अब तल्लो तहका कर्मचारीले पनि हाकिमलाई अंक दिन पाउने
काठमाडौं । सरकारले ल्याएको नयाँ निजामती सेवा विधेयकको मस्यौदामा कार्यसम्पादन मूल्यांकन प्रणालीमा महत्वपूर्ण परिवर्तन प्रस्ताव गरिएको छ। अबदेखि तल्लो तहका कर्मचारीहरूले पनि आफूभन्दा माथिल्लो तहका अधिकारी वा सुपरभाइजरको कार्यशैली र व्यवहारलाई अंक दिन पाउने व्यवस्था समावेश गरिएको छ।
हालसम्मको अभ्यासमा सुपरभाइजरहरूले मात्रै मातहतका कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्था रहेको थियो। तर नयाँ प्रस्तावित व्यवस्थाअनुसार, मातहतका कर्मचारीहरूले पनि आफ्ना हाकिमको नेतृत्व शैली, व्यवहार र कार्यसम्पादनमा मूल्यांकन गर्न सक्नेछन्।
विधेयकको मस्यौदा अनुसार सुपरभाइजरहरूले मातहतका कर्मचारीलाई कार्यदक्षता, क्षमता र अनुशासनका आधारमा १५ अंकसम्म दिन पाउनेछन्। त्यस्तै, मातहतका कर्मचारीहरूले आफ्ना हाकिमलाई ५ अंकभारभित्र रहेर मूल्यांकन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
मातहतका कर्मचारीहरूले दिएको अंकको औसत निकालेर ५ अंकमै रूपान्तरण गरी कार्यसम्पादन मूल्यांकनमा समावेश गरिनेछ।
मूल्यांकनका आधारहरूमा समन्वय, कर्मचारीप्रति व्यवहार, विनम्रता र समस्या समाधान गर्ने क्षमता जस्ता पक्षलाई समेटिनेछ। यो प्रणालीले कार्यालयभित्र पारदर्शिता र जवाफदेहितामा सुधार ल्याउने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया