Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

मनसुन ढिलाइको असर : देशभर ११.३३ प्रतिशत मात्रै धान रोपाइँ


काठमाडौं । समयमै मनसुन सक्रिय हुन नसक्दा देशभर धान रोपाइँ प्रभावित भएको छ। कृषि विभागका अनुसार १२ असारसम्म राष्ट्रिय रूपमा केवल ११.३३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। पर्याप्त वर्षा नहुँदा अधिकांश किसानले रोपाइँलाई अपेक्षित गति दिन सकेका छैनन्।

प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी २२.८ प्रतिशत रोपाइँ कर्णाली प्रदेशमा भएको छ। यद्यपि कर्णालीमा धानखेती हुने क्षेत्रफल अन्य प्रदेशको तुलनामा कम भएकाले रोपाइँको प्रतिशत उच्च देखिएको हो। यस वर्ष कर्णालीमा ४३ हजार २९० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म ९ हजार ८७५ हेक्टरमा रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ।

देशकै सबैभन्दा धेरै धानखेती हुने मधेश प्रदेशमा भने रोपाइँको अवस्था निकै सुस्त छ। तीन लाख ८३ हजार १५० हेक्टर क्षेत्रफलमा धान रोपिने अनुमान गरिएकामा हालसम्म पाँच प्रतिशत अर्थात् १९ हजार १५० हेक्टरमा मात्रै रोपाइँ भएको छ।

कोशी प्रदेशमा २ लाख ७६ हजार ३८७ हेक्टरमध्ये २२ हजार ८१५ हेक्टरमा रोपाइँ भई ८.३ प्रतिशत प्रगति भएको छ। बागमती प्रदेशमा एक लाख १४ हजार ५२४ हेक्टरमध्ये १४ हजार ४२० हेक्टरमा रोपाइँ सम्पन्न भई १२.६ प्रतिशत पुगेको छ।

त्यस्तै, गण्डकी प्रदेशमा ९३ हजार ६०६ हेक्टरमध्ये ११ हजार ८४६ हेक्टरमा रोपाइँ सकिँदा १२.७ प्रतिशत प्रगति भएको छ। लुम्बिनी प्रदेशमा दुई लाख ९९ हजार ८८१ हेक्टरमध्ये ६२ हजार ६७१ हेक्टरमा रोपाइँ सम्पन्न भई २०.९ प्रतिशत पुगेको छ।

जेठको अन्तिम सातादेखि नै रोपाइँ सुरु हुने सुदूरपश्चिम प्रदेशमा पनि यस वर्ष मनसुन ढिलाइको प्रभाव देखिएको छ। एक लाख ७० हजार ६५० हेक्टर क्षेत्रफलमध्ये हालसम्म १५ हजार ८०० हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ, जुन ९.३ प्रतिशत हो। सामान्यतया छिट्टै पाक्ने अगुवा धान लगाइने यस क्षेत्रमा समेत पर्याप्त वर्षा नहुँदा किसानले समयमै रोपाइँ गर्न सकेका छैनन्।

Notice File


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट