Techie IT
KTM Post
बिहीबार, २५ असार, २०८३

टिकटकले पछिल्लो तीन महिनामा नेपालमा १९ लाखभन्दा बढी भिडियो हटायो


काठमाडौं। छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को पहिलो त्रैमासिक (जनवरी–मार्च) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गर्दै नेपालमा मात्रै करिब १९ लाख ६२ हजार नियमविपरीतका भिडियो हटाइएको जनाएको छ।

टिकटकका अनुसार उक्त अवधिमा नेपालबाट कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेका १९ लाख ६१ हजार ६ सय ९८ (१,९६१,६९८) भिडियो प्लेटफर्मबाट हटाइएका हुन्। यो संख्या सो अवधिमा नेपालबाट अपलोड गरिएका कुल भिडियोमध्ये करिब ०.४ प्रतिशत रहेको कम्पनीले जनाएको छ।प्रतिवेदनअनुसार नेपालमा नियम उल्लंघन गर्ने सामग्री हटाउने सक्रिय दर ९९.२ प्रतिशत रहेको थियो। हटाइएका भिडियोमध्ये ८६.५ प्रतिशत पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको कम्पनीले जनाएको छ। समीक्षा प्रक्रियापछि ६१ हजार ९ सय ९२ भिडियो भने पुनःस्थापित गरिएको छ।

विश्वव्यापी रूपमा हेर्दा, सोही अवधिमा टिकटकले १८ करोड ४० लाखभन्दा बढी (१८४,०१२,५७६) भिडियो हटाएको जनाएको छ। यो प्लेटफर्ममा अपलोड भएका कुल सामग्रीको करिब ०.५ प्रतिशत हो।कम्पनीका अनुसार हटाइएका भिडियोमध्ये १७ करोड ८० लाखभन्दा बढी भिडियो स्वचालित (अटोमेटेड) प्रणालीमार्फत पहिचान गरी हटाइएको थियो। थप समीक्षा गरेपछि ८८ लाख ३८ हजार ७१० भिडियो पुनःस्थापना गरिएको प्रतिवेदनमा उल्लेख छ।

विश्वभर नियम उल्लंघन गर्ने सामग्री हटाउने सक्रिय दर ९९.३ प्रतिशत पुगेको थियो भने फ्ल्याग गरिएका ९४.४ प्रतिशत सामग्री पोस्ट भएको पहिलो २४ घण्टाभित्रै हटाइएको टिकटकले जनाएको छ।

प्लेटफर्मको सुरक्षा र विश्वसनीयता सुदृढ बनाउन कम्पनीले सोही अवधिमा ८ करोड ६२ लाखभन्दा बढी नक्कली (फेक) एकाउन्ट तथा १३ वर्षभन्दा कम उमेरका हुन सक्ने २ करोड ५७ लाखभन्दा बढी एकाउन्ट पनि हटाएको जनाएको छ।प्रतिवेदनले टिकटकको कन्टेन्ट मोडेरेसन प्रणालीमा स्वचालित प्रविधिको प्रयोग अझ प्रभावकारी बन्दै गएको देखाएको छ। हाल अधिकांश नियम उल्लंघन गर्ने सामग्री अटोमेसन प्रविधिमार्फत पहिचान गरी हटाइने गरिएको कम्पनीको दाबी छ।

यस अवधिमा टिकटक लाइभमाथिको निगरानी पनि थप कडा बनाइएको छ। कम्पनीका अनुसार लाइभ प्रसारण निलम्बन (सस्पेन्सन) दर बढेर २.७ प्रतिशत पुगेको छ, जुन अहिलेसम्मकै उच्च रहेको बताइएको छ।

टिकटकले पहिलो त्रैमासिकमा ५ करोड ८२ लाखभन्दा बढी लाइभ सेसन तथा २ करोड १९ लाखभन्दा बढी लाइभ क्रियटरविरुद्ध चेतावनी, मनिटाइजेसन बन्दलगायतका कारबाही गरेको जनाएको छ। समीक्षा प्रक्रियापछि ४१ लाख ७१ हजार ६ सय ७७ लाइभ सेसन भने पुनःस्थापना गरिएको कम्पनीले उल्लेख गरेको छ।

लस एन्जलस र सिङ्गापुरमा विश्वव्यापी मुख्यालय रहेको टिकटकले पारदर्शिता र सुरक्षित डिजिटल वातावरण निर्माणप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै यस्ता प्रतिवेदन नियमित रूपमा सार्वजनिक गर्दै आएको जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट