कम्युनिस्ट आन्दोलनका माल्दाइ
भवानी बराल
साउनको पहिलो साता नेपाली राजनीतिले प्रजातन्त्रवादी नेता बीपी कोइराला (सान्दाइ) र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ (माल्दाइ)लाई सम्झन्छ । एकाध कर्मकाण्डी गोष्ठी र बिरुवा रोपेर यी दुई राजनीतिक हस्तीहरुलाई सम्झिइने गरिएको छ ।
’दलाल पुष्पलाल’बाँचुन्जेल त माल्दाइले गद्दार, संशोधनवादी र ’नेपाली कांग्रेसको दलाल’को पगरी भिरे । मरेपछि भने ’माल्दाइको योगदानको उच्च मूल्यांकन गर्दै’ उनलाई महान् बनाउने कोसिस भयो, तर माल्दाइबाट नेपाली कम्युनिस्ट आन्दोलनले के फाइदा र शिक्षा लिने भन्नेबारे समीक्षा हुन सकेको छैन । माल्दाइले उतिखेरै राखेका विचार र दृष्टिकोणलाई बेलाबेला हँसिया हतौडाको झन्डा बोक्नेहरुले जीवनमा भने विरलै अपनाएका छन् ।पुष्पलाललाई गद्दार करार गर्न राजनीतिक साहित्य मात्र लेखिएन । उनको व्यक्तिगत जीवनका नित्तान्त व्यक्तिगत कुरालाई पनि गद्दार बनाउने सूत्रको रुपमा लिइयो । कतिसम्म भने कम्युनिस्ट कार्यकर्ताहरुलाई पुष्पलाल विरोधी ‘काँठे’ भाकाको गीत गाउन उर्दीसमेत लगाइएको थियो तत्कालीन समयमा । पुष्पलालको हुर्मत लिन खोजिएको थियो गीतमार्फत । गीतको मुखडा यस्तो थियो ः गद्दार पुष्पलाल,
नेपाली कांग्रेसको नं एक दलाल ।
गद्दार र सरदार
कम्युनिस्ट आन्दोलनमा कसैलाई गद्दारको पगरी थमाउने र सरदार बनाउने कुरो नौलो होइन । विश्व कम्युनिस्ट आन्दोलनकै प्रतिलिपि उतार गरेर यस्ता पगरी ओढाउने चलन नेपालमा पनि थिति बसाइयो । ट्राटस्कीदेखि वाङमिङ, लिउ साउची र लिन पियाओसम्म आइपुग्दा विश्व कम्युनिस्ट आन्दोलनका गद्दारहरुको लामै फेहरिस्त हुन्छ । नेपालमा पनि त्यही सूत्रको गलत प्रयोग माल्दाइमाथि भयो र बाचुन्जेल उनी गद्दार भए । मोहनविक्रम सिंहले ‘गद्दार पुष्पलाल’ पुस्तक लेखे । रोहितले ‘खोटा विचारको खण्डन’ पुस्तकमार्फत पुष्पलालको हुर्मत लिए ।
नेपालका तत्कालीन प्रायः सबै वाम घटकले माल्दाइको विरोध गर्न कुनै कसर बाँकी राखेनन् । तर मृत्युपछि रातारात माल्दाइ कम्युनिस्ट आन्दोलनका होनाहार ‘सरदार’मा पुनः स्थापित भए । गद्दार र सरदार बनाउने यो खेल अझै सकिएको छैन । विश्व कम्युनिस्ट आन्दोलनका कुनै बेलाका ‘गद्दार’ लिउ साउ ची, तेङ सियाओ पिङ पनि कालान्तरमा ‘सरदार’ ठहर गरिए । संयुक्त जनआन्दोलनका योजनाकार, कम्युनिस्ट पार्टीका संस्थापक माल्दाइको गद्दारी र सरदारीको यो कथा यहीँ टुंगिदैन ।
गंगालालको दियो
‘माइला मैले बालेको प्रजातन्त्रको दियो तैँले प्रज्वलित गर्नेछस् ।’ शहीद गंगालालले आफ्ना भाइ पुष्पलाललाई भनेको यही वाक्य नै माल्दाइको राजनीतिक यात्राको पहिलो पाइला थियो । विसं १९९८ ताका नेपाली प्रजातान्त्रिक संघबाट सुरु भएको माल्दाइको राजनीतिक यात्रा नेपाली राष्ट्रिय कांग्रेस हुँदै २००६ सालमा कम्युनिस्ट पार्टी गठन गरेपछि उनको वैचारिक यात्राले नयाँ घुम्ती पायो । विसं २०१६ सालमा अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलन सोभियत संघ र चीनको भ्रमण गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई माल्दाइले विश्व कम्युनिस्ट आन्दोलनको हिस्सा बनाए । कम्युनिस्ट पार्टीको घोषणा पत्र नेपालीमा अनुवाद गरेर उनले माक्र्सवादी राजनीतिक साहित्यको नेपालमा प्रवेश गराए ।
पहिलो प्रहार
नेपालको कम्युनिस्ट आन्दोलनमा पहिलो प्रहार विसं २००८ सालमा माल्दाइलाई महासचिवबाट बलात हटाएर सुरु गरिएको थियो। दुई वर्ष नबित्दै संस्थापक महासचिवलाई हटाएर मनमोहन अधिकारीलाई महासचिव बनाइयो । अधिकारी चीन गएका बेला केशरजंग रायमाझी कार्यवाहक महासचिव बने । यही सांगठनिक संरचना नै कम्युनिस्ट आन्दोलनलाई सखाप पार्ने प्रस्थान बिन्दु थियो । कम्युनिस्ट आन्दोलनको विचलन र विखण्डनको जग यहीँनेर आएर हालिएको हो । दुई वर्ष नबित्दै पुष्पलाललाई हटाउनुपर्ने, महाधिवेशनसम्म पर्खनु नपर्ने नौबत किन आयो ? माल्दाइले त्यस्तो के अपराध गरेका थिए ? आज पनि यी प्रश्न अनुत्तरित छन् । उत्तर दिनुपर्ने कमरेडहरु हामीमाझ छन् तर ती आफै अनुत्तरित छन ।
यति मात्र होइन, कम्युनिस्ट पार्टीका संस्थापक सदस्यहरु को को हुन् भन्नेमा पनि विवाद छ । कम्युनिस्ट पार्टीको स्थापना पनि २२ अप्रिल र १५ सेप्टेम्बर १९४९ मा विवाद छ । कम्युनिस्ट आन्दोलनको यतिका वर्ष पछिसम्म यति सामान्य कुराको खुटखबर छैन । यसपछि दरभंगा प्लेनम, गोरखपुर सम्मेलनको वरिपरि विघटित संसद्को पुनस्र्थापना, राष्ट्रिय प्रजातन्त्र र संविधानसभाको कार्यनीतिको गोल चक्करमा रह्यो कम्युनिस्ट आन्दोलन । चौथो महाधिवेशन गरेर माल्दाइले गोरखपुरबाट पार्टी संगठन अलग गरे । उनी बाहेककाले अलग्गै संगठन निर्माण गर्दै गए । यसरी तेस्रो महाधिवेशनबाट वयस्क नहुँदै कम्युनिस्ट आन्दोलन पक्षघातको शीकार भयो । माल्दाइ नेतृत्वको पार्टीबाट विद्रोह हुँदै गयो । उनी सानो समूहको नेतामा खुम्चिँदै गए ।
उनको मृत्युपछि उनको समूह र मनमोहन नेतृत्वको पूर्वकोशी प्रान्तीय कमिटीले नेकपा माक्र्सवादी बनाए । पहिलो जनआन्दोलनपछि यो पार्टी मालेमा विलय भयो र एमाले बन्यो । यसअघि नै पूर्वकोशी प्रान्तीय कमिटीबाट विद्रोह गर्दै झापा विद्रोह भयो । कोअर्डिनेसन केन्द्र बन्यो । झापा विद्रोहको जगमा पुष्पलाल समूहबाट फुटेका मुक्ति मोर्चासहित पूर्वको रातो झन्डा आदि समूह मिलेर ०३५ सालमा नेकपा (माले)को गठन भयो यता मोहनविक्रम सिंह नेतृत्वको समूहले चौथो महाधिवेशन समूह बनाए । यो समूह पनि विभिन्न कालखण्डमा फुट्दै जुट्दै रहे ।
फुटेकाहरू चौम, मोटो मशाल, पातलो मसालको नामले चिनिए । चौम र मालेले पञ्चायतको उपयोग भण्डाफोरको नाममा राजनीति गरे। २०४६ सालको पहिलो जनआन्दोलनको सफलतापछि मोटो मशालले नेकपा एकता केन्द्र बनाउँदै नेकपा (माओवादी) पार्टी गठन गरेर ०५२ देखि १० वर्षे गृह युद्ध सञ्चालन ग¥यो । जनयुद्धको जगमा १२ बुँदे सम्झौता हुँदै दोस्रो जनआन्दोलनपछि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । तीनवटा आवधिक निर्वाचनमार्फत संघीय गणतन्त्रको अभ्यास पनि भइसकेको छ । विसं ०८२ को भदौमा भएको जेनजी विद्रोहपछि भिन्न संसदीय समिकरण बनेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर पुराना दल संसदीय गणितमा कमजोर भैसके । संघीय गणतन्त्रको संस्थागत विकास अझै टुङ्गोमा पुगेको छैन । यता कम्युनिस्ट आन्दोलनको भविष्य अब कस्तो हुन्छ, यो प्रश्न फेरि पनि अनुत्तरित छ । पुष्पलालले भनेको पार्टी ‘नेता प्रधान होइन, नीति प्रधान हुनुपर्छ’ भन्ने कुरा यहिँनेर आएर सत्य सावित भएको छ । अबको कम्युनिस्ट आन्दोलनको दिशा यहिँबाट तय हुनेछ ।
माल्दाइको सम्झना
नेपालका नेताहरुका नाममा प्रतिष्ठान, अस्पताल÷राजमार्गहरू खोलिएका छन्, नामकरण गरिएका छन् । असंख्य नेताका नाममा सार्वजनिक सरोकारका क्षेत्रहरू व्यापक संख्यामा नामाङ्कित भएका छन् । सालिक, पार्क र उद्यान निर्माण भएका छन् । यसै क्रममा साम्यवादी आन्दोलनका धरोहर माल्दाइ भने तुलनात्मकरुपमा कञ्जुस्याँइमै परेका छन् । पूर्वपश्चिम लोकमार्गलाई पुष्पलाल लोकमार्ग उनको नाममा राखिएको छ ।
प्रचण्ड–बाबुराम सरकारको पालामा पहिलो पटक पुष्पलालको नाममा यो लोकमार्गको नामकरण भएको थियो । नत्र त संयोगले वा प्रजातन्त्रवादीको उदारताले हो, कांग्रेस नेतृत्वको सरकारले पुष्पलालसम्बद्ध प्रतिष्ठानलाई जग्गा उपलब्ध गराउनेदेखि अन्य काम पुष्पलालको नाममा गरेको देखिन्छ । शेरबहादुर देउपा प्रधानमन्त्री हुँदा कीर्तिपुरको चम्पादेवीमा १२५ रोपनी जग्गा पुष्पलाल प्रतिष्ठान (पुष्पलाल स्मृति पार्क)लाई दिएको हो ।
यसैगरी पुष्पलाल अंकित हुलाक टिकट देउवाकै पालामा जारी भयो । पुष्पलालको नाममा काठमाडौँको चाबहिलमा एउटा निजी कलेज छ । बरु गणेश पण्डितले नुवाकोटमा एउटा प्राथमिक स्कुल खोलेर पुष्पलालको सम्मान गरे । अहिले त पण्डित पनि बितिसके । धन्न पुष्पलालका नाममा व्यापारिक प्रतिष्ठानरुपी अस्पताल र स्कुल कलेज धेरै छैनन् । यो कुरालाई चाहिँ गनिमत नै मान्नुपर्छ । उनको नामको प्रतिष्ठान भए पनि त्यसको नाममा माल्दाइको नाम दुरुपयोग भएको अहिलेसम्म सुनिएको छैन ।
नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर, संयुक्त जनआन्दोलनका परियोजनाकार, संस्थापक महासचिव हामीबीच नरहेको चार दशक बढी बितिसकेको छ । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका माल्दाइको निधन २०३५ साउन ७ गते भएको थियो ।
जनयुद्ध, जनआन्दोलन, मधेस विद्रोहसहित अनेक विद्रोहमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्थापना भएको छ । माल्दाइको संयुक्त जनआन्दोलनको कार्यदिशाले स्थापित गरेको मूल्य बचाउन सके मात्र माल्दाइलाई सम्झिनु अर्थपूर्ण हुनेछ । निमुखा नेपालीको पक्षमा पार्टी, विचार आन्दोलन निर्माण गरेका नेपाली कम्युनिस्ट आन्दोलनका अग्ला माल्दाइलाई लालसलाम ।
bhawanibaral@gmail.com
WhatsApp : 9842055871
क्याटेगोरी : विचार













प्रतिक्रिया