अतिरिक्त स्वास्थ्य सचिव पदका लागि देवकोटा र शर्मा सिफारिस
काठमाडौं । अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) को रिक्त एक पदमा बढुवाका लागि दुई जनाको नाम सिफारिस गरिएको छ।
सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्माको नाम सिफारिस गरेको हो । डा.देवकोटा हाल डडेलधुरा अस्पतालको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारीमा छिन् ।
डा. शर्मा भने गण्डकी प्रदेशको प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका निर्देशक हुन् । उनी यसअघि गण्डकी प्रदेश सरकारको स्वास्थ्य सचिवको भूमिकामा समेत रहेका थिए ।
बढुवा मूल्यांकनमा लुम्बिनी प्रदेशकी स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ पनि प्रतिस्पर्धामा रहेकी थिइन् । तर प्राप्त अंकका आधारमा शीर्ष स्थानमा परेका दुई उम्मेदवारको नाम मात्र सिफारिस गरिएको जनाइएको छ ।
उक्त पद गत भदौदेखि रिक्त रहेको थियो । तत्कालीन अतिरिक्त स्वास्थ्य सचिव टंक बाराकोटीले राजीनामा दिएपछि पद खाली भएको हो। बढुवाका लागि आवेदन खुला गरिएकामा १३ जना अधिकारीले दाबी प्रस्तुत गरेका थिए ।
अब सिफारिसमा परेका दुई जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले अतिरिक्त स्वास्थ्य सचिवमा बढुवा गर्नेछ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया