Techie IT
KTM Post
सोमबार, १८ जेठ, २०८३

विधि र संस्थागत अभ्यास तोडेको भन्दै सिन्धुलीका माओवादी केन्द्रका नेताहरूको सामूहिक पार्टी परित्याग


काठमाडौं । साविक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र हाल नेपाली कम्युनिस्ट पार्टी सिन्धुलीका एक दर्जन जति नेता तथा कार्यकर्ताले पार्टीभित्र विधि, प्रक्रिया र संस्थागत अभ्यास कमजोर बनाइएको बताउँदै सामूहिक रूपमा पार्टी परित्याग गरेका छन् । उनीहरूले सोमबार सार्वजनिक वक्तव्य जारी गर्दै पार्टी नेतृत्वले विभाजनकारी गतिविधिलाई संरक्षण दिएको, इमानदार कार्यकर्तालाई निराश बनाएको तथा केन्द्रीय हस्तक्षेपमार्फत जबर्जस्ती निर्णय थोपर्ने काम गरेको बताएका हुन् ।

पार्टी परित्यागको घोषणा गर्नेहरूमा प्रदेश समिति सदस्यहरू केशव लोहनी ‘भीषण’, दुधराज पुलामी मगर र कृष्णराज दाहाल ‘सन्तोष’ रहेका छन् । त्यसैगरी जिल्ला सदस्यहरू शक्तिमान घिसिङ ‘शमशेर’, चन्द्रबहादुर स्याङ्बा, प्रेम बर्मा, कल्याण बराल, मानबहादुर सारू तथा गाउँ कमिटी सदस्य कान्छामान मोक्तानले पनि संयुक्त रूपमा पार्टी छाडेको घोषणा गरेका छन् ।

उनीहरूले जारी गरेको वक्तव्यमा लामो समयदेखि पार्टीलाई संस्थागत ढंगले सञ्चालन गर्न खोज्नेहरूविरुद्ध समानान्तर कमिटी निर्माण गर्ने तथा विभाजनकारी गतिविधि सञ्चालन गर्ने प्रवृत्ति बढाइएको उल्लेख गरिएको छ । यस्ता गतिविधिमाथि कारबाही हुनुपर्नेमा उल्टै पार्टी नेतृत्वबाट संरक्षण र प्रोत्साहन मिलेको आरोप उनीहरूको छ ।

वक्तव्यमा इमानदार, अनुशासित तथा विधिको पक्षमा उभिने नेता–कार्यकर्तालाई अपहेलित गरिएको तथा आन्दोलनविरोधी र भ्रष्ट प्रवृत्तिलाई पार्टी केन्द्रकै नेतृत्वबाट संरक्षण दिइएको दाबी गरिएको छ । पालिका र जिल्ला तहबाट आएका निर्णय तथा सुझावलाई बेवास्ता गर्दै केन्द्रीय हस्तक्षेपमार्फत पटक–पटक जबर्जस्ती निर्णय थोपर्ने काम भएको उनीहरूको भनाइ छ ।

पार्टी सुधार, संस्थागत अभ्यास र स्वस्थ आन्तरिक लोकतन्त्रको माग पटक–पटक उठाउँदा पनि नेतृत्वले त्यसलाई गम्भीर रूपमा नलिएको उनीहरूले उल्लेख गरेका छन् । “सही कुरा उठाउने कार्यकर्ताहरूलाई अपमानित, निराश र निष्क्रिय बनाउने वातावरण सिर्जना गरियो,” वक्तव्यमा भनिएको छ ।

यही परिस्थितिमा पार्टीभित्र रहेर इमानदारीपूर्वक योगदान दिन सम्भव नभएको निष्कर्षसहित आफूहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेको उनीहरूको घोषणा छ । यद्यपि जनताको परिवर्तन, सामाजिक न्याय र प्रगतिशील राजनीतिक अभ्यासप्रतिको प्रतिबद्धता भने यथावत् रहने उनीहरूले बताएका छन् ।

उक्त सामूहिक पार्टी परित्यागलाई सिन्धुली जिल्लाको माओवादी राजनीतिमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ । पछिल्लो समय पार्टीभित्र देखिएको आन्तरिक असन्तुष्टि, गुटगत विवाद र नेतृत्वप्रतिको असन्तोषका बीच आएको जिल्लामा नयाँ बहस सिर्जना गरेको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट