कम्युनिस्ट आन्दोलनको आत्मसमीक्षा र नयाँ दिशाको खोजी
आज वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद ! पुस्तकमाथि आफ्ना केही धारणा राख्ने अवसर पाएकोमा म गाैरवान्वित छु । सर्वप्रथम नेकपाका संस्थापक महासचिव पुस्पलाल श्रेष्ठको जन्मदिनकाे सन्दर्भमा सम्मान !
यो पुस्तकलाई बहुदलीय जनवादको आलोचनामा मात्रै सीमित गर्नु उचित हुँदैन । यो नेपाली कम्युनिस्ट आन्दोलनको विगत, वर्तमान र भविष्यलाई एकैसाथ हेर्ने वैचारिक दस्तावेज हो । लेखक झलनाथ खनाल आफैं लामो कम्युनिष्ट राजनीतिक अनुभव बोकेको नेतृत्वकर्ता भएकाले पुस्तकमा बाहिरबाट गरिएको टिप्पणीभन्दा आन्दोलनभित्रबाट गरिएको आत्मसमीक्षा बढी देखिन्छ । आफ्नै आन्दोलनका कमजोरी, नेतृत्वका त्रुटि र वैचारिक विचलनबारे खुलेर लेख्नु सजिलो काम होइन । त्यसैले यो पुस्तकलाई सबैभन्दा पहिले एउटा इमानदार आत्मसमीक्षाको प्रयासका रूपमा मूल्याङ्कन गर्नुपर्छ ।
पुस्तकको मूल प्रश्न वैज्ञानिक समाजवाद र बहुदलीय जनवादबीचको वैचारिक बहस हो । लेखकको निष्कर्ष स्पष्ट छ, कम्युनिस्ट आन्दोलनले आफ्नो मूल समाजवादी लक्ष्यबाट विचलित हुँदा आन्दोलन कमजोर भयो । उहाँका अनुसार बहुदलीय जनवादले आन्दोलनलाई क्रमशः संसदीय प्रतिस्पर्धामा सीमित गरिदियो र समाजवादी रूपान्तरणको लक्ष्य ओझेलमा पर्यो । त्यसैले वैज्ञानिक समाजवादलाई पुनः आन्दोलनको मार्गदर्शक सिद्धान्तका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता उहाँले जोडदार रूपमा उठाउनुभएको छ ।
पुस्तकमा २०७४ सालपछि बनेको शक्तिशाली नेपाल कम्युनिस्ट पार्टीको सरकारलाई ऐतिहासिक अवसरका रूपमा चित्रण गरिएको छ । भूमि सुधार, औद्योगिकीकरण, कृषि आधुनिकीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी र राष्ट्रिय अर्थतन्त्रको पुनर्संरचनाजस्ता विषयमा ऐतिहासिक परिवर्तन गर्न सकिने अवस्था भए पनि नेतृत्वभित्रको गुटबन्दी, व्यक्तिवाद र वैचारिक अस्पष्टताका कारण त्यो अवसर गुमेको लेखकको निष्कर्ष छ । उहाँले असफलताको दोष कार्यकर्ता वा जनतालाई होइन, नेतृत्वलाई दिनुभएको छ । यही कारण पनि पुस्तक आलोचनाभन्दा बढी आत्मसमीक्षाको दस्तावेज बनेको छ ।
यस पुस्तकको अर्को उल्लेखनीय पक्ष भनेको यसले प्रश्न उठाउँछ । कुनै पनि विचारधाराको विकास उत्तरबाट होइन, प्रश्नबाट सुरु हुन्छ । यही कारण लेखकसँग सबैजना सहमत हुनुपर्छ भन्ने छैन । तर उहाँले उठाएका प्रश्नहरूलाई नजरअन्दाज गर्न भने सकिँदैन ।
मेरो विचारमा पुस्तकको सबैभन्दा ठूलो उपलब्धि भनेको यसले नेपाली कम्युनिस्ट आन्दोलनभित्र वैचारिक बहसलाई पुनर्जीवित गर्ने प्रयास गरेको छ । लामो समयदेखि व्यक्तिकेन्द्रित राजनीतिमा सीमित हुँदै गएको बहसलाई यसले फेरि विचार, सिद्धान्त र नीतिको तहमा ल्याउने प्रयास गरेको छ । यही कारण यो पुस्तक समयानुकूल देखिन्छ ।
तर समीक्षा प्रशंसामा मात्रै सीमित हुनु हुँदैन । पुस्तकले केही महत्त्वपूर्ण संकेत गरे पनि ती संकेतको विस्तृत व्याख्या भने अझ आवश्यक देखिन्छ । विशेषगरी आज विश्व अर्थतन्त्र तीव्र परिवर्तनको चरणमा छ । कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र, सूचना प्रविधि, स्वचालन, हरित अर्थतन्त्र र ज्ञानमा आधारित उत्पादनले परम्परागत अर्थतन्त्रलाई परिवर्तन गरिरहेका छन् । पुस्तकले समाजवादको आवश्यकता औँल्याउँछ तर यी नयाँ विश्वव्यापी परिवर्तनलाई समाजवादी दृष्टिकोणबाट कसरी सम्बोधन गर्ने भन्ने विषयमा अझ विस्तृत विश्लेषण भएको भए पुस्तक अझ समृद्ध बन्न सक्थ्यो ।
आज विश्व अर्थतन्त्रमा जानकारी, ज्ञान र डेटा नयाँ उत्पादन शक्तिका रूपमा स्थापित हुँदै गएका छन् । ओैधाेगिक राेबर्टिक्सले मानवीय श्रमलाई संकुचन गर्दै गएकाे छ । कृत्रिम बुद्धिमत्ता प्रविधि मात्रै हाेइन, श्रम, उत्पादन र शक्तिको सम्बन्ध परिवर्तन गर्ने माध्यम बनिरहेको छ । गिग अर्थतन्त्र, अस्थायी रोजगारी र एल्गोरिदम व्यवस्थापनले “प्रेकारियट” अर्थात् असुरक्षित श्रमिकहरूको नयाँ वर्ग निर्माण गरिरहेको छ । प्रेकारियस र प्राेलेटारियटकाे शब्दबाट बनेकाे । श्रमिक अधिकार, सामाजिक सुरक्षा र लोकतन्त्रसम्बन्धी नयाँ प्रश्नहरू उठिरहेका छन् । खुला स्रोत प्रविधि, साझा ज्ञान, सहकारी उत्पादन र डिजिटल सहकार्यले नयाँ आर्थिक सम्भावनाहरू पनि देखाइरहेका छन् । यी सबै परिवर्तनले समाजवादको बहसलाई पनि नयाँ उचाइमा पुर्याएका छन् ।
त्यसैगरी, जनउत्तरदायी शासन, समान अवसर, सामाजिक न्याय र सुधारसँगै आन्दोलनको आवश्यकताबारे पुस्तकले उठाएका प्रश्नहरू निकै सान्दर्भिक छन् । जलवायु संकट, बढ्दो असमानता, वित्तीय अस्थिरता, डिजिटल एकाधिकार र कृत्रिम बुद्धिमत्ताको विस्तारले राज्य, बजार र समाजबीच नयाँ सन्तुलन खोज्ने आवश्यकता विश्वभर महसुस भइरहेको छ । यस अर्थमा पुस्तकले विश्वव्यापी बहसतर्फ संकेत गरेको छ, यद्यपि ती विषयलाई अझ विस्तारमा समेट्न सकिएको भए, नयाँ याे सन्दर्भकाे व्याख्या गरेकाे भए याे कितावकाे महत्व अझ बढ्ने मलाई लागेकाे छ ।
मेरो विचारमा यो पुस्तकको सबैभन्दा महत्त्वपूर्ण विशेषता यसको इमानदारी हो । लेखकले आफ्नै आन्दोलनका कमजोरी लुकाउने प्रयास गर्नुभएको छैन । आत्मसमीक्षाबिना कुनै पनि आन्दोलन अगाडि बढ्न सक्दैन भन्ने विश्वास यस पुस्तकमा स्पष्ट देखिन्छ । यही कारण यो पुस्तक अन्तिम निष्कर्ष दिने भन्दा पनि विगतकाे समीक्षा गर्दै नयाँ बहस सुरु गर्ने कृति हो ।
पुस्तकमा प्रष्ट लेखिएकाे छ, अब पुराना टाउकाे जाेडेर केही पनि हुनेवाला छैन, नयाँ सक्षम, क्रान्तिकारी र युवा टिमलाई नेतृत्वमा आउने बाटाे दिनुपर्छ र कम्युनिस्ट पार्टीलाई समग्र रूपमा नै पुनर्गठन र रूपान्तरणकाे दिशामा अगाडि बढाउनु पर्छ ।
अन्त्यमा, मेरो निष्कर्ष स्पष्ट छ । झलनाथ खनाल यस पुस्तकमार्फत पनि पुरानो पुस्ताका इमानदार, व्यावहारिक र वैचारिक नेताका रूपमा प्रस्तुत हुनुभएको छ । उहाँले विगतको समीक्षा मात्र गर्नुभएको छैन, बदलिँदो विश्व अर्थतन्त्र, प्रविधि, लोकतन्त्र र वैज्ञानिक समाजवादबीचको सम्बन्धलाई नयाँ ढंगले सोच्न घच्घच्याउनु भएकाे छ । उहाँले आन्दोलनलाई दोषारोपणको बाटोमा होइन, आत्मसमीक्षा, वैचारिक पुनर्निर्माण र भविष्यको खोजतर्फ डोर्याउने प्रयास गर्नुभएको छ ।
म व्यक्तिगत रूपमा विश्वस्त छु कि झलनाथ खनालले एउटा अभिभावकको, अनुभवी नेतृत्वकाे भूमिकामा अहिले उभिएर पुराना, नयाँ पुस्तालाई एकताबद्ध बनाएर वैज्ञानिक समाजवादी यात्रालाई सही दिशातर्फ डोर्याउने इमानदार प्रयास गर्ने सामर्थ्य राख्न सक्नुहुन्छ । अहिले प्रारम्भमा विभिन्न समूह र व्यक्तिगत रूपमा रहनु भएका सबैलाई समेटेर मञ्च निर्माण गरेर ध्रुवीकरण र एकीकरणका लागि पहल बढाओैं । उहाँले प्रस्तुत गरेका सबै निष्कर्षसँग अहिले नै सबै सहमत हुनुपर्छ भन्ने छैन तर उहाँले उठाएका प्रश्नहरू, देखाउनुभएको वैचारिक साहस र बहसलाई पुनर्जीवित गर्ने र अगाडि जाने प्रतिबद्धता निश्चय नै स्वागतयोग्य छन् ।
त्यसैले वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद ! विगतको समीक्षा गर्ने मात्र पुस्तक होइन, नयाँ पुस्तालाई सोच्न, बहस गर्न र बदलिँदो विश्वसँग मेल खाने समाजवादी विकल्प खोज्दै अगाडि बढ्न प्रेरित गर्ने एउटा महत्वपूर्ण वैचारिक कृति हो । अहिलेकाे दिशाहीनता, अन्धकारलाई चिर्दै अगाडि बढ्ने उज्यालाे मार्गदिशा हाे ।
धन्यवाद !
(वरिष्ठ कम्युनिस्ट नेता झलनाथ खनालको पुस्तक विमोचन कार्यक्रममा व्यक्त मन्तव्यको सम्पादित अंश )
क्याटेगोरी : विचार













प्रतिक्रिया