रास्वपाले तोक्यो महाधिवेशन प्रतिनिधि शुल्क, तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम महाधिवेशनका लागि प्रतिनिधि तथा पर्यवेक्षकको शुल्क निर्धारण गरेको छ। पार्टीले महाधिवेशन प्रतिनिधिका लागि प्रतिव्यक्ति पाँच हजार रुपैयाँ शुल्क तोकेको छ।
रास्वपाको निर्वाचन आयोगका अनुसार पर्यवेक्षकका लागि पनि पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। साथै, आर्थिक रूपमा कमजोर तथा विपन्न सदस्यहरूलाई महाधिवेशनमा सहभागी हुन सहज बनाउन विशेष सहायता कोष सञ्चालन गरिने जानकारी दिइएको छ।
पार्टीका अनुसार महाधिवेशनमा करिब तीन हजार प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको छ। प्रतिनिधि छनोट तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको बताइएको छ।
रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना गर्दैछ। पार्टी स्थापना भएको चार वर्ष पूरा भएको अवसर पारेर महाधिवेशन सुरु गर्न लागिएको हो।
महाधिवेशन सम्पन्न गर्न पार्टीले मूल आयोजक समितिसहित १८ वटा विभिन्न उपसमिति गठन गरिसकेको छ। ती समितिहरूले व्यवस्थापन, प्रचारप्रसार, प्रतिनिधि समन्वय, आवास, यातायात तथा अन्य आवश्यक तयारीको जिम्मेवारी सम्हालिरहेका छन्।
पार्टीका लागि पहिलो महाधिवेशन संगठनात्मक रूपमा महत्त्वपूर्ण मानिएको छ। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन, नीति तथा कार्यक्रम पारित गर्ने लगायतका विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया