Techie IT
KTM Post
आईतबार, ७ असार, २०८३

रास्वपा महाधिवेशन उद्घाटनमा गृहमन्त्री सुदन गुरुङ मञ्चमा, आसन व्यवस्थामाथि चर्चा


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ। भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजित उद्घाटन समारोहमा पार्टीका केन्द्रीय पदाधिकारी तथा आमन्त्रित राजनीतिक दलका नेताहरूलाई मञ्चमा आसन ग्रहण गराइएको छ।

पार्टीले मन्त्री, सांसद तथा केन्द्रीय सदस्यहरूका लागि भने दर्शकदीर्घाको अगाडिको पंक्तिमा छुट्टै आसन व्यवस्था गरेको छ। सोही अनुसार अधिकांश मन्त्रीहरू दर्शकदीर्घामा बसेका छन्।

तर पदाधिकारी नरहेका गृहमन्त्री सुदन गुरुङ भने मञ्चमै बसेपछि कार्यक्रमस्थलमा केहीबेर चर्चा भएको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र पार्टी सभापति रवि लामिछानेसँगै कार्यक्रमस्थल पुगेका गुरुङ सुरुआतमा मञ्च नजिक उभिएका थिए। त्यसपछि उनले आफैं कुर्सी सारेर प्रधानमन्त्री शाहको पछाडि राखी मञ्चमै आसन ग्रहण गरेका थिए।

यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा दर्शकदीर्घाको पहिलो पंक्तिमा बसेकी छन्। सञ्चार मन्त्री विक्रम तिमिल्सिना र स्वास्थ्य मन्त्री निशा मेहेता पनि दर्शकदीर्घामै आसन ग्रहण गरेका छन्।

पार्टी पदाधिकारीको जिम्मेवारीमा रहेका मन्त्रीहरू भने मञ्चमा देखिएका छन्। उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री शिशिर खनाल तथा सहमहामन्त्री सोविता गौतम पदाधिकारीको हैसियतमा मञ्चमा आसन ग्रहण गरेका हुन्।

महाधिवेशनको उद्घाटन सत्रमा आसन व्यवस्थालाई लिएर उपस्थित प्रतिनिधि तथा कार्यकर्ताबीच चासो देखिएको थियो। रास्वपाको पहिलो महाधिवेशनमा देशभरबाट हजारौँ प्रतिनिधि सहभागी भएका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट