बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा फाइदा पुग्ने
काठमाडौं । बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न शुरु गर्ने उमेर केही ढिला गराउँदा उनीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ ।
अस्ट्रेलियाको न्यु साउथ वेल्स विश्वविद्यालयले गरेको अध्ययनअनुसार कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्न शुरु गर्ने किशोर किशोरीमा चिन्ता र अवसाद वा डिप्रेसनका लक्षण बढी देखिने गरेको सिन्ह्वाको खबरमा उल्लेख छ । यद्यपि, सामाजिक सञ्जालको खाता मात्र हुनु र मानसिक स्वास्थ्यसम्बन्धी समस्याबीचको सम्बन्ध तुलनात्मक रूपमा कमजोर रहेको पाइएको छ ।
अध्ययनकी प्रमुख अनुसन्धानकर्ता तथा न्यु साउथ वेल्स विश्वविद्यालयकी सहप्राध्यापक सुजेन स्वाइजरले बालबालिकाको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालको खाता हुनु मात्रभन्दा उनीहरूले पहिलो पटक सामाजिक सञ्जाल प्रयोग गर्न थालेको उमेर बढी महत्त्वपूर्ण देखिएको बताएका छन् ।
अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने व्यवस्था लागू हुनुअघि गरिएको यो अध्ययनमा १० देखि १५ वर्ष उमेर समूहका किशोर किशोरी र उनीहरूका एकरएक जना अभिभावक सहभागी गराइएका थिए । अध्ययनमा सहभागीमध्ये करिब ७० प्रतिशतले आफूले सामाजिक सञ्जाल प्रयोग गरिसकेको बताएका थिए भने झन्डै आधासँग सामाजिक सञ्जालको खाता रहेको थियो । उनीहरूले औसतमा ११ वर्षको उमेरमा पहिलो पटक सामाजिक सञ्जाल प्रयोग गर्न थालेको पाइएको थियो ।
अध्ययनमा सहभागी १० देखि १५ वर्ष उमेर समूहका करिब एक चौथाइ बालबालिकाले प्रतिबन्ध लागू भएपछि सामाजिक सञ्जाल प्रयोग गर्न पूर्ण रूपमा बन्द गर्ने योजना बनाएको बताएका थिए । त्यस्तै, ३४ प्रतिशतले खाता नखोली सामाजिक सञ्जाल प्रयोग गर्ने र ३५ प्रतिशतले प्रतिबन्धलाई छल्दै आफ्नो खाता प्रयोगलाई निरन्तरता दिने उपाय खोज्ने बताएका थिए ।
अनुसन्धानकर्ताहरूका अनुसार बालबालिकालाई सामाजिक सञ्जालमा प्रवेश गर्न केही समय ढिलाइ गराउनु मानसिक स्वास्थ्य संरक्षणका लागि उपयोगी नीतिगत उपाय हुन सक्नेमा जोड दिइएको छ । यससँगै बालबालिकालाई सुरक्षित तथा स्वस्थ डिजिटल बानी विकास गर्न आवश्यक शिक्षा र मार्गदर्शन प्रदान गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुने अध्ययनले सुझाव दिएको छ।
सम्बन्धित समाचार
पुराना स्वास्थ्य बिमा सदस्यले अनिवार्य केवाइसी अपडेट गर्नुपर्ने
स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध पुराना बीमितलाई अनिवार्य रूपमा केवाइसी अपडेट गर्न आग्रह गरेको छ।बोर्डले बीमित र उनका परिवारको...
सडकमै सुत्केरी प्रकरण : अस्पतालका ६ कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो
काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका ६ कर्मचारीलाई कामकाजबाट हटाइएको छ । सडकमै सुत्केरी प्रकरणपछि अस्पताल प्रशासनले...
अत्यधिक तातो चिया वा कफी पिउँदा क्यान्सर हुन सक्ने जोखिम
बेलायतमा भएको अनुसन्धानले धेरै तातो चिया र कफीजस्ता पेय पदार्थहरू नियमित पिउँदा अन्ननलीको क्यान्सरको जोखिम बढ्न सक्ने देखाएको छ ।अनुसन्धानकर्ताहरूले...
मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
काठमाडौं। विश्व स्वास्थ्य संगठन ले नेपाललाई मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था निरन्तर एक दशकसम्म कायम राख्न सफल भएको भन्दै सम्मान गरेको...




