म्यानपावर व्यवसायीको विरोधपछि साउदीको अनिवार्य सिप परीक्षण कार्यक्रम स्थगित
काठमाडौं । साउदी अरबले नेपाली श्रमिकका लागि अनिवार्य बनाउन लागेको ‘स्किल्स भेरिफिकेसन प्रोग्राम’ (एसभीपी) म्यानपावर व्यवसायीहरूको तीव्र विरोधपछि तत्कालका लागि स्थगित भएको छ।
साउदी पक्षले बुधबारदेखि काठमाडौंको बसुन्धरास्थित केन्द्रबाट सामान्य श्रमिकहरूको सिप परीक्षण सुरु गर्ने तयारी गरेको थियो। तर उद्घाटन कार्यक्रम चलिरहेकै बेला ठूलो संख्यामा पुगेका वैदेशिक रोजगार व्यवसायीहरूले विरोध प्रदर्शन गरेपछि कार्यक्रम प्रभावित बनेको हो।
विरोधमा उत्रिएका व्यवसायीहरूले ‘सिप प्रमाणीकरण कार्यक्रम’ सम्बन्धी बोर्ड हटाउनुका साथै नाराबाजी गरेका थिए। उनीहरूले नेपाल–साउदी श्रम सम्झौताविपरीत नेपाल सरकारसँग पर्याप्त समन्वय र सहमति नगरी एकतर्फी रूपमा लागू गर्न खोजिएको व्यवस्था स्वीकार्य नहुने बताएका छन्।
व्यवसायीहरूको विरोधका कारण उद्घाटन समारोहमा सहभागी हुने तय भएका नेपालका लागि साउदी अरबका राजदूतसमेत कार्यक्रममा उपस्थित हुन सकेनन्। प्रदर्शनकारीहरूले ‘साउदीको सिन्डिकेट खारेज गर’ लगायतका नारासमेत लगाएका थिए।
विवाद बढेपछि कार्यक्रम सञ्चालनको जिम्मा पाएको इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपालले बुधबारदेखि लागू गर्ने भनिएको एसभीपी कार्यक्रम हाललाई स्थगित गरिएको जनाएको छ।
साउदी अरबले नयाँ व्यवस्थाअनुसार सिप परीक्षणमा उत्तीर्ण नभएका श्रमिकलाई श्रम स्वीकृति तथा भिसा नदिने तयारी गरेको थियो। परीक्षणका लागि श्रमिकले परीक्षा शुल्क ५० अमेरिकी डलर र पूर्वसिकाइ मान्यता (आरपीएल) शुल्क ५० डलर गरी कुल १०० अमेरिकी डलर (करिब १५ हजार रुपैयाँ) तिर्नुपर्ने व्यवस्था गरिएको थियो।
यस कार्यक्रमअन्तर्गत श्रमिकहरूले अनलाइनमार्फत आफ्ना सिपसम्बन्धी प्रमाणपत्र अपलोड गर्नुपर्ने तथा प्रमाणित सिप परीक्षण पास गरेपछि मात्र साउदी रोजगारीका लागि योग्य मानिने व्यवस्था थियो।
प्रारम्भिक चरणमा सामान लोड–अनलोड गर्ने कामदार, भरिया, ठेला चालक तथा निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई सिप परीक्षणको दायरामा ल्याउने योजना बनाइएको थियो। यद्यपि निर्माण क्षेत्रभित्र कुन–कुन पेशाका श्रमिकलाई परीक्षणमा समावेश गरिने भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।
क्याटेगोरी : समाचार












प्रतिक्रिया