भारतमा क्यान्सर पत्ता लगाउन कुकुर र एआईको सहकार्य
भारतमा कुकुरको सुघ्ने क्षमता र कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको संयोजनबाट क्यान्सरको प्रारम्भिक सङ्केत पहिचान गर्ने प्रयास अघि बढाइएको छ । बेङ्गलुरुमा रहेको स्टार्टअप ‘डोग्नोसिस’ ले कुकुरको गन्धप्रतिको प्रतिक्रिया एआईमार्फत विश्लेषण गरी परीक्षण विधि विकास गरिरहेको समाचार संस्था एएफपीले जनाएको छ ।
‘डोग्नोसिस’ ले १५ वटा कुकुरलाई तालिम दिएको छ । कुकुरलाई सेन्सरयुक्त उपकरण लगाएर मस्तिष्क गतिविधि, श्वासप्रश्वास र शरीरको भाषा अभिलेख गरिन्छ । बिरामीले झन्डै १० मिनेट कपासको मास्कमा सास फेरेपछि त्यो नमूना प्रयोगशालामा लगेर कुकुरमार्फत परीक्षण गरिन्छ । यस क्रममा बिरामी र कुकुरबीच प्रत्यक्ष सम्पर्क हुँदैन ।
‘डोग्नोसिस’ का अनुसार कर्नाटकका ६ अस्पतालमा १ हजार ५०० जनाभन्दा धेरै सहभागिमा गरिएको अध्ययनमा ७ प्रमुख प्रकारका क्यान्सर पहिचानमा ९० प्रतिशतभन्दा धेरै शुद्धता हासिल भएको छ । यो अध्ययन ‘जर्नल अफ क्लिनिकल ओन्कोलोजी’ मा प्रकाशित भएको छ । कम्पनीले अर्को वर्ष यसको व्यावसायिक प्रयोग शुरू गर्ने लक्ष्य राखेको छ ।
क्यान्सरको प्रारम्भिक पहिचानले उपचारको प्रभावकारिता बढाउन सक्ने भए पनि भारतमा धेरै बिरामीको रोग विकसित भएपछि मात्र पहिचान हुने गरेको छ । त्यसैले कुकुरको सुघ्ने क्षमतालाई सहज र कम खर्चिलो प्रारम्भिक परीक्षणका रूपमा प्रयोग गर्न सकिने अपेक्षा गरिएको छ ।
स्वतन्त्र क्यान्सर विशेषज्ञहरूले भने प्रारम्भिक परिणामलाई आशाजनक भए पनि थप ठूलो अध्ययन आवश्यक रहेको बताएका छन् । रमैया मेमोरियल अस्पतालका सन्तोष कुमार देवदास र मणिपाल अस्पतालका नीलेश रेड्डीले प्रविधिको वास्तविक चिकित्सकीय उपयोगिता थप अनुसन्धानबाट पुष्टि हुनुपर्ने बताउनुभयो ।
मानिसको तुलनामा कुकुरमा झन्डै ३० करोड घ्राण रिसेप्टर हुने र रोगका कारण शरीरबाट निस्कने रसायनमा हुने परिवर्तनले विशेष गन्ध सिर्जना गर्न सक्ने अनुसन्धानले देखाएको छ । यही क्षमतालाई एआईसँग जोडेर क्यान्सर पहिचानको नयाँ विधि विकास गर्न खोजिएको खबरमा उल्लेख छ ।
‘डोग्नोसिस’ ले कुकुरलाई सकारात्मक प्रोत्साहनमार्फत विशेष गन्ध पहिचान गर्न तालिम दिने गरेको छ । कुकुरलाई दिनमा ३० देखि ४५ मिनेट मात्र काम गराइने कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
आजदेखि १८औँ ब्रिक्स शिखर सम्मेलन, भारतमा दर्जन बढी देशका नेता भेला हुँदै
भारतको नयाँ दिल्लीस्थित भारत मण्डपममा १८औँ ब्रिक्स शिखर सम्मेलन आजदेखि सुरु हुँदैछ।दुई दिनसम्म चल्ने सम्मेलनमा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया,...
पुराना स्वास्थ्य बिमा सदस्यले अनिवार्य केवाइसी अपडेट गर्नुपर्ने
स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध पुराना बीमितलाई अनिवार्य रूपमा केवाइसी अपडेट गर्न आग्रह गरेको छ।बोर्डले बीमित र उनका परिवारको...
इरानका राष्ट्रपति भारतमा
काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेस्कियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन दिल्ली आइपुगेका छन्। भारत आगमनमा उनलाई जहाज मन्त्रालयका राज्यमन्त्री...
सडकमै सुत्केरी प्रकरण : अस्पतालका ६ कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो
काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका ६ कर्मचारीलाई कामकाजबाट हटाइएको छ । सडकमै सुत्केरी प्रकरणपछि अस्पताल प्रशासनले...




