फोरजी सुदृढीकरणपछि मात्रै फाइभजी विस्तार गरिने, सरकारको प्राथमिकतामा दूरसञ्चार सुधार
काठमाडौं । सरकारले देशभर फाइभजी सेवा विस्तारअघि हाल सञ्चालनमा रहेको फोरजी सेवालाई थप गुणस्तरीय, प्रभावकारी र पहुँचयोग्य बनाउने रणनीति अघि सारेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले फोरजी सेवा सुदृढीकरणपछि मात्रै क्रमिक रूपमा फाइभजी विस्तार गरिने बताएका छन्।
मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्र सुधार सरकारको प्रमुख प्राथमिकतामा रहेको भन्दै फोरजी सेवाको गुणस्तर सुधार, पहुँच विस्तार तथा आवश्यक पूर्वाधार विकासमा सरकार केन्द्रित रहेको जानकारी दिए।
उनले तत्काल फोरजीलाई विस्थापित गरेर फाइभजीमा जाने अवस्था नरहेको स्पष्ट पार्दै आवश्यक फ्रिक्वेन्सी निर्धारण र वितरणको तयारी भइरहेको बताए। साथै, दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढाउन तेस्रो मोबाइल सेवा प्रदायक आवश्यक छ वा छैन भन्ने विषयमा समेत अध्ययन भइरहेको जानकारी दिए।
मन्त्री तिमिल्सिनाले नेपाल टेलिकमलाई थप सुदृढ बनाउने, दूरसञ्चार पूर्वाधारलाई जनहितमा उपयोग गर्ने तथा समग्र प्रणालीलाई मजबुत बनाउने नीति सरकारले लिएको बताए। नेपाल टेलिकमको बिलिङ प्रणाली तथा सेवा व्यवस्थापनसँग सम्बन्धित समस्यामा सरकार गम्भीर रहेको उल्लेख गर्दै पारदर्शी र विधिसम्मत समाधान खोजिने बताए।
डिजिटल पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको उल्लेख गर्दै उनले नेपाललाई क्षेत्रीय डेटा सेन्टर हबका रूपमा विकास गर्ने सम्भावनाबारे अध्ययन भइरहेको जानकारी दिए। विदेशी लगानी आकर्षित गर्ने तथा बहुराष्ट्रिय कम्पनीहरूको चासोलाई समेत मूल्याङ्कन गरिरहेको उनको भनाइ छ।
पत्रकारिताको भूमिकाबारे बोल्दै मन्त्री तिमिल्सिनाले लोकतन्त्रका लागि स्वतन्त्र, जिम्मेवार र व्यावसायिक पत्रकारिता अपरिहार्य रहेको बताए। सञ्चारमाध्यमको दिगोपन, विज्ञापन वितरण प्रणाली तथा पत्रकारहरूको हितका विषयमा पनि सरकारले नीतिगत सुधारको तयारी गरिरहेको उनले जानकारी दिए।
सरकारले दूरसञ्चार, डिजिटल पूर्वाधार र सञ्चार क्षेत्रलाई आधुनिक तथा प्रतिस्पर्धी बनाउने लक्ष्यसहित सुधारका कार्यक्रम अघि बढाइरहेको जनाएको छ। फोरजी सेवा सुदृढीकरणलाई आधार बनाएर आगामी चरणमा फाइभजी विस्तार गरिने सरकारको स्पष्ट रणनीति रहेको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया