Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

काठमाडौँ महानगरद्वारा आव २०८३/०८४ को २५ अर्ब ८८ करोडको बजेट सर्वसम्मत पारित


काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको छ। यससँगै आर्थिक विधेयक र विनियोजन विधेयक पनि नगरसभाबाट अनुमोदन भएका छन्।

असार ४ गते सम्पन्न नगरसभाको १९औँ अधिवेशनको चौथो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमाथि विस्तृत छलफलपछि राष्ट्रिय सभा गृहमा शुक्रबार बसेको बैठकले सर्वसम्मत निर्णय गरेको हो।पारित बजेटमध्ये २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ सञ्चित कोषमार्फत व्ययभार हुने तथा ७५ करोड रुपैयाँ बाह्य स्रोतबाट खर्च गरिने व्यवस्था गरिएको छ। कुल बजेट २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ रहेको छ।

बैठकमा आर्थिक वर्ष २०८३/८४ को कार्यक्रम तथा बजेट, विनियोजन विधेयक–२०८३ र आर्थिक विधेयक–२०८३ माथि छलफल गरी पारित गर्ने कार्यसूची समावेश गरिएको थियो।

छलफलका क्रममा सभा सदस्य आशामान संगत, रोजिना श्रेष्ठ, मचाराजा महर्जन, उदयचूडामणि बज्राचार्य, अनिलकुमार श्रेष्ठ, हीरादेवी पोखरेल, सन्तोष ढुङ्गेल, सीता विसुन्के, चन्द्रमान तुलाधर, भगवान बुढाथोकी, रचना सुनाम र शर्मिला परियारले संशोधन प्रस्ताव तथा सहरी व्यवस्थापनसँग सम्बन्धित विभिन्न सुझाव प्रस्तुत गरेका थिए।ती संशोधन र सुझावलाई समेटेर बजेट तथा कार्यक्रम पारित गर्न सभाध्यक्षले प्रस्ताव पेश गरेपछि नगरसभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

यसैबीच, विधायन समितिका संयोजक तथा वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनले विभिन्न ऐन संशोधनसम्बन्धी प्रस्ताव सभामा दर्ता गराएका छन्। उनले ‘जनस्वास्थ्य ऐन, २०८०’ को पहिलो संशोधन, ‘शिक्षा ऐन, २०७५’ को दोस्रो संशोधन, ‘विवाद निरुपण (कार्यविधि) ऐन, २०७५’ को पहिलो संशोधन, ‘विपद् व्यवस्थापन ऐन, २०७७’ को पहिलो संशोधन तथा ‘कर्मचारी सेवा ऐन, २०७७’ को चौथो संशोधन प्रस्ताव पेस गरेका हुन्।

यी संशोधन प्रस्तावहरू नगर कार्यपालिकाको ५३औँ बैठकले छलफल गरी नगरसभामा पेश गर्ने निर्णय गरेको थियो। प्रस्तावित ऐन तथा अन्य विषयमाथि थप छलफल गर्न असार २३ गते मंगलबार दिउँसो ३ बजे नगरसभाको पाँचौँ बैठक बस्ने तय गरिएको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट