मन्त्री नपाएपछि अमरेशको विद्रोह, निशानामा बालेन
काठमाडौं । आफूलाई पुराना राजनीतिक दलको विकल्पका रूपमा प्रस्तुत गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि अब पुरानै दलमा देखिने पद, शक्ति र प्रभावको संघर्ष देखिन थालेको छ । पार्टीका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह र उनका राजनीतिक सल्लाहकार कुमार बेनलाई लक्षित गर्दै सार्वजनिक रूपमा आक्रामक अभिव्यक्ति दिन थालेपछि रास्वपाभित्रको असन्तुष्टि सतहमा आएको हो ।
सिंहले प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै ‘तपाईंको सत्ता तासको पत्ता हो’ भन्ने टिप्पणी गरेका छन् । आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध सांसदबाट आएको यो अभिव्यक्ति सामान्य असहमति मात्र नभई रास्वपाभित्र विकसित भइरहेको शक्ति संघर्षको संकेत भएको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ ।
सिंहको राजनीतिक पृष्ठभूमि पनि रास्वपाको मूल राजनीतिक धारभन्दा फरक छ । महन्थ ठाकुरको स्वकीय सचिवका रूपमा राजनीतिक यात्रामा प्रवेश गरेका सिंह त्यसपछि नेपाली कांग्रेसमा पुगे । कांग्रेसबाट सांसद बनेका उनी पछि स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन लडे । त्यसपछि रास्वपामा प्रवेश गरे ।
अर्थात्, सिंहको राजनीतिक यात्रा एउटा दलमा स्थायी वैचारिक प्रतिबद्धताभन्दा बदलिँदो राजनीतिक शक्ति-समीकरणसँग बढी जोडिएको देखिन्छ । यही कारण रास्वपाभित्र उनको प्रवेशलाई लिएर सुरुदेखि नै प्रश्न उठ्दै आएका थिए ।
रास्वपा सरकारमा पुगेपछि भने सिंहको महत्वाकांक्षा थप स्पष्ट भएको पार्टी निकट स्रोतहरूको दाबी छ । उनी सरकारमा महत्वपूर्ण जिम्मेवारी, विशेषगरी मन्त्री बन्न इच्छुक थिए । तर मन्त्रिपरिषदमा उनको स्थान सुनिश्चित भएन । त्यसपछि पार्टी नेतृत्वप्रति उनको असन्तुष्टि बढ्दै गएको बताइन्छ ।
पार्टीको महाधिवेशनमा समेत उनको अनुपस्थिति रह्यो । त्यसपछि उनलाई पार्टीको नेतृत्व संरचनामा महत्वपूर्ण जिम्मेवारी दिने विषयमा आन्तरिक छलफल भएको बताइन्छ । उनलाई उपाध्यक्ष बनाउने आश्वासन रवि लामिछानेबाट दिइएको चर्चा पनि पार्टीभित्र छ ।
यही पृष्ठभूमिमा सिंहका पछिल्ला अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । मन्त्री पद नपाएको असन्तुष्टि, नेतृत्वमा आफ्नो स्थान खोज्ने प्रयास र प्रधानमन्त्रीसँग बढ्दो दूरी एकैपटक देखिन थालेका छन् ।
सिंहले प्रधानमन्त्री बालेन मात्र होइन, उनका राजनीतिक सल्लाहकार कुमार बेनप्रति पनि सार्वजनिक रूपमा प्रश्न उठाइरहेका छन् । बालेन नेतृत्वको सरकार र त्यसको राजनीतिक सञ्चालनमाथि निरन्तर प्रहार हुन थालेपछि रास्वपाभित्र व्यक्तिगत असहमति राजनीतिक संघर्षमा परिणत हुँदै गएको देखिन्छ ।
सिंहमाथि अर्को राजनीतिक आरोप पनि लाग्ने गरेको छ । उनी भारतको संस्थापन पक्षसँग आफ्नो निकटता खुलेर दाबी गर्ने नेताका रूपमा प्रस्तुत हुँदै आएका छन् । यही कारण उनका पछिल्ला अभिव्यक्तिलाई नेपालमा बढ्दो राजनीतिक अस्थिरताको व्यापक सन्दर्भसँग जोडेर हेर्नेहरू पनि छन् ।
रास्वपाभित्रको असन्तुष्टि पदको लडाइँ मात्रै हो कि यसको पछाडि ठूलो राजनीतिक शक्ति-संघर्ष पनि छ ?
रास्वपाले आफूलाई पुराना दलको विकल्पका रूपमा स्थापित गर्न खोजेको हो । तर पुराना दलबाट आएका नेताहरूलाई महत्वपूर्ण स्थान दिँदै जाँदा त्यही दलहरूमा देखिने गुटबन्दी, पदको प्रतिस्पर्धा र व्यक्तिगत महत्वाकांक्षा रास्वपाभित्र पनि प्रवेश गर्ने जोखिम बढेको छ ।
अमरेश प्रकरणले यही विरोधाभासलाई उजागर गरेको छ । नयाँ राजनीतिको नाममा बनेको पार्टीभित्र पुरानो राजनीतिक संस्कार पुनरावृत्ति हुन थालेको हो भने त्यसले रास्वपाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउनेछ ।
अहिलेको मुख्य प्रश्न अमरेश सिंहले बालेनलाई किन आलोचना गरे भन्ने मात्र होइन । प्रश्न अझ गम्भीर छ, मन्त्री नपाएको असन्तुष्टि, नेतृत्वमा पदको आकांक्षा र प्रधानमन्त्रीविरुद्धको सार्वजनिक विद्रोहले रास्वपालाई पुराना दलजस्तै शक्ति संघर्षको मैदानमा धकेल्दै त छैन ?
सिंहको पछिल्लो गतिविधिले यही प्रश्नलाई थप पेचिलो बनाएको छ ।
सम्बन्धित समाचार
महासभामा नेपालको प्रमुख अजेन्डा जलवायु न्याय, प्रधानमन्त्रीको सम्बोधन असोज ८ मा
प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु संकटको अग्रपंक्तिमा नेपाल रहेको विषयलाई प्रमुखताका साथ उठाउँदै जलवायु न्याय,...
राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सहभागिता: कुन-कुन विषय गर्दैछन् सम्बोधन ?
प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालका तर्फबाट जलवायु परिवर्तन र त्यसबाट सिर्जित क्षतिको विषयलाई प्रमुखताका साथ...
रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज तयार पार्न बनायो ११ सदस्यीय समिति
राष्ट्रिय स्वतन्त्र पार्टी ले ‘राइट टु रिकल’ अर्थात् निर्वाचित जनप्रतिनिधिलाई जनताले फिर्ता बोलाउन सक्ने व्यवस्थासम्बन्धी दस्तावेज तयार गर्न ११...
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
काठमाडौं। भोटेकोशी बाढीका कारण सिर्जित असामान्य तथा प्रतिकूल परिस्थितिबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न...




