काठमाडौँमै खर्दारी अड्डाको कन्तविजोग : ‘पढ्न भ्याइन्न, पढेर पनि जानिन्न’ हाकिम
डिल्ली भट्टराई
जेनजी आन्दोलनपछि राज्यका कार्यालयको पुरानो कार्यशैलीमाथि प्रश्न उठिरहेका बेला भूमि प्रशासनका कार्यालयको अवस्था पनि बदलिएको देखिन्छ । कुनै समय कर्मचारीका लागि आकर्षक मानिने काठमाडौँ उपत्यकाका मालपोत र नापी कार्यालय अहिले कर्मचारी अभाव, अनुभवी जनशक्तिको सरुवा, नेतृत्वको अस्थिरता, जलेका स्रेस्ता र थुप्रिँदै गएका जटिल फाइलले थलिएका छन् । कलंकीदेखि लगनखेल, मनमैजुदेखि चावहिलसम्मको स्थलगत अवस्थाले एउटा साझा तस्वीर देखाउँछ, हाकिम फेरिएका छन्, कर्मचारी फेरिएका छन् तर समस्या फेरिएको छैन । आन्दोलनले पुरानो संरचनामाथि धक्का दिए पनि त्यसपछि सेवा प्रवाह झन् कमजोर बनेको गुनासो छ । नागरिकको घर, जग्गा र स्वामित्वसँग जोडिएको भूमि प्रशासनमा सुधारको बहस अब सरुवा र पदस्थापनभन्दा माथि उठाउनुपर्ने देखिन्छ ।
काठमाडौँ उपत्यकाका भूमि प्रशासन कार्यालय कुनै समय कर्मचारीका लागि आकर्षक कार्यस्थल मानिन्थे । मालपोत र नापी कार्यालयमा सरुवा हुन कर्मचारीबीच तँछाडमछाड हुने गरेको कर्मचारीवृत्तमै चर्चा हुन्थ्यो । अहिले भने काठमाडौँकै कतिपय भूमि प्रशासन कार्यालय कर्मचारी अभाव, अनुभवी जनशक्तिको सरुवा, कार्यालय प्रमुखको अस्थिरता र सेवाग्राहीको गुनासोले थलिएका छन् ।
भूमि प्रशासन कार्यालय नागरिकको जग्गा, स्वामित्व र सम्पत्तिसँग प्रत्यक्ष जोडिएको निकाय हो । यहाँको एउटा निर्णयले वर्षौँदेखिको विवाद समाधान गर्न सक्छ । एउटा त्रुटिले नयाँ विवाद जन्माउन सक्छ । तर काठमाडौँकै कतिपय कार्यालयमा अहिले निर्णय गर्ने, जटिल फाइल टुंग्याउने र सेवाग्राहीलाई सहज सेवा दिने विषयमै समस्या देखिन्छ ।
कलंकीमा पुग्दा : सेवाग्राही आए, हाकिम मोबाइलमै
दिउँसो करिब २ बजेको थियो । कलंकीस्थित भूमि प्रशासन कार्यालयमा सेवाग्राही आउने–जाने क्रम चलिरहेको थियो । बाहिरबाट कार्यालयको वातावरण सामान्य देखिन्थ्यो । प्रमुख भूमि प्रशासन अधिकृत युवराज अर्यालको कार्यकक्षमा पुग्दा उनी कुराकानीमा थिए । परिचयपछि कार्यालयको कामकारबाही र भूमि प्रशासनका विषयमा कुराकानी सुरु भयो ।
त्यसैबीच एक सेवाग्राही कार्यकक्षमा आए । उनको समस्या मोहीसम्बन्धी जग्गाको विषयमा थियो । सेवाग्राहीले आफ्नो कुरा राख्न नपाउँदै अर्यालले सम्बन्धित कर्मचारीतर्फ देखाउँदै त्यहीँ पठाए । त्यसपछि अर्याल मोबाइलमा व्यस्त भए ।
मोबाइलमा भइरहेको कुराकानी कार्यालयको कामसँग सम्बन्धित जस्तो देखिएन । पत्रकारसँगको कुराकानीभन्दा मोबाइलको संवादमै उनको ध्यान बढी केन्द्रित थियो । कार्यालयमा त्यतिबेला ठूलो भीड पनि थिएन । तर कार्यालय प्रमुखसँग प्रत्यक्ष कुराकानी गरेर कार्यालयको अवस्था बुझ्ने वातावरण सहज देखिएन ।
अर्यालले आफ्नो जग्गा प्रशासनसम्बन्धी अनुभवबारे भने, “म जग्गा प्रशासनका विषयमा कमै जानकार छु । मन्त्रीज्यूले जा भन्नुभयो । मलाई खासै रुचि पनि थिएन । आइहालियो । अब कसरी कार्यालय चलाउने भन्ने चिन्ता छ हजुर ।”
उनको भनाइले नै कार्यालय प्रमुखको जिम्मेवारी र सम्बन्धित क्षेत्रको अनुभवबीचको सम्बन्धबारे प्रश्न उठाएको छ ।
कहिले ‘स्मार्ट’, अहिले पुनर्निर्माणमै अल्झिएको
देवीबहादुर भण्डारी प्रमुख मालपोत अधिकृत रहेका बेला कलंकीको कार्यालयलाई ‘स्मार्ट कार्यालय’का रूपमा चर्चा गरिन्थ्यो । जग्गाको कारोबार उच्च थियो । दैनिक दुई सयभन्दा बढी लिखत पास हुने गरेको कर्मचारीहरू बताउँछन् ।
लेखापढी व्यवसायीलाई कामको चाप थेग्न भ्याइनभ्याइ हुन्थ्यो । कोभिडभन्दा अघिको त्यो समयमा कलंकीको मालपोत कार्यालयमा सेवाग्राहीको चाप निकै बढी थियो । अहिले अवस्था फरक छ ।
कार्यालय परिसरमा भेटिएका एक सेवाग्राहीले भने, “खै हजुर, हाकिम त आएका छन् । तर बोल्दैनन्, काम पनि गर्दैनन् । यिनका बारेमा धेरै टिप्पणी पनि के गर्नु खै ?”
गत वर्ष प्रमुख मालपोत अधिकृत पूर्णबहादुर केसी हुँदा पुराना र वर्षौँदेखि अल्झिएका फाइल टुंग्याउने प्रयास भएको कर्मचारीहरू बताउँछन् ।
केसीको भनाइ थियो, “हाकिम त धेरै आए, गए । तर कोही पनि जोखिम मोल्न चाहँदा रहेनछन् । वर्षौँदेखि अड्किएका फाइल राखेर पनि काम छैन । सेवाग्राही अदालत जान्छन् । हुने भए गर्छन्, नहुने भए फर्कन्छन् । मैले आँट र हिम्मतका साथ काम गर्दै आएको छु ।”
केसीपछि रविन ढकाल प्रमुख मालपोत अधिकृत भएर आए । उनले पनि कार्यालय सुधारको प्रयास थाले । तर त्यसैबीच आन्दोलनका क्रममा मालपोत र नापी कार्यालयमा आगजनी र तोडफोड भयो ।
कार्यालयको पहिलो र दोस्रो तल्ला क्षतिग्रस्त भए । पुनर्निर्माणको काम अझै पूर्ण रूपमा सकिएको छैन । परिसरमा निर्माण सामग्री असरल्ल देखिन्छ । कतिपय स्रेस्ता जलेर नष्ट भएका छन् । पुनः स्रेस्ता तयार गर्ने काममै लामो समय खर्च भएको कर्मचारीहरू बताउँछन् ।
ढकाललाई पछि समस्याग्रस्त सहकारीसम्बन्धी जिम्मेवारीमा पठाइयो । त्यसपछि कार्यालय केही समय निमित्तको भरमा चल्यो ।
कलंकीमा अहिले हदबन्दीभन्दा बढीका जग्गासम्बन्धी समस्या, एउटै जग्गामा पटकपटक विवाद, अदालतका परमादेश, पुराना फाइल र कर्मचारीको सरुवा लगायतका विषय एकैपटक देखिएका छन् ।
लगनखेलमा कर्मचारी अभाव
ललितपुरको लगनखेलस्थित भूमि प्रशासन कार्यालयको अवस्था पनि फरक छैन ।
दुई वर्षको अवधिमा विभिन्न कार्यालयमा सरुवा हुँदै आएका प्रमुख भूमि प्रशासन अधिकृत छविलाल नेपालीले कर्मचारी अभावकै कारण काम गर्न कठिन भएको बताए ।
उनका अनुसार कार्यालयका केही कर्मचारी निलम्बनमा परेका छन् भने केहीलाई सरुवा गरिएको छ ।
नेपालीले भने, “छजनाभन्दा बढी निलम्बनमा परेका छन् । कर्मचारीको अभाव छ कार्यालयमा । फेरि सरुवा थपियो । अधिकृतहरू पनि कोही बिरामी, कोही घरकाजमा छन् । काम गर्न साह्रै गाह्रो भइरहेको छ । बेक्कारमा काठमाडौँ आइएछ हजुर । काम गर्न गाह्रो भएर म पनि सरुवा मागिरहेको छु ।”
लगनखेल कार्यालयमा विगतमा दैनिक सयौँ लिखत पास हुने गरेको कर्मचारीहरू बताउँछन् । विसं २०७२/७३ तिर नारायणप्रसाद आचार्य प्रमुख हुँदा दैनिक चार सयभन्दा बढी लिखत पास भएको उनीहरूको भनाइ छ ।
त्यतिबेला कार्यालयमा इजलाससमेत सञ्चालन गरिएको थियो । सेवाग्राहीको काम तत्काल गर्ने अभ्यास थियो ।
अहिले भने कर्मचारी अभावले सेवा प्रवाह प्रभावित भएको गुनासो छ ।
यस क्षेत्रसँग जोडिएको नापी कार्यालय लगनखेलमा पनि सेवाग्राहीको गुनासो सुनिन्छ । प्रमुख नापी अधिकृत अजित कुँवरको व्यवहारप्रति सेवाग्राही असन्तुष्ट रहेको एक सेवाग्राहीले बताए ।
मनमैजुुमा हाकिम नै छैनन्
काठमाडौँको मनमैजुस्थित भूमि प्रशासन कार्यालयको अवस्था अझ रोचक छ ।
साउनको दोस्रो सातामा प्रमुखका रूपमा सरुवा भएकी निर्मला न्यौपाने अहिलेसम्म कार्यालयमा हाजिर हुन नआएको कर्मचारीहरूले बताएका छन् ।
कार्यालय अहिले निमित्त प्रमुख ठाकुर बरालको भरमा छ ।
बरालका अनुसार कार्यालयको कार्यक्षेत्र तुलनात्मक रूपमा सानो छ । घरजग्गा कारोबारमा आएको मन्दी र कर्मचारीको फेरबदलका कारण कार्यालयमा सेवाग्राहीको चाप पनि घटेको छ ।
उनले भने, “कार्य क्षेत्र सानो छ । घरजग्गाको कारोबारमा आएको मन्दी र कर्मचारीको हेरफेरले पनि अहिले यहाँ सुनसान छ ।”
दुई वर्षभन्दा बढी समय नरेन्द्र पौडेलले कार्यालयको नेतृत्व गरेका थिए । त्यसपछि महेश अधिकारीलाई प्रमुख मालपोत अधिकृतका रूपमा पठाइयो । तर केही महिनामै उनलाई कालीकोट सरुवा गरियो ।
जग्गा प्रशासनको अनुभव भएका कर्मचारी लामो समय कार्यालयमा नरहनु पनि अहिलेको अवस्थाको एउटा कारणका रूपमा कर्मचारीहरूले लिएका छन् ।
चावहिलमा ‘काम कुरा एकातिर’
भूमि प्रशासन कार्यालय चावहिलमा पनि कर्मचारी सरुवा र पदस्थापनको असर देखिन्छ ।
जग्गा प्रशासनको अनुभव भएका नायव सुब्बा र खरिदारलाई अन्यत्र सरुवा गरिएको कर्मचारीहरू बताउँछन् । उनीहरूको ठाउँमा आएका कर्मचारीलाई कार्यालयको जटिल प्रकृतिका फाइल बुझ्न समय लागिरहेको छ ।
प्रमुख भूमि प्रशासन अधिकृत भोजराज श्रेष्ठ जटिल फाइलमा निर्णय गर्न हिच्किचाउने गरेको एक कर्मचारीले बताए ।
एक नायव सुब्बाले भने, “यस्ता हाकिम भएर काम गर्नै सकिएन । डर मानेर पनि हुन्छ ? जनताको काम कुनै उपायले गरिदिनुपर्यो नि । मुद्दा खेप्नुपर्छ, जेल गइन्छ भनेर उम्किन्छन् । यहाँ त्यस्ता सयौँ फाइल छन् । सेवाग्राहीले कहिले न्याय पाउने ? निर्णय गरिदिए उनीहरू अदालत जान्छन् नि ।”
यस कार्यालयका निवर्तमान प्रमुख मालपोत अधिकृत दिपेन्द्रकुमार खत्रीले कार्यालय भवन सार्न महत्वपूर्ण भूमिका खेलेका थिए । नयाँ भवनमा मालपोत र नापी कार्यालयका लागि स्थान व्यवस्थापन हुँदा राज्यको मासिक लाखौँ रुपैयाँ बचत भएको कर्मचारीहरू बताउँछन् ।
तर कार्यालय भवन निर्माणसँग जोडिएको रकमसम्बन्धी दायित्व अझै बाँकी रहेको बताइन्छ ।
खत्रीको सरुवापछि कार्यालयको काममा पनि प्रभाव परेको कर्मचारीहरूको भनाइ छ ।
भूमि प्रशासनमा बिचौलियाको पुरानो छाया
भूमि प्रशासनका कार्यालयमा बिचौलियाको प्रभावबारे लामो समयदेखि चर्चा हुँदै आएको छ ।
एकातिर बाहिरबाट आउने बिचौलिया । अर्कोतिर कार्यालयभित्रै कर्मचारीसँग सम्बन्ध बनाएका व्यक्ति । कतिपय कर्मचारी कुनै न कुनै समूहसँग नजिक रहेको चर्चा कर्मचारीवृत्तमा हुने गरेको छ ।
काठमाडौँका कार्यालयमा सरुवा हुन कर्मचारीले रकम खर्च गर्ने गरेको आरोप पनि सुनिन्छ ।
एक पूर्व कार्यालय प्रमुखले नाम नबताउने सर्तमा भने, “काठमाडौँ आउन कर्मचारीले पैसा खर्च गरेका थिए । दिनेले दिए । खानेले खाए । तर कसले कति दियो र कसले कति लियो भन्ने पत्ता लगाउन सजिलो छैन ।”
भूमि मन्त्रालयका एक पूर्व सचिवले पनि बिचौलियाका कारण कर्मचारी प्रशासन प्रभावित हुने गरेको बताएका थिए ।
भूमि प्रशासन कार्यालय भक्तपुरका भूमि प्रशासन अधिकृत पूर्णबहादुर खड्काले आर्थिक लेनदेनबारे गरेको टिप्पणी पनि यसै सन्दर्भमा उल्लेखनीय छ ।
उनले भनेका थिए, “खान्छन् हजुर, पैसा मज्जैले खान्छन् । कसले कति खान्छ भन्ने पुष्टि गर्न गाह्रो छ । तर पैसा नखुवाई काठमाडौँमा बस्नै सकिन्न ।”
यो भनाइको स्वतन्त्र पुष्टि आवश्यक छ । तर सरकारी कार्यालयका जिम्मेवार कर्मचारीबाट आएको यस्तो टिप्पणीले भूमि प्रशासनमा हुने आर्थिक लेनदेनबारे गम्भीर प्रश्न उठाउँछ ।
अनुभवी हटाएर नयाँ कर्मचारी ल्याउँदा समस्या
भूमि प्रशासन कार्यालयहरू अर्धन्यायिक प्रकृतिका निकाय हुन् । यहाँ जग्गा, स्वामित्व, मोही, हदबन्दी, स्रेस्ता र अदालतका आदेशसँग सम्बन्धित जटिल फाइल आउँछन् ।
यस्ता फाइल बुझ्न कानुनी ज्ञानसँगै लामो समयको व्यवहारिक अनुभव पनि आवश्यक हुन्छ ।
तर पछिल्लो समय अनुभवी कर्मचारीलाई अन्यत्र सरुवा गरेर नयाँ कर्मचारी पठाउने प्रवृत्ति बढेको कर्मचारीहरूको गुनासो छ ।
नयाँ शाखा अधिकृतहरूका लागि भूमि प्रशासन नयाँ क्षेत्र भएकाले उनीहरू स्वयं पनि सिकिरहेको बताउँछन् ।
एक नयाँ कर्मचारीले भने, “हामी सिक्दैछौँ । काम गर्दै सिक्ने हो ।”
समस्या भनेको कर्मचारीले काम सिकिसकेपछि पुनः सरुवा हुने अवस्था हो ।
यसले कार्यालयमा संस्थागत ज्ञान विकास हुन नदिने कर्मचारीहरू बताउँछन् ।
भूमि प्रशासन कार्यालय भक्तपुरमा प्रशासनिक अनुभव भएका अर्जुन राई प्रमुख छन् । तर जग्गा प्रशासनको जटिल विषयमा अनुभव कम भएकाले कतिपय सेवाग्राहीका काम प्रभावित भएको गुनासो छ ।
टोखा, डिल्लीबजार र साँखुजस्ता कार्यालयमा भने जग्गा प्रशासन बुझेका प्रमुखहरूले अनुभवका आधारमा काम अघि बढाइरहेको कर्मचारीहरूको भनाइ छ ।
नापी र भूमि प्रशासनबीच फरक प्रकृतिको समस्या
भूमि प्रशासनका कर्मचारीमाथि भ्रष्टाचारको आरोप लागिरहँदा नापी कार्यालयका समस्या भने तुलनात्मक रूपमा कम सार्वजनिक हुने गरेको कर्मचारीहरू बताउँछन् ।
नापीको काम प्राविधिक प्रकृतिको भएकाले बाहिरबाट त्यसको मूल्यांकन गर्न कठिन हुन्छ ।
एक कर्मचारीले भने, “सर्भेयर वा अमिनले फिल्डमा गर्ने कामबारे बाहिरबाट धेरैलाई जानकारी हुँदैन । त्यसैले गुनासो पनि कम सार्वजनिक हुन्छ ।”
नापी कार्यालयका कर्मचारीले सेवाग्राहीसँग अतिरिक्त रकम मागेको आरोप पनि समय–समयमा लाग्ने गरेको छ । यस्ता आरोपको स्वतन्त्र छानबिन आवश्यक हुन्छ ।
यस कारण भूमि प्रशासनका कर्मचारीलाई मात्र भ्रष्टाचारको मुख्य स्रोतका रूपमा हेर्नुभन्दा दुवै निकायको काम, प्रक्रिया र गुनासोको तथ्यांकका आधारमा मूल्यांकन गर्नुपर्ने देखिन्छ ।
विभागको भूमिका कहाँ छ ?
भूमि व्यवस्थापन तथा अभिलेख विभागको भूमिका कार्यालय सुधारमा प्रभावकारी नभएको कर्मचारीहरूको गुनासो छ ।
विभागमा विगतदेखि नै भूमि प्रशासन बुझेका महानिर्देशकहरू आउने गरेका छन् । तर कार्यालय सुधार, कर्मचारी व्यवस्थापन र जटिल फाइल समाधानमा विभागले प्रत्यक्ष पहल गर्न नसकेको कर्मचारीहरू बताउँछन् ।
पूर्व महानिर्देशक शेषनारायण पौडेलले कार्यालय सुधारमा कर्मचारीसँग दूरी कायम राखेर काम गर्नुपर्ने धारणा राखेका थिए ।
उनको भनाइ थियो, “असल प्रशासक बन्न कर्मचारीसँग दूरी कायम गर्नैपर्छ ।”
वर्तमान महानिर्देशक योगेन्द्रप्रसाद दुलालको कार्यशैलीबारे एक भूमि प्रशासन अधिकृतले भने, “मान्छे स्मार्ट देखिन्छन् । तर सोअनुसार काम गराइमा स्मार्ट छैनन् । कार्यालय भ्रमण गर्नुपर्यो । हाम्रा समस्या मन्त्रालय लैजानुपर्यो । कुरा गरेर मात्रै हुन्छ ?”
लगनखेल कार्यालयका प्रमुख छविलाल नेपालीले पनि कर्मचारी अभावको विषय विभागमा जानकारी गराएको बताए । तर त्यसपछि पनि कर्मचारी व्यवस्थापन हुन नसकेको उनको भनाइ छ ।
एक हप्ताको अवधिमा गरिएको स्थलगत अवलोकनमा कार्यालयका आधाभन्दा बढी कर्मचारी अनुपस्थित रहेको कर्मचारीहरूले बताएका छन् ।
विभागमा कर्मचारी सरुवाको चाप
विभागका कर्मचारीको ठूलो समय सरुवा सूची बनाउने र कार्यान्वयनमा बित्ने गरेको गुनासो छ ।
कुन कर्मचारीलाई कहाँ पठाउने भन्ने निर्णयमा कार्यालयको आवश्यकताभन्दा अन्य प्रभाव हाबी हुने गरेको आरोप पनि लाग्ने गरेको छ ।
कतिपय कर्मचारीलाई काठमाडौँ ल्याउने र कतिपयलाई लामो समयसम्म बाहिर राख्ने विषयमा समान मापदण्ड लागू नभएको गुनासो छ ।
सरुवासँग जोडिएका आर्थिक लेनदेनका आरोप पनि कर्मचारीवृत्तमा सुनिन्छन् । यस्ता आरोपको पुष्टि भने सम्बन्धित निकायको छानबिन र अभिलेखबाट हुनुपर्छ ।
छुट जग्गा दर्तादेखि पुराना स्रेस्तासम्म समस्या
भूमि प्रशासनका समस्या काठमाडौँमा मात्र हाेइन ।
सरकारले छुट जग्गा दर्ता खुलाएपछि विभिन्न जिल्लाका भूमि प्रशासन कार्यालयमा आवेदनको चाप बढेको छ । कतिपय कार्यालयमा पुराना स्रेस्ता छैनन् । कतिपय कार्यालय साविक कार्यालयबाट फुटेर नयाँ बनेका छन् । तर आवश्यक कागजात हस्तान्तरण नहुँदा काम प्रभावित भएको गुनासो छ ।
बुर्तिबाङ, सोताङ, शिखरकोट, मौलापुर, गरुडा, बर्दिबास, गौशाला, ढल्केबर, सिम्रौनगढ, बाँडगंगा, चन्द्रौटा र सिँजाजस्ता कार्यालयमा साविकका कार्यालयबाट आवश्यक कागजात प्राप्त नहुँदा समस्या भएको कर्मचारीहरूले बताएका छन् ।
अछाममा द्वन्द्वका क्रममा कार्यालय जलेर ध्वस्त भएको थियो । सिन्धुपाल्चोकमा भूकम्पका कारण क्षतिग्रस्त कागजात अझै व्यवस्थापनको चुनौती बनेका छन् ।
दोलखामा १६ सयभन्दा बढी छुट जग्गा दर्ताका निवेदन परेको कर्मचारीहरू बताउँछन् । त्यहाँ पनि जटिल फाइल टुंग्याउन अनुभवी जनशक्तिको आवश्यकता देखिएको छ ।
रामेछापलगायत पहाडी र हिमाली जिल्लाका कार्यालयमा पनि कर्मचारी अभाव र जटिल जग्गा विवादको चाप रहेको बताइन्छ ।
काठमाडौँदेखि जिल्लासम्म एउटै समस्या
झापाको भद्रपुर, दमक, जनकपुर, लहान र दाङका कतिपय कार्यालयमा प्रमुख नहुँदा निमित्तका भरमा कार्यालय सञ्चालन भइरहेको कर्मचारीहरू बताउँछन् ।
प्रमुखविहीन कार्यालयमा निर्णय क्षमता कमजोर हुने र जटिल फाइल लामो समयसम्म अड्किने समस्या देखिन्छ ।
भूमि प्रशासनका कतिपय कार्यालयमा अनुभवी कर्मचारी छैनन् । कतिपयमा कर्मचारी छन्, तर प्रमुख छैनन् । कतिपयमा प्रमुख छन् तर सम्बन्धित क्षेत्रको अनुभव कम छ । कतिपयमा अनुभवी कर्मचारी सरुवा भएका छन्, नयाँ कर्मचारी सिक्ने क्रममा छन् ।
यसको प्रत्यक्ष असर सेवाग्राहीमाथि परेको देखिन्छ ।
भूमि प्रशासन कार्यालयमा आउने नागरिकका लागि फाइल भनेको केवल एउटा कागज होइन । त्यो उनीहरूको घर, जग्गा, स्वामित्व र वर्षौँको सम्पत्तिसँग जोडिएको विषय हो ।
त्यसैले कार्यालय सुधारको पहिलो शर्त कर्मचारी व्यवस्थापन, दोस्रो शर्त संस्थागत अनुभवको संरक्षण र तेस्रो शर्त निर्णय प्रक्रियामा स्पष्ट जवाफदेहिता हो ।
काठमाडौँकै खर्दारी अड्डामा अहिले देखिएको समस्या कर्मचारी फेरबदलले मात्र समाधान हुने देखिँदैन । कार्यालयको वास्तविक समस्या पहिचान, जटिल फाइलको वर्गीकरण, अनुभवी जनशक्तिको उपयोग, कर्मचारी अभाव पूर्ति, डिजिटल अभिलेख व्यवस्थापन र सेवाग्राहीको गुनासोको स्वतन्त्र परीक्षण आवश्यक देखिन्छ ।
भूमि प्रशासनजस्तो संवेदनशील र अर्धन्यायिक निकायमा हाकिम फेरिँदैमा मात्र कार्यालय सुध्रिँदैन । निर्णय गर्ने जिम्मेवारी, त्यसको जवाफदेहिता र संस्थागत ज्ञान एउटै प्रणालीमा जोडिएपछि मात्र सेवाग्राहीले त्यसको परिणाम पाउनेछन् ।
सम्बन्धित समाचार
एकै दिन उपत्यकामा ७९२ सवारीसाधनमाथि ट्राफिकको एक्सन, कुन कसुरमा कति परे?
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७९२ वटा सवारीसाधन तथा चालकमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक...
यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका...
पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन : बादल
काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको परिणाम स्वीकार गरे पनि एमालेले राजनीतिक रूपमा...
चर्चा र विवादकै पर्याय बन्यो चितवनका सिडिओ गणेश अर्यालको नाम !
काठमाडौं । चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका दुइटा भिडियो सामाजिक संजालमा भाइरल भएसंगै विवादित पनि बनेको छ । यसको पछिल्लो कारण हो...




