पोखरा-दुबई नियमित उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबीच छलफल
कास्की । आगामी सेप्टेम्बर २३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु हुने पोखरा–दुबई सीधा हवाई सेवा प्रभावकारी र दीर्घकालीन रूपमा सञ्चालन गर्ने विषयमा पर्यटन व्यवसायी र फ्लाइ दुबईका प्रतिनिधिबीच पोखरामा छलफल भएको छ।पोखरा उद्योग वाणिज्य संघ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका पदाधिकारीसँग भएको भेटमा उडानको निरन्तरता सुनिश्चित गर्न निजी क्षेत्र, पर्यटन व्यवसायी तथा सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको हो।
छलफलका क्रममा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा–दुबई उडानलाई दीर्घकालीन र व्यावसायिक रूपमा सफल बनाउने तयारी सुरु भइसकेको जानकारी दिए। उनका अनुसार यो उडानले गण्डकी प्रदेशसहित आसपासका क्षेत्रका यात्रुलाई दुबईसँग मात्र नभई फ्लाइ दुबईको अन्तर्राष्ट्रिय सञ्जालमार्फत लन्डन, न्युयोर्क, टोकियोलगायत विश्वका २५० भन्दा बढी गन्तव्यमा सहज पहुँच उपलब्ध गराउनेछ।
फ्लाइ इमिरेट्सका नेपालस्थित महाप्रबन्धक रमेश लामिछानेले पनि नियमित उडान सञ्चालनका लागि आवश्यक प्राविधिक, सञ्चालन तथा व्यावसायिक तयारी पूरा भइसकेको बताए।
स्थानीय निजी क्षेत्रका प्रतिनिधिहरूले पनि उडानलाई सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखराबाट हुने पहिलो नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई सफल बनाउन पर्यटन क्षेत्र र नागरिक समाज सक्रिय रूपमा सहकार्य गर्ने बताए।यसैबीच, रेवान पोखरा र फ्लाइ दुबईका पदाधिकारीबीच पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय पर्यटक आगमन वृद्धि तथा निजी क्षेत्रबीच व्यावसायिक साझेदारी विस्तार गर्ने विषयमा समेत समझदारी भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट गत महिना दैनिक उडान सञ्चालनको अनुमति प्राप्त गरेको फ्लाइ दुबईले उडान तालिका सार्वजनिक गरिसकेको छ। सुरुमा एक महिनाका लागि मात्र उडान घोषणा गरिएको भए पनि कम्पनीले सन् २०२७ को मार्च २६ सम्मका लागि टिकट बुकिङ खुला गरिसकेको जनाएको छ।
उडान अनुमति प्राप्त गर्नुअघि फ्लाइ दुबईको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा, सेफ्टी तथा सञ्चालन व्यवस्थाको विस्तृत निरीक्षण गरेको थियो।
सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी वायुसेवा कम्पनी आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेसँगै फ्लाइ दुबईको नियमित उडान सुनिश्चित भएको हो।
सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको करिब २२ अर्ब रुपैयाँ लागतको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हालसम्म आन्तरिक उडान र सीमित चार्टर उडानमै केन्द्रित थियो। अब नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेसँगै पोखरा विश्व हवाई सञ्जालसँग प्रत्यक्ष जोडिने भएको छ।
यसलाई पोखराको पर्यटन उद्योगका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनसँगै विदेशी पर्यटक आगमन बढ्ने र गण्डकी प्रदेशको पर्यटन तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा पर्यटन व्यवसायीहरूले गरेका छन्।
क्याटेगोरी : समाचार













प्रतिक्रिया