Techie IT
KTM Post
बुधबार, ३ असार, २०८३

असार मसान्तसम्म १७ लाख लाइसेन्स छाप्ने लक्ष्य, हालसम्म ७ लाख स्मार्ट कार्ड प्रिन्ट


काठमाडौं । वर्षौंदेखिको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको समस्या समाधान गर्न सरकारले प्रक्रिया तीव्र बनाएको छ। सुरक्षण मुद्रण केन्द्रमार्फत भइरहेको छपाइ अभियानअन्तर्गत दोस्रो चरणमा छापिनुपर्ने १७ लाख लाइसेन्समध्ये हालसम्म करिब ७ लाख स्मार्ट कार्ड प्रिन्ट भइसकेका छन्।

यसअघि केन्द्रले पहिलो सम्झौताअनुसार १२ लाख लाइसेन्स छपाइ गरी गत वैशाख १२ गते यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको थियो। त्यसपछि सरकारले थप १७ लाख लाइसेन्स छपाइको जिम्मेवारी केन्द्रलाई दिएको हो।

सुरक्षण मुद्रण केन्द्रका अनुसार दोस्रो चरणमा हालसम्म करिब ७ लाख लाइसेन्स छापिएको छ भने १ लाख २४ हजार लाइसेन्स उत्पादन प्रक्रियामा छन्। अझै ८ लाख ७६ हजार लाइसेन्स छाप्न बाँकी रहेको केन्द्रले जनाएको छ।

केन्द्रले हाल दैनिक ठूलो संख्यामा लाइसेन्स उत्पादन गरिरहेको र आगामी असार मसान्तसम्म दोस्रो सम्झौताअन्तर्गतका सबै १७ लाख लाइसेन्स छपाइ सम्पन्न गर्ने लक्ष्य राखेको छ। दोस्रो चरणको सम्झौता २०८३ वैशाख ४ गते भएको थियो भने यसको म्याद असार ३२ गतेसम्म कायम छ।

छपाइ सम्पन्न भएका लाइसेन्समध्ये अत्यावश्यक र लामो समयदेखि रोकिएका ब्याकलग लाइसेन्सलाई प्राथमिकता दिइएको छ। विभागका अनुसार छापिएका लाइसेन्स सम्बन्धित प्रदेश यातायात कार्यालयमार्फत वितरणसमेत भइरहेको छ।

सरकारले शासकीय सुधारअन्तर्गत सवारी लाइसेन्स हुलाक सेवामार्फत घर–घरमा पुर्‍याउने योजना पनि अघि बढाएको छ। सुरक्षण मुद्रण केन्द्रका एक कर्मचारीका अनुसार साउनअघि नै बाँकी लाइसेन्स छपाइ सम्पन्न हुने अपेक्षा गरिएको छ। त्यसपछि लाइसेन्स वितरणलाई थप सहज बनाउँदै घरमै डेलिभरी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन सकिने विश्वास गरिएको छ।

विगतमा ट्रायल परीक्षा उत्तीर्ण गरेपछि पनि चालकहरूले ४–५ वर्षसम्म स्मार्ट लाइसेन्स प्राप्त गर्न नसक्ने अवस्था थियो। जसका कारण धेरै सेवाग्राहीले नगदी रसिद वा अस्थायी कागजातका आधारमा सवारी चलाउनुपर्ने बाध्यता भोग्दै आएका छन्। सरकारको पछिल्लो पहलसँगै यस्तो समस्या क्रमशः अन्त्य हुने अपेक्षा गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट