सल्यानको दार्मामा स्क्रबटाइफस संक्रमण फैलिँदै
ज्वरो आएपछि सामान्य औषधि सेवन गरेर घरमै बस्ने क्रम बढ्दा सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफस संक्रमण गम्भीर बन्दै गएको छ। संक्रमणको जस्तै लक्षण देखिएका चार जनाको तीन साताको अवधिमा मृत्यु भएको छ भने प्रभावित क्षेत्रमा गरिएको परीक्षणमा एक सयभन्दा बढीमा स्क्रबटाइफस संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ।
स्वास्थ्य सेवा कार्यालय सल्यानलाई उद्धृत गर्दै स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक रविन खड्काले स्क्रबटाइफस संक्रमणको जस्तै लक्षण देखिएर चार जनाको मृत्यु भएको जानकारी दिए। उनका अनुसार सोही प्रकृतिका अन्य बिरामीमा परीक्षण गर्दा स्क्रबटाइफस संक्रमण देखिएको छ।
‘डाक्टरसहितको टोली प्रभावित क्षेत्रमा खटिएको छ। ’ स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक खड्काले भने, ‘परीक्षण र उपचारलाई तीव्र बनाइएकाले छिटै नियन्त्रणमा आउने आशा गरेका छौं।’
स्क्रबटाइफस संक्रमणको जस्तै लक्षण देखिएका तीन साताको अवधिमा मृत्यु हुनेमा दार्मा गाउँपालिका– ५ लयटा ढाँकाडामका ६९ वर्षीय तुलबहादुर खड्का, ६ लिवाङका ८२ वर्षीय बलबहादुर थापा, नरबहादुर बुढाथोकी र २ सिलिङ्गेका १२ वर्षीय नरेश ओली रहेका छन्। उनीहरूको दाङ तथा नेपालगन्जका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
बिरामी बढ्दै गएपछि स्वास्थ्य सेवा कार्यालय सल्यान र गाउँपालिकाको सहकार्यमा प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। स्वास्थ्य संस्थाबाट किटद्वारा परीक्षण गर्दा दैनिक चार–पाँच जनासम्ममा संक्रमण पुष्टि हुने गरेको स्वास्थ्यकर्मीले बताए।
तीन सातामा चारजनाको मृत्यु र ठुलो संख्यामा संक्रमण पुष्टि भएपछि दार्माका स्थानीय त्रसित भएका छन्। गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढेपछि स्वास्थ्यकर्मी टोली परिचालन गरिएको हो।
स्वास्थ्यकर्मीका अनुसार सुरुमा सामान्य ज्वरो आएको भन्दै मेडिकलबाट आफ्नै तरिकाले औषधि सेवन गर्ने, तर स्वास्थ्यमा सुधार नआएपछि मात्र परीक्षणका लागि स्वास्थ्य संस्था पुग्ने प्रवृत्तिले जोखिम बढाएको छ। परीक्षणपछि संक्रमण पुष्टि भएका कतिपय बिरामी स्वास्थ्यकर्मीको सल्लाहअनुसार औषधि सेवन गर्दा निको हुँदै गएको जनाइएको छ।
सम्बन्धित समाचार
बयानब्बे जनामा डेङ्गु सङ्क्रमण
चितवन। जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। चालु आर्थिक वर्षको दुई महिनामा उपचारका लागि आएका...
विपद् व्यवस्थापनका लागि संसदीय समिति बनाउने सर्वदलीय बैठकको निर्णय
रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले विपद् व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय गरेको छ।बैठकले...
गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
गण्डकी प्रदेशका १० जिल्लामा गत पुस-माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ। मनाङमा यस वर्ष अहिलेसम्म डेङ्गुको सङ्क्रमण...
जलनका बिरामीको उपचारका लागि कीर्तिपुर अस्पताललाई २ करोड
काठमाडौं महानगरपालिकाले जलनका बिरामीको उपचार तथा आवश्यक उपकरण व्यवस्थापनका लागि कीर्तिपुर अस्पताललाई २ करोड रुपैयाँ उपलब्ध गराएको छ। महानगरपालिकाले...




