सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा
ललितपुर । जावलाखेलस्थित सदर चिडियाखानामा देखिएको बर्डफ्लु सङ्क्रमण नियन्त्रणको चरणमा पुगेको चिडियाखाना प्रशासनले जनाएको छ। गत असार ५ गते सङ्क्रमण पुष्टि भएपछि बन्द गरिएको चिडियाखानामा हाल नयाँ सङ्क्रमण नदेखिएको बताइएको छ।
सङ्क्रमण पुष्टि भएलगत्तै प्रशासनले चिडियाखाना बन्द गरी प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने, सङ्क्रमित तथा बिरामी जीवजन्तुको उपचार गर्ने र भाइरस फैलिन नदिन आवश्यक नियन्त्रणात्मक उपायहरू लागू गरेको थियो।
चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार बर्डफ्लु नियन्त्रणका लागि नियमित रूपमा औषधि छर्किने, जीवजन्तु राखिएका स्थानको सरसफाइ गर्ने तथा बिरामी जनावरको उपचारलाई तीव्रता दिइएको छ। उनका अनुसार पछिल्लो परीक्षणले असार १२ गतेयता चिडियाखानाभित्र बर्डफ्लुको नयाँ सङ्क्रमण नभएको देखाएको छ।
सङ्क्रमणको अवस्था र प्रभावबारे विस्तृत अध्ययन गर्न बर्डफ्लु नियन्त्रण अध्ययन समिति गठन गरिएको छ। समितिले केही दिनभित्र प्रतिवेदन बुझाउने र त्यसपछि विज्ञहरूको सुझावका आधारमा चिडियाखाना सर्वसाधारणका लागि पुनः खोल्ने वा नखोल्ने निर्णय गरिने कोइरालाले जानकारी दिए।
यता, पशु सेवा विभागले भने काठमाडौं उपत्यकामा बर्डफ्लुको जोखिम अझै कायम रहेको जनाएको छ। विभागका अनुसार उपत्यकाका विभिन्न क्षेत्रमा सङ्क्रमण फैलिरहेको अवस्थालाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आवश्यक छ।
चिडियाखाना प्रशासनले जीवजन्तुको सुरक्षा र नागरिक स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आवश्यक सबै सावधानी अपनाइएको जनाएको छ। सङ्क्रमण नियन्त्रणको अवस्था सकारात्मक देखिए पनि अध्ययन समितिको प्रतिवेदन र विज्ञहरूको सुझावपछि मात्रै पुनः सञ्चालनको अन्तिम निर्णय गरिने बताइएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया