यी हुन् रास्वपाका प्रस्तावित सात वैचारिक आधार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमार्फत पार्टीको राजनीतिक दर्शन र वैचारिक मार्गदर्शनलाई औपचारिक रूप दिन सात आधारभूत वैचारिक स्तम्भ प्रस्ताव गरेको छ।
आगामी महाधिवेशनमा प्रस्तुत हुने विधानको मस्यौदामा रास्वपाले लोकतन्त्र, सुशासन, सामाजिक न्याय, उदार अर्थतन्त्र, समावेशिता र सांस्कृतिक सहअस्तित्वलाई केन्द्रमा राख्दै आफ्नो वैचारिक आधार तय गरेको हो।
प्रस्तावित विधानअनुसार पार्टीको पहिलो वैचारिक आधार पूर्ण लोकतान्त्रिक गणतन्त्र र विधिको शासन रहेको छ। रास्वपाले वैयक्तिक स्वतन्त्रता, मौलिक हकको सुनिश्चितता, बहुलवादी लोकतान्त्रिक प्रणाली तथा विधिमा आधारित जवाफदेही शासन प्रणालीप्रति प्रतिबद्धता व्यक्त गरेको छ।
दोस्रो आधारका रूपमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रलाई समेटिएको छ। पार्टीले प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रमार्फत समतामूलक विकास र आर्थिक अवसरको विस्तारमा जोड दिएको छ।
तेस्रो वैचारिक स्तम्भका रूपमा संवैधानिक समाजवादलाई अघि सारिएको छ। रास्वपाले लोकतान्त्रिक र शान्तिपूर्ण माध्यमबाट समाजवादका मूल उद्देश्य हासिल गर्दै संविधान र राष्ट्रिय नीतिअनुसार राज्य सञ्चालन गर्ने अवधारणा प्रस्तुत गरेको छ।
चौथो आधार समन्यायिक समावेशिता रहेको छ। विधान मस्यौदामा लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय तथा अन्य संरचनात्मक विभेदको अन्त्य गर्दै अवसर, पहुँच र सहभागिताको समान सुनिश्चिततामार्फत समावेशी समाज निर्माण गर्ने लक्ष्य उल्लेख गरिएको छ।
पाँचौं आधारका रूपमा योग्यता, सुशासन र सदाचारलाई प्राथमिकता दिइएको छ। राज्यका सबै संरचनामा योग्यता, दक्षता र कार्यक्षमताको सम्मान गर्दै भ्रष्टाचार तथा अनियमितताप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने प्रस्ताव गरिएको छ।
छैटौं वैचारिक आयाममा नेपालको सनातन सभ्यता तथा सांस्कृतिक सहअस्तित्वलाई स्थान दिइएको छ। पार्टीले नेपालको ऐतिहासिक, धार्मिक र सांस्कृतिक विविधताको सम्मान गर्दै पारस्परिक सद्भाव र सहअस्तित्वलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ।
सातौं र अन्तिम आधारका रूपमा उन्नत लोकतन्त्र, सुशासन र पार्टी सञ्चालनका सिद्धान्तलाई राखिएको छ। विधान मस्यौदामा उल्लिखित लोकतान्त्रिक मूल्य–मान्यता, सुशासनका सिद्धान्त तथा संगठनात्मक आचरणलाई पार्टी सञ्चालनको आधारस्तम्भका रूपमा परिभाषित गरिएको छ।
रास्वपाले प्रस्तावित सबै वैचारिक आधारलाई पार्टीका संरचना, नीति, कार्यविधि र भावी राजनीतिक कार्यक्रमहरूको मार्गनिर्देशक सिद्धान्तका रूपमा लागू गर्ने जनाएको छ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ। महाधिवेशनले पार्टीको भावी वैचारिक दिशा, संगठनात्मक संरचना र नेतृत्व चयनका विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया