Techie IT
KTM Post
बिहीबार, २५ असार, २०८३

नेकपा सांसद हमालको संशय: ‘गाडीको सिटमा प्रधानमन्त्री हुनुहुन्छ, सफ्टवेयर अन्तैबाट चल्छ’


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका सांसद प्रमेशकुमार हमालले वर्तमान सरकारले विधिको शासन, सुशासन र पारदर्शितालाई बेवास्ता गर्दै शासन सञ्चालन गरिरहेको आरोप लगाएका छन्।बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद हमालले सरकारले आफूलाई तीव्र गतिमा काम गरिरहेको देखाउन खोजे पनि कानुनी प्रक्रिया र संस्थागत प्रणालीलाई कमजोर बनाएको टिप्पणी गरे।

उनले सरकारलाई राजमार्गमा तीव्र गतिमा गुडिरहेको एक्सप्रेस गाडीसँग तुलना गर्दै गति मात्र पर्याप्त नहुने, विधि–विधान र कानुनी प्रक्रियाको पालना पनि उत्तिकै आवश्यक रहेको बताए।डिजिटल प्रविधि र अल्गोरिदमको प्रसंग उल्लेख गर्दै उनले सरकारको निर्णय प्रक्रिया स्वतन्त्र छ कि छैन भन्ने प्रश्न पनि उठाए। सरकार प्रमुख चालकको सिटमा देखिए पनि सरकार ‘अटो ड्राइभ’ मोडमा चलेको जस्तो अनुभूति भइरहेको भन्दै त्यसको वास्तविक नियन्त्रण पर्दापछाडिबाट कसैले गरिरहेको त होइन भन्ने आशंका व्यक्त गरे।

सांसद हमालले सुशासनको नारा दिएर गठन भएको सरकारले व्यवहारमा भने प्रतिशोधको राजनीति गरिरहेको आरोप लगाए। उनका अनुसार सरकारका गतिविधिले नागरिकमा त्रास सिर्जना गर्ने अवस्था बनेको छ।उनले विगतमा संसद्मा उठेको ‘पहिला थुन्ने अनि सुन्ने’ प्रवृत्तिको स्मरण गर्दै अहिलेको सरकारले ‘पहिला थुन्ने, त्यसपछि जे हुन्छ हेर्ने’ शैली अपनाएको टिप्पणी गरे। यस्तो प्रवृत्तिले विधिको शासन र सुशासनमाथि नै प्रश्न उठाएको उनको भनाइ थियो।

सत्ता पक्ष र सरकारमा रहेका व्यक्तिहरूका लागि सुशासनका मापदण्ड लागू नहुने अवस्था सिर्जना हुन थालेको भन्दै उनले चिन्ता व्यक्त गरे।

सरकार प्रमुख, मन्त्रीहरू तथा सार्वजनिक पदमा रहेका सबै व्यक्तिहरू पारदर्शी, जवाफदेही र कानुनी शासनप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिँदै सांसद हमालले सरकारले विधिको शासनलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट