा विकाससत्र, मेन्टरिङ (मार्गदर्शन) र अन्तिम निर्णायक चरणहरू समावेश गरिएको जनाएको छ।
आन्तरिक ह्याकाथनका रूपमा आयोजना हुने यस ह्याकफेस्टमा कलेजका विद्यार्थीहरूको सक्रिय सहभागिता रहने जनाइएको छ। कलेजको सभाहलमा आयोजना हुने कार्यक्रमको पहिलो दिन दर्ता, नियमावली र आचारसंहिताको जानकारीसहित ह्याकाथन औपचारिक रूपमा सुरु हुने विज्ञप्तिमा जनाइएको छ।
यस ह्याकाथनले विद्यार्थीहरूमा सहकार्य गर्ने, नयाँ परियोजना निर्माण गर्ने र निर्णायकसमक्ष आफ्ना प्रस्तुतीकरण राख्ने अवसर प्रदान गर्ने कलेज प्रमुख डा बाबुराम अधिकारीले जानकारी दिए।




