Techie IT
KTM Post
मंगलबार, १९ जेठ, २०८३

मदन भण्डारीकाे त्याे प्रस्ताव, जसले नेपालकाे राजनीति बदल्न सक्थ्याे !


महेश्वर दाहाल

नक्सालकाे त्यो साँघुरो गल्ली आज पनि सम्झँदा मलाई लाग्छ, इतिहास कुनै तारे हाेटलहरूमा, सुविधा सम्पन्न ठाउँमा बसेर होइन, साधारण घरकाे डेरामा बसेर पनि लेखिन्छ । त्यो समय नेपालको कम्युनिस्ट आन्दोलन उथलपुथलको मोडमा थियो ।

संसारभर समाजवादी ध्रुवहरू भत्किरहेका थिए । सोभियत संघ विघटन भइसकेकाे थियाे । पूर्वी युरोपका लाल झण्डाहरू एकपछि अर्को झरिरहेका थिए । नेपालमा भने कम्युनिस्ट आन्दोलन आफ्नै बाटो खोजिरहेको थियो । त्यही बेचैन समयको बीचमा म र रामबहादुर तामाङ र म मदन भण्डारी बस्ने डेरातिर गएका थियौँ ।

रामबहादुर नुवाकोटका थिए । हितबहादुर तामाङका बहिनी-ज्वाइँ । हामी दुवैसँग एउटा जिज्ञासा थियो, इतिहासले कुन मोड लिँदैछ ? र, त्यो मोडमा मदन भण्डारी के सोचिरहनु भएकाे छ ?

त्यो दिन उहाँ पाँचौँ महाधिवेशन- २०४९ काे दस्तावेज लेख्न अत्यन्त व्यस्त हुनुहुन्थ्यो । डेराको वातावरण सामान्य थियो तर त्यहाँ एउटा सशक्त राजनीतिक विचारकाे भ्रुण बन्दै थियो । कालान्तरमा त्यही दस्तावेज, जनताकाे वहुदलीय जनवादकाे रूपमा जन्मियाे । हामी पुग्दा विद्या भण्डारीले भन्नुभयो, “उहाँ धेरै व्यस्त हुनुहुन्छ, कसैलाई भेट्ने समय छैन ।” मैले अघिल्लो दिन नै सम्पर्क मिलाएर आएको कुरा बताएँ । उहाँ भित्र पसेर फर्कदैं भन्नुभयो, “आउनुस् ।”

मदन भण्डारी ओछ्यानमा घुँडा टेकेर लेखिरहनु भएकाे थियो । वरिपरि कागजहरू छरिएका थिए । उहाँको शरीरमा गञ्जी र लुङ्गी थियो । सार्वजनिक जीवनमा सदैव टोपी, सर्ट पाइण्ट, काेट, ज्याकेटमा देखिने नेता, आफ्नै कोठामा बिल्कुल आममानिस झैँ देखिनु हुन्थ्यो । उहाँ उठेर बाहिर आउनुभयो । कोठाबाहिर दुई–तीनवटा साधारण कुर्ची थिए । हामी त्यहीँ बस्यौँ ।
उहाँसँग समय कम थियो । तर त्यो छोटो भेट जीवनभर पछ्याउने स्मृति छोड्यो ।

रामबहादुरले हाम्राे फोटो खिच्नुभयो । गञ्जी र लुङ्गीमा रहेको मदन भण्डारीको त्यो तस्वीर दुर्लभ थियो । पछि जनादेशका तत्कालीन प्रबन्ध निर्देशक कुमार योञ्जनले भन्नुभयो, “स्थापित नेताको यस्तो फोटो नछापौँ ।” त्यो तस्बिर पछि प्रहरीका पटक–पटकका घर खानतलासीमा हरायो । पछि भने मदन भण्डारीका टोपीबिनाका तस्वीरहरू समाचार बने । तर त्यो भेटको सबैभन्दा महत्त्वपूर्ण पक्ष तस्वीर होइन, उहाँले बोलेका शब्द थिए ।

उहाँले कम्युनिस्ट एकताको कुरा गर्नुभयो । संसार बदलिँदै गएको थियो । पुराना सूत्रहरूले काम नगर्ने संकेत देखिन थालेका थिए । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय परिस्थिति बदलिएको छ । शक्ति सञ्चय गरेर नयाँ ढंगले अघि बढ्नुपर्छ ।”

त्यसपछि उहाँले भन्नुभयो, जुन आज पनि मेरो कानमा गुञ्जिरहन्छ, “यदि ‘विश्वास’ र निर्मल लामा पनि एकतामा आउनुहुन्छ भने म महाधिवेशन सार्न तयार छु । यो सन्देश पुर्‍याइदिनुस् । एकपटक तत्काल उहाँहरूसँग भेट्ने व्यवस्था गरिदिनुस ।”

त्यतिबेला ‘विश्वास’ भनेको पुष्पकमल दाहाल प्रचण्डकाे भूमिगत नाम थियो । उहाँ अर्धभूमिगत अवस्थामा हुनुहुन्थ्यो । सम्पर्कका माध्यम अत्यन्त सीमित थिए । त्यतिबेला माेबाइल फोन थिएनन् । ल्यान्डलाइन पनि नगन्य मात्रामा हुन्थे । गोपनीयता राजनीतिक रणनीति थियो ।

मदन भण्डारी बोलिरहँदा विद्या भण्डारी नजिकै चुपचाप सुनिरहनुभएको थियो । उहाँमा चासो थियो तर हस्तक्षेप थिएन ।

कृष्णबहादुर महराको सांसद सुविधा अन्तर्गत रहेको फोन नम्बर ५२७१७० नै ‘विश्वास’ सम्म पुग्ने एउटा माध्यम थियो । त्यो नम्बर रहेको ठाउँ र उहाँ बस्ने स्थानबीच मुश्किलले दुई मिनेटको पैदल दूरी थियो । साँझ मैले फोन गरेर सन्देश दिएँ । भोलिपल्ट बिहान बोलावट आयो । म पुगेँ । सविस्तार सबै भनें ।

एकताकाे प्रस्ताव र भेट्ने कुरा तत्काल अश्वीकार गर्दै उता “म बाहिर गएको र खबर पुर्याउन नसकेकाे भन्दिनू,” उहाँले भन्नुभयो । “निर्मल लामालाई मदन भण्डारीको याे सन्देश नलैजानू ।”

मैले उहाँकै कुरा मानें । निर्मल लामा खुला राजनीतिमा हुनुहुन्थ्यो । उहाँसम्म सन्देश पुर्‍याउन कठिन थिएन । तर त्यो सन्देश मैले लगिनँ ।

त्यसपछि विद्या भण्डारीले जनादेश साप्ताहिकको ओटु गुच्चाटोलस्थित कार्यालयमा रहेको २१६११८ नम्बरमा तीन/चार पटक फोन गर्नुभयो । “के भयो ?” उहाँले सोध्नुहुन्थ्यो । मैले हरेकपटक एउटै जवाफ दिएँ, “विश्वास बाहिर हुनुहुन्छ, सम्पर्क हुन सकेको छैन ।”

निर्मल लामाको बारेमा उहाँले फेरि दोहोर्‍याएर सोध्नु भएन । सायद बीचमै कतै संवाद भयो होला । सायद भएन होला । इतिहासका केही प्रश्नहरू उत्तरविहीन नै रहन्छन् ।

पछि पनि मदन भण्डारीसँग धेरैपटक मेराे भेट भयो । उहाँको जीवनशैली अत्यन्त सरल थियो । व्यवहारमा कुनै बनावटीपन थिएन । भाषणमा जति मृदु, व्यक्तिगत जीवनमा पनि उस्तै । उहाँमा अभिव्यक्ति र व्यवहारबीच विरोधाभास देखिँदैनथ्यो । उहाँ अक्सर भन्नुहुन्थ्यो, “जीवनका लागि सिद्धान्त हो ।” अनि अर्को वाक्य पनि, “सिद्धान्तको रंग खैरो हुन्छ, जीवनको रंग हरियो ।”

ती वाक्यमा उहाँको सम्पूर्ण राजनीतिक दर्शन लुकेको थियो, सिद्धान्त स्थिर हुन सक्छ तर जीवन चलायमान हुन्छ ।

जेठ ३ गते उहाँको रहस्यमय निधन हुनुभन्दा केही दिनअघि, वैशाख २१ गते, मैले उहाँसँग फेरि अन्तिमपटक कुराकानी गरेको थिएँ । उहाँ भर्खर चीन भ्रमणबाट फर्कनुभएको थियो । त्यो भ्रमणबारे नेपालमा निकै चर्चा थियो ।

मैले सोधेँ, “भ्रमण कस्तो रह्यो ?”

उहाँले ठट्याैली हाँसाेमा भन्नुभयाे, “फलदायी भयो,” “तर फल लाग्ने भएन ।”

नेपाली कांग्रेसको सरकारले चीनको सहयोगमा बनेका उद्योगहरू सस्तोमा निजीकरण गरेको विषयमा चिनियाँ पक्षको प्रतिक्रिया के थियो भनेर मैले सोधेको थिएँ । उहाँले भन्नुभयो, “उनीहरूले त्यो नेपालको आन्तरिक मामला हो भने ।”

“तर उनीहरूले भित्रभित्रै के महसुस गरेका होलान् ?” मैले फेरि सोधेँ ।

उहाँले जवाफ दिनुभयाे, “पशुपतिमा जाडोमा काम्दै बसेको भिखारीलाई कुनै दयालुले आफ्नो कोट दिएछ । भोलिपल्ट जाँदा त्यो भिखारीले कोट बेचेर फेरि काम्दै मागिरहेको देखियो भने त्यो दयालुले जे महसुस गर्छ, सायद उनीहरूले पनि त्यही महसुस गरे होलान् ।”

त्यो उत्तर कूटनीतिक मात्रै थिएन, त्यो नेपालको राजनीतिक चरित्रमाथिको दर्पण थियो ।

आज ३४ वर्षपछि फर्केर हेर्दा एउटा प्रश्न मनमा बारम्बार उठ्छ, यदि त्यसबेला बृहत् कम्युनिस्ट एकता सम्भव भएको भए ? यदि मदन भण्डारी युवा उमेरमै रहस्यमय ढंगले गुम्नु नभएको भए ? नेपालको वाम आन्दोलन आज कस्तो हुन्थ्यो ?

सायद इतिहास अर्कै बाटो हिँड्थ्यो । सायद उही हुन्थ्यो । तर नक्सालकाे त्यो उहाँकाे सानाे डेरामा बसेर मैले देखेको मदन भण्डारी ओैसत नेतामात्र हुनु हुन्थेन, उहाँ समयको परिवर्तनलाई समयमै बुझ्न खोज्ने दुर्लभ राजनीतिक चेतनाकाे व्यक्तित्व हुनुहुन्थ्यो ।


क्याटेगोरी : विचार

प्रतिक्रिया


ताजा अपडेट