समस्याग्रस्त सहकारीका १४ सय बचतकर्ताको बचत फिर्ता, एक करोड ऋण असुली
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जेठ महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ। समितिका अनुसार यस महिनामा विभिन्न समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने र ऋणीहरूबाट बक्यौता असुल गर्ने कार्यमा महत्वपूर्ण प्रगति भएको देखिएको हो।
समितिले सार्वजनिक गरेको विवरण अनुसार, जेठ महिनामा ८ वटा समस्याग्रस्त सहकारीका कुल एक हजार ४५२ जना बचतकर्ताहरूलाई ५९ लाख ४ हजार ६८९ रुपैयाँ बचत फिर्ता पाएका छन। फिर्ता गरिएको यो रकम मुख्यतया १० हजार रुपैयाँभन्दा मुनिका साना बचतकर्ताहरूको रहेको समितिले बताएको छ ।
बचत फिर्ता गरिएका सहकारीहरूमा कृषि विकास बहुउद्देश्यीय, कान्तिपुर सेभिङ एण्ड क्रेडिट, पशुपति सेभिङ, नागरिक कल्याण, ओरिएन्टल को–अपरेटिभ, गोरखा सेभिङ, शिव शिखर र लालिगुराँस बहुउद्देश्यीय सहकारी रहेका छन्। यी सहकारीका ऋणीहरूबाट असुल भएको रकमबाट दाबीकर्ताहरूलाई दाबी भुक्तानी गरिएको समेत समितिले जनाएको छ।
त्यसैगरी, यस महिना समिलिले ऋण असुलीतर्फ पनि सफलता प्राप्त गरेको छ। १२ वटा समस्याग्रस्त सहकारीका ऋणीहरूबाट कुल एक करोड २० लाख ४६ हजार रुपैयाँ ऋण असुली भएको समितिले उल्लेख गरेको छ। यसैगरी, १२२ जना बचतकर्ताको ५१ लाख ५१ हजार रुपैयाँ बराबरको बचत मिलान समेत गरिएको हो।
बचत मिलान र ऋण असुली भएका सहकारीहरूमा ओरिएन्टल, तुलसी, कृषि विकास, आइडियल यमुना, शिव शिखर, स्ट्याण्डर्ड सेभिङ, लालिगुराँस, कान्तिपुर, गौतमश्री, पशुपति, गोरखा र नेपाल सहकारी वित्तीय संस्था रहेका छन्।
साथै, बचत फिर्ताका लागि भेरिफिकेसन गर्न बाँकी रहेका करिब ४४ हजार मागदाबी निवेदनहरूको चरणबद्ध रूपमा छानबिन भइरहेको छ। बचतकर्ताको मागदाबी रुजु तथा संशोधन गर्न छुट्टै हेल्प डेस्क समेत सञ्चालनमा ल्याइएको समितीले बताएको छ। समस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक र पूर्व सञ्चालकहरूको नाममा रहेको सम्पत्ति खोजी गर्न रणनीतिक योजनासहित टोली परिचालन गरिएको समितीले उल्लेख गरेको छ। ऋणीहरूको ऋण दायित्व गणनाका लागि सफ्टवेयर विकास गरी कर्मचारीलाई तालिम दिने कार्य सुरु भएको छ।
समितिको कार्यालयमा कार्यरत कर्मचारीहरूको नयाँ संगठनात्मक संरचना स्वीकृत गरी जिम्मेवारी बाँडफाँड गरिएको छ। त्यसैगरी, जेठ महिनामा मात्रै समितिका १६ वटा बैठकहरू सम्पन्न भई १८९ वटा विभिन्न निर्णयहरू गरिएका छन्।
समितिले हाल अनलाइन मागदाबी प्रणालीमा सुधार गर्दै बचतकर्ताले आफैँ आफ्नो मागदाबीको अवस्था हेर्न मिल्ने गरी प्रविधिमा सुधार गरिरहेको समेत जानकारी दिएको छ। समस्याग्रस्त सहकारीका ऋणीहरूको पहिचान गरी रोक्का राख्ने र उनीहरूको तीनपुस्ते विवरण तयार गर्ने कार्यलाई पनि तीव्रता दिइएको प्रगति प्रतिवेदनमा उल्लेख छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया