बिपी राजमार्गमा राति सवारी आवागमन बन्द
काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले बिपी राजमार्गअन्तर्गत खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ। मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त खण्डमा सवारी सञ्चालन पूर्ण रूपमा रोक्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन तथा काभ्रे र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीबीचको समन्वयपछि यस्तो निर्णय लिइएको हो। हाल उक्त सडकखण्ड रोशीखोलासँग जोडिएको र वर्षाका कारण बाढीको जोखिम उच्च रहेकाले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै रातिको आवागमन रोकिएको जनाइएको छ।
यसअघि वर्षाका कारण आएको भेलबाढीले सडकमा क्षति पुर्याएको थियो भने अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको छ। सोमबार पनि रोशीखोलामा आएको बाढीका कारण पाँच सवारी साधन फसेका थिए र करिब ८९ यात्रु जोखिममा परेका थिए।
प्रशासनले मौसमको अवस्था हेरी आवश्यक परे दिनको समयमा पनि छोटो अवधिका लागि आवागमन रोक्न सकिने जनाएको छ। यात्रुहरूलाई वैकल्पिक व्यवस्था अपनाउन आग्रह गरिएको छ।

क्याटेगोरी : समाचार












प्रतिक्रिया