Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

भारतीय अवरोध हटेपछि नेपाली चिया निकासी मंगलबारदेखि पुनः सुरु


काठमाडौं । भारतले चिया आयातसम्बन्धी नयाँ परीक्षण मापदण्ड (एसओपी) लागू गरेपछि झन्डै दुई महिनादेखि रोकिएको नेपाली चिया निकासी मंगलबारदेखि पुनः सुरु भएको छ।

मंगलबार अर्थोडक्स चिया बोकेका दुई ट्रक काँकरभिट्टा भन्सार हुँदै भारतको पानीट्याङ्की भन्सार पुगेका छन्। त्यहाँ भारतीय भन्सारले आवश्यक जाँच प्रक्रिया पूरा गरी चिया अगाडि बढाएको छ।

इलामका समल भ्याली र इलाम टी उद्योगका एक–एक ट्रक चिया निकासी भएसँगै निर्यात पुनः सुरु भएको जनाइएको छ। निकासी रोकिँदा इलामका उद्योगमा करिब १२ लाख किलो अर्थोडक्स चिया थन्किएको थियो।

भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले २३ जुनमा जारी गरेको पत्रअनुसार अब चिया आयातमा जोखिममा आधारित परीक्षण प्रणाली लागू गरिएको छ। जसअनुसार आयात हुने प्रत्येक पाँच ट्रकमध्ये एक ट्रक (२० प्रतिशत) चियाको नमुना परीक्षण अनिवार्य गरिने व्यवस्था गरिएको छ।

यसअन्तर्गत कोलकातास्थित प्रयोगशालामा परीक्षण गरिनेछ। पानीट्याङ्की भन्सार नाकामा प्रयोगशाला सुविधा नभएकाले नमुना त्यहाँबाट कोलकाता पठाउनुपर्ने व्यवस्था छ।

गत वैशाख १८ देखि भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ ९एसओपी० लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि २१ दिनसम्म निर्यात ठप्प भएको थियो । त्यसको विरोधपछि भारतीय पक्षले प्रत्येक ट्रकको परीक्षण नगरी ‘र्‍यान्डम स्याम्पलिङ’ मात्र गर्ने लिखित जानकारी दिएपछि दुई दिन पुनः निर्यात भएको थियो । तर, भारतीय पक्षले निर्यातकर्ताको गोदाममै पुगेर गुणस्तर परीक्षणका नाममा नमुना संकलन गर्दै परीक्षण रिपोर्ट नआएसम्म चिया गोदामबाट बाहिर ननिकाल्न आदेश दिएपछि चिया निकासी पूर्ण रूपमा ठप्प भएसँगै इलामका ६५ अर्थोडक्स र झापाका ३० वटा सिटीसी चिया उद्योग असार १ गतेदेखि बन्द भएका थिए ।

नेपालमा वार्षिक करिब ६५ लाख किलो अर्थोडक्स र २ करोड किलो सिटीसी चिया उत्पादन हुन्छ। उत्पादनको करिब ९० प्रतिशत बजार भारतमै निर्भर रहेको छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट