Techie IT
KTM Post
आईतबार, ७ असार, २०८३

अमेरिका–इरान प्रत्यक्ष वार्ता आज, पाकिस्तानका प्रधानमन्त्री शरीफ पनि सहभागी हुने


काठमाडौं । अमेरिका र इरानबीच आज स्विट्जरल्याण्डमा उच्चस्तरीय प्रत्यक्ष वार्ता हुँदैछ। आणविक कार्यक्रम, क्षेत्रीय सुरक्षा र लेबनान युद्धविरामलगायत विषयमा केन्द्रित वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसमेत सहभागी हुने जनाइएको छ।

रोयटर्सका अनुसार भान्स शनिबार वाशिङ्टनबाट स्विट्जरल्याण्ड प्रस्थान गरेका छन्। यसअघि उनको भ्रमण अन्तिम समयमा रोकिएको खबर सार्वजनिक भए पनि रोयटर्स र बीबीसीले उनी वार्तास्थलतर्फ गएको पुष्टि गरेका छन्। इरानी प्रतिनिधिमण्डल भने यसअघि नै स्विट्जरल्याण्ड पुगिसकेको छ।

बीबीसीका अनुसार भान्सले वार्ताबाट आणविक मुद्दा र लेबनानसँग सम्बन्धित विषयमा सकारात्मक प्रगति हुने अपेक्षा व्यक्त गरेका छन्। उनले इजरायल र हेजबुल्लाहबीचको तनाव क्रमशः कम हुँदै गएको दाबी गर्दै इजरायल र लेबनान दुवैको सुरक्षा सुनिश्चित गर्नु मुख्य उद्देश्य रहेको बताएका छन्।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भने सम्झौताअनुसार अन्य पक्षले पनि आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने अडान इरानले राख्ने बताएका छन्।

यसैबीच, पाकिस्तानका प्रधानमन्त्री शरीफ वार्ताको प्रारम्भिक चरणमा सहभागी हुने भएका छन्। पछिल्लो तनावका क्रममा पाकिस्तानले अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका खेलेको बताइएको छ।

शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरानबीच सहमति नभए होर्मुज जलडमरूमध्य प्रयोग गर्ने जहाजमाथि शुल्क लगाउन सकिने चेतावनी दिएका थिए। यता इरानले भने १४ बुँदे समझदारी कार्यान्वयन नभएको आरोप लगाउँदै होर्मुज जलडमरूमध्य बन्द गर्ने निर्णयको बचाउ गरेको छ।

तर अमेरिकी सेनाले जलमार्ग खुला रहेको र जहाजहरूको आवतजावत सामान्य रहेको जनाएको छ। सेन्टकमका अनुसार शनिबार मात्रै ५५ वटा व्यापारिक जहाजले उक्त मार्ग प्रयोग गरेका थिए।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट