Techie IT
KTM Post
शुक्रबार, २६ असार, २०८३

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा


काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार १७६ जना चालक ट्राफिक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार मादकपदार्थ सेवन गरेर सवारी चलाउने ८१ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १०१ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १५९ जना र तीव्र गतिमा सवारी चलाउने २०२ जनामाथि कारबाही गरिएको छ।

यस्तै, लेन अनुशासन उल्लङ्घन गर्ने ९२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ११० जना, फुटपाथमा सवारी पार्किङ गर्ने ११० जना तथा एकतर्फी सडकमा सवारी चलाउने ६६ जना पनि कारबाहीमा परेका छन्। अन्य विभिन्न प्रकारका ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ५५ जनामाथि समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले उक्त कारबाहीबाट कुल १० लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। प्रहरीले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि नियमित निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट