Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

त्रिविको नयाँ योजना : ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ खोल्ने, दलीय विद्यार्थी संरचना हटाइने


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई प्रवाह हुने सेवालाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन तथा विश्वविद्यालयभित्र विद्यार्थीको सहभागिता बढाउन विभिन्न सुधारका कार्यक्रम अघि बढाएको जनाएको छ।

त्रिविका निमित्त रजिष्ट्रार प्रा.डा. महानन्द चालिसेले विश्वविद्यालय अनुदान आयोगलाई पठाएको विवरणअनुसार त्रिविले हालको नियम संशोधन तथा आवश्यक व्यवस्था गर्न सम्बन्धित निकायमा प्रक्रिया अघि बढाएको छ।

त्रिविले परीक्षा नियन्त्रण कार्यालयमार्फत ट्रान्सक्रिप्टका लागि अनलाइन आवेदनको अवस्थाबारे विद्यार्थीले आफ्नै मोबाइल एप वा वेबसाइटबाट जानकारी लिन सक्ने प्रणाली विकास गरिरहेको जनाएको छ। यसका लागि विद्यार्थीले आफ्नो नाम, जन्ममिति, बाबुको नाम र रजिस्ट्रेसन नम्बर राखेर आवेदनको प्रगति हेर्न सक्ने व्यवस्था अन्तिम चरणमा पुगेको विश्वविद्यालयले उल्लेख गरेको छ।

यस्तै, त्रिविले तोकिएको समयसीमाभित्र परीक्षा नतिजा प्रकाशन गर्न आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ। ट्रान्सक्रिप्टमा मार्कसिट र रजिस्ट्रेसन कार्डबीच विवरण फरक परेमा आवेदन दिएको १५ दिनभित्र उपलब्ध गराउने व्यवस्था कार्यान्वयनको तयारीमा रहेको पनि विश्वविद्यालयले जनाएको छ।

स्नातक र स्नातकोत्तर तहको नतिजा प्रकाशनसम्बन्धी कार्यलाई थप व्यवस्थित बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको मापदण्डअनुसार निर्णय कार्यान्वयन भइरहेको त्रिविले जानकारी दिएको छ।

यसैगरी, विश्वविद्यालयले २४सै घण्टा सञ्चालन हुने नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। फोन, मोबाइल एप, पोर्टल र सामाजिक सञ्जालमार्फत गुनासो दर्ता गर्न सकिने व्यवस्था मिलाइनेछ भने विश्वविद्यालयको आधिकारिक वेबसाइटमा नियम, सूचना र सेवा सम्बन्धी विवरण नियमित अद्यावधिक गरिने उल्लेख छ।

शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिनभित्र विद्यालय/विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई ९० दिन भित्र Student Council/voice of student संयन्त्रको विकास गर्ने भनिएकाे छ ।

त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ (२०७७/०३/११ सम्मको संशोधनसहित) र त्रि.वि. सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० (२०८०/०३/१२ सम्मको संशोधनसहित) मा व्यवस्था भएबमोजिम हरेक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन रहेको तर दलीय विद्यार्थी सठनहरूलाई आधिकारिक रुपमा कुनै पनि संरचना उपभोग गर्न दिइएको छैन यदि कुनै क्याम्पसमा त्यस्ता संरचना बनाइएको पाइएमा तत्काल हटाउन मिति २०८३/०३/१५ मा पत्राचार गरिएको जनाएकाे छ ।

त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ (२०७७/०३/११ सम्मको संशोधनसहित) को परिच्छेद ३ दफा ८ उपदफा २ को (प) मा विश्वविद्यालय स्वतन्त्र विद्यार्थी यूनियनका सभापतिहरू मध्येबाट २ जना सदस्य त्रिवि सभाको सदस्य हुने व्यवस्था रहेको र त्रि.वि. सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० (२०८०/०३/१२ सम्मको संशोधनसहितको परिच्छेद ८१, ८२ र ८३ मा स्वतन्त्र विद्यार्थी यूनियनकाे व्यवस्था गरिएको छ।

विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ अन्तर्गत त्रि.वि. ऐन, २०४९ को दफा ८ को (प) मा त्रिभुवन विश्वविद्यालयका विद्यार्थी मध्ये १ जना महिलासहित २ जना सदस्य रहने व्यवस्था रहेकोले Student Council voice of student संयन्त्रको विकासगर्न विद्यमान नियममा संशोधन तथा व्यवस्था गर्नुपर्ने देखिएकोले त्रिभुवन विश्वविद्यालय सभाले सम्बन्धित नियम पारित गरेपश्चात सो प्रक्रिया अगाडि बढाइने उल्लेख गरेकाे छ ।

त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको शैक्षिक क्यालेन्डर अनुरुप तोकिएका परीक्षाहरूका नतिजा तोकिएको सिमा भित्रै प्रकाशन भइरहेको र ट्रान्सक्रिप्टको हकमा विद्यार्थीहरूले प्राप्त गरेका मार्कसिटहरूमा रजिष्ट्रेशन कार्डमा उल्लेख भएअनुसारका सबै विवरणहरूमा एकरुपता भएमा त्यस्ता विद्यार्थीहरूले ट्रान्सक्रिप्ट पाउन आवेदन दिएको १५ दिनभित्र नै उपलब्ध गराउँदै आइरहेको बताएकाे छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट