काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ।
हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहेको छ भने कोशी र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार बागमती र गण्डकीका केही स्थान तथा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका थोरै स्थान तथा मधेश र कोशी प्रदेशका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनसहित वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।यस्तै, कोशी र कर्णालीका पहाडी क्षेत्र तथा बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेश र कोशीको तराई तथा लुम्बिनी प्रदेशका केही स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने जनाइएको छ।
विशेषगरी गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा रातिको समयमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
प्रतिक्रिया