Techie IT
KTM Post
बुधबार, ३ असार, २०८३

हरिबोल गजुरेललाई कारबाही गर्नु प्रतिशोध कि अनुशासन ?


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संयोजक पुष्पकमल दाहाल प्रचण्ड लाई बुझाएको ३६ बुँदे पत्रमा नेता हरिबोल गजुरेलमाथि गरिएको कारबाहीको विषयलाई समेत उठाएका छन् ।

खनालले गजुरेललाई पार्टीबाट निष्कासन गर्ने निर्णयको आधार, प्रक्रिया र औचित्यमाथि प्रश्न उठाउँदै कम्युनिस्ट पार्टीमा अनुशासन सम्बन्धी कारबाही विधि, विधान र सम्बन्धित कमिटीको निर्णयअनुसार हुनुपर्ने बताएका छन् ।

उनले गजुरेलले गरेको भनिएको गल्तीको प्रकृति स्पष्ट नगरी निष्कासन गरिएको उल्लेख गर्दै यस्तो अभ्यासले पार्टीभित्रको लोकतान्त्रिक पद्धति र आन्तरिक बहसको संस्कृतिलाई कमजोर बनाउन सक्ने धारणा व्यक्त गरेका छन् ।

३६ बुँदे पत्रमा खनालले फरक विचार वा मत राखेकै आधारमा नेताकार्यकर्तामाथि दण्डात्मक कारबाही गर्ने प्रवृत्तिले पार्टी एकता, पुनर्गठन र समाजवादी आन्दोलनलाई नकारात्मक असर पार्ने चेतावनी दिएका छन् । उनले संगठनभित्र देखिएका मतभेदलाई संवाद, बहस र वैचारिक संघर्षमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

खनालले पार्टीलाई थप लोकतान्त्रिक, विधिसम्मत र सामूहिक नेतृत्वको अभ्यासमा आधारित बनाउन आवश्यक रहेको उल्लेख गर्दै अनुशासनका नाममा गरिने एकपक्षीय निर्णयहरूले संगठनभित्र अविश्वास र विभाजनको वातावरण सिर्जना गर्न सक्ने बताएका छन् ।

उनको पत्र सार्वजनिक भएसँगै पार्टीभित्र अनुशासन, आन्तरिक लोकतन्त्र र नेतृत्व शैलीबारे नयाँ बहस सुरु भएको छ । गजुरेलमाथि गरिएको कारबाहीको विषयलाई लिएर विभिन्न तहका नेताहरूबीच पनि छलफल बढ्न थालेको बताइएको छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट