Techie IT
KTM Post
बिहीबार, २५ असार, २०८३

राहदानी विभागको गेटमा आत्मदाह प्रयास गर्ने पुरुषको पहिचान खुल्यो


काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ । प्रहरीका अनुसार उनी पेसाले पठाओ (राइड सेयरिङ) चालक रहेको र काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले उनको मोटरसाइकलमा ‘ह्वील लक’ गरिदिएपछि आवेशमा आएर उनले यस्तो कदम चालेको पाइएको छ ।

आत्मदाह प्रयास गर्नेमा मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. ०१ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपाली रहेका छन् ।

बिहीबार दिउँसो करिब १:४५ बजेको समयमा काठमाडौँ महानगरपालिका-११, त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट नजिकै ती युवकले अप्रत्याशित रूपमा आफ्नो शरीरमा आगो लगाएका थिए । उनले आफैँले चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएका थिए ।

महानगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा राखेको भन्दै उनको मोटरसाइकलमा साँचो ९ह्वील लक० लगाएपछि उनी आक्रोशित बनेका थिए । सोही विषयलाई लिएर विवाद र तनाव भएपछि उनले पेट्रोल खन्याएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनास्थलमा खटिएका प्रहरी टोलीले तत्कालै आगो निभाएर उनलाई उद्धार गरी उपचारका लागि महाबौद्धस्थित वीर अस्पताल पुर्‍याएको थियो । हाल उनको वीर अस्पतालको बर्न युनिटमा उपचार भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार नेपालीको अवस्था गम्भीर छ ।

उनको शरीरका विभिन्न भाग जलेका छन् भने उनी हाल हल्का बोल्न सक्ने अवस्थामा रहेका छन् ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट